नेकपा शक्ति संघर्षः स्थायी कमिटि बैठकले आज निरन्तरता पाउने सम्भावना कम

काठमाडौँ – शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकले पूर्व कार्यतालिका अनुुसार सोमबार निरन्तरता पाउनु पर्ने भए पनि त्यसको सम्भावना कम देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ ।

समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन । सोही कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कम भएको हो । यसअघि शनिबार बसेको थियो नेकपा स्थायी कमिटि बैठक ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

सम्बन्धित समाचार

दाहालः दुवै पद छाड्नुहोस्, ओलीः आफ्नो बाटो लाग्नुहोस्

नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता

प्रधानसेनापती थापासँग हिजो पनि भेटेका थिए प्रधानमन्त्री ओलीले

प्रचण्ड–नेपाल तथा ओली पक्षका दोस्रो तहका नेताहरुबिच सोमबार बिहान सहमतिको खाका तयार गर्ने प्रयास स्वरुप छलफल हुँदैछ ।

त्यसपछि दुई अध्यक्षबिच स्थायी कमिटि बैठकअघि वार्ता हुने तयारी रहेको छ । तर सो वार्ता सकारात्मक भएन भने सोमबार स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना अति कम देखिन्छ ।

यस्तै नेकपाका युवा नेताहरु पनि सोमबार पार्टी एकता जोगाइ राख्नका लागि आपसी छलफलमा जुट्दै छन् । घनश्याम भुषाल, योगेश भट्टराईसहितका नेताहरुले छलफल गर्ने भएका हुन् ।

पार्टीको दोस्रो तह तथा नयाँ पुस्ताका नेताहरु एकता जोगाउने पक्षमा रहे पनि शीर्ष नेता विशेष गरी ओली र प्रचण्ड आफ्नो अडानमा टसमस नहुँदा नेकपा संकट लम्बिएको छ ।

यसैबिच नेता कृष्णगोपाल श्रेष्ठले पार्टी भित्रको हालको समस्या समाधानको शत्र अहिलेसम्म पत्ता नलागेकोले सोमबार बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित गर्नु पर्ने बताएका छन् । समस्या समाधानको उपाय हाथा भएपछि मात्रै बैठक गरे हुने उनले उल्लेख गरेका छन् ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्