स्वघोषित प्राध्यापक डाक्टर जगदीशलाल वैद्य जबरजस्ती करणी उद्योगमा पक्राउ

सांकेतिक तस्बिर

ललितपुर – काठमाडौँको जयवागेश्वरीस्थित अन्नपूर्ण पशुपति आश्रमका संचालक तथा संस्थापक अध्यक्ष प्रा.डा. जगदीशलाल वैद्य आइतबार जबरजस्ती करणी उद्योगमा पक्राउ परेका छन् ।

आश्रमकै एक कर्मचारी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा वैद्यविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा असार ३ गते उजुरी दर्ता भएको थियो ।

उजुरी दर्ता भएको थाहा पाएपछि घर छोडेर भागेका वैद्यलाई महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरले आइतबार लुकेर बसेको अवस्थामा ललितपुरबाटै पक्राउ गरेको हो ।

वैद्य ललितपुर क्षेत्रमा रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

वैद्यले एक जटिल रोगबाट प्रभावित महिलालाई तन्त्रमन्त्र र जडिबुटीको सहायताले पूर्णरुपमा रोग निको पारिदिन्छु भन्दै मोटो रकम लिएर आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

वैद्यलाई आवश्यक कारवाहीका लागि आइतबार नै काठमाडौँ प्रहरीलाई बुझाइएको छ ।

प्रा. डा. को पद र उपाधि स्वघोषित

आफू नेपाल सरकारको मान्छे भन्दै गृह मन्त्रालयको कार्ड झुण्ड्याएर हिँड्ने वैद्यले आफ्नो नामको अगाडि प्रा. डा. समेत लेख्दै आएका छन् । कुनै विश्वविद्यालयबाट औपचारिक रुपमा विद्यावारिधि नगरेका उनले आफ्नो नामको अगाडि लेख्ने प्रा.डा. को पद र उपाधि ‘स्वघोषित’ भएको आरोप लाग्दै आएको छ ।

‘स्वघोषित’ प्रा.डा. वैद्यले ५० हजारदेखि ५ लाखसम्म पैसा लिएर प्रा.डा.को पद र उपाधि बिक्री गर्दै आएको बताइन्छ ।

संस्थागत ठगीमा पनि मुद्दा

यस्तै स्वघोषित प्रा.डा. वैद्यविरुद्ध २१ जनाले २०७६ असोज १२ गते संस्थागत ठगी आरोपमा महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको पनि थाहा भएको छ ।

वि.सं.०६९ साल माघ २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको पशुपती आश्रमको नाममा रसिद, लेटर प्याडसहितका कागजात दूरुपयोग गरी ठगी गरेको भन्दै उजुरी दर्ता भएको थियो ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्