प्रधानसेनापती थापासँग हिजो पनि भेटेका थिए प्रधानमन्त्री ओलीले

काठमाडौं- सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला सम्भावित सबै विकल्प खुला गरेर छलफलमा जुटेका छन्।

आफ्नै पार्टीभित्र अल्पमतमा परिरहेका ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले पटकपटक भेटघाट गरेका छन्, पछिल्लोपटक आइतबार मात्र पनि भेटेका थिए।

राष्ट्रिय राजनीतिसँग कमैमात्र प्रत्यक्ष सम्पर्कमा देखिने सेनासँग प्रधानमन्त्री ओलीले नियमित सम्पर्क गरिरहेका छन्। बदलिँदो राजनीतिबीच प्रधानमन्त्री ओली र प्रधानसेनापती थापाबीच भइरहेको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान सरकारी निवास बालुवाटार बोलाएर प्रधानसेनापतिसँग भेटेका थिए। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म बालुवाटारमा प्रधानमन्त्रीले रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुबास नेम्वाङ, मुख्यसचिव लोकदर्सन रेग्मी, पुष्पकमल दाहाल प्रचण्ड, जनार्दन शर्मा, प्रदेश-४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेललगायतसँग भेटघाट गरेका थिए।

प्रधानसेनापति दिउँसो २ बजे मात्र बालुवाटारबाट निस्किएको बताइएको छ। त्यसपछि रक्षा मन्त्रालयमा रक्षमन्त्री पोखरेल र प्रधानसेनापति थापाबीच करिब २ घण्टा भेटघाट भएको थियो। यता प्रधानमन्त्री ओलीले अपरान्ह साढे ४ बजेदेखि करिब आधा घण्टा गृह सचिव महेश्वर न्यौपाने र त्यसपछि मुख्यसचिव रेग्मीसँग  छुट्टाछुट्टै भेटेका थिए। रेग्मीसँग भएको भेटघाटमा संसदीय दलका उपनेता नेम्बाङ पनि उपस्थित थिए।

यसअघि प्रधानसेनापति थापाले शनिबार पनि बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए। राजनीतिक संक्रमण उच्च रहेका बेला सेनाको सक्रियता र त्यसमा पनि सरकार प्रमुखले नै सेनासँग निरन्तर सम्पर्क गर्नुलाई सामान्य मान्न नसकिने अधिकारीहरु बताउँछन्।

‘ पार्टीभित्रैबाट  राजिनामा मागेपछि र अल्पमतमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रधानसेनापतीसँग गरेको भेटघाटमा  सम्भावित संकटकालका विषयमा कुराकानी भएको हुन सक्ने अनुमान लगाउन गाह्रो छैन’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।

भारतले आफ्नो दावी गर्दै आएका लिपियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिहरु मिलेर आफुलाई हटाउन खोजेको बताएका थिए। त्यसपछि उनकै पार्टीका अर्का अध्यक्ष प्रचण्डले खुलेहाम केपी ओलीको राजिनामा आफुले मागेको बताएपछि नेकपाभित्र हलचल मच्चिएको छ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्