नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित, प्रचण्ड बालुवाटारमा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । आज (सोमबार) बिहान ११ बजे बस्ने भनिएको बैठक दुई दिनपछि धकेलिएको हो ।

असार २४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक तेस्रो पटक सारिएको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ ।

समस्या समाधानका लागि दुई अध्यक्षबिच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन । तर पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

नेकपाका युवा नेताहरु पनि सोमबार पार्टी एकता जोगाइ राख्नका लागि आपसी छलफलमा जुट्दै छन् । घनश्याम भुषाल, योगेश भट्टराईसहितका नेताहरुले छलफल गर्ने भएका हुन् ।

पार्टीको दोस्रो तह तथा नयाँ पुस्ताका नेताहरु एकता जोगाउने पक्षमा रहे पनि शीर्ष नेता विशेष गरी ओली र प्रचण्ड आफ्नो अडानमा टसमस नहुँदा नेकपा संकट लम्बिएको छ ।

यसैबीच विवाद समाधानका लागि ओलीसँग छलफल गर्न दाहाल बालुवाटार पुगेका छन् ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्