अन्तर्वार्ता

पार्टी विभाजन भए सरकार पनि कमजोर हुन्छः ठाकुर गैरे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व शक्ति संघर्षमा लागेर पार्टी फुटको संघारमा पुग्दा त्यसले सबैभन्दा चिन्तामा पछिल्लो पुस्ताका नेताहरुलाई पारेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिचको शक्ति संघर्षमा आफूहरुसहित समग्र पार्टी पंक्ति चेपिएको युवा नेताहरुले ठानेका छन् ।

उनीहरुले कुनै पनि हालतमा पार्टी विभाजन हुन नहुने र नेतृत्वले त्यस तर्फ गम्भीर ध्यान दिनु पर्ने बताएका छन् । त्यसका लागि नेतृत्वलाई दबाब दिन लागि परेका छन् । विगतमा तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व सम्हालेका र अहिले पार्टीको मुलधार राजनीतिमा सक्रिय रहेका नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेसँग हामीले नेकपामा देखिएको अहिलेको संकट र समाधानको विकल्प बारे कुराकानी गरेका छौँ ।

पार्टीमा अहिले देखिएको संकटको निकाश के होला?

पहिलो कुरा त विभाजन हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । यो आवश्यक विषय नै होइन, न देशका लागि न त पार्टी हित कै लागि पनि । नेकपाको एकता कायम हुनु पर्छ र थप बलियो बन्नु पर्छ, यसको विकल्प छैन ।

अहिलेको समस्याको समाधानको एक मात्र विकल्प भनेको पार्टी भित्र छलफल गर्ने र त्यहिँबाट निर्णय गरी कार्यान्वयन गरिनु पर्छ । सकेसम्म सर्वसम्मत र नभए पार्टी विधान अनुसार निर्णय गरी त्यसको पक्षमा सबै उभिनु पर्छ । त्यसको अरु कुनै विकल्प छैन ।

देशमा अरु खालका समस्याहरु टड्कारो रुपमा छन्, ती विषयमा ध्यान दिनु पर्ने बेला सत्तासीन पार्टी आन्तरिक किचलोमा अल्झिनुले त अवस्था झन भयावह बन्ने चिन्ता छ नि?

पक्कै पनि, अहिलेको समय विवाद र विभाजनको हुँदैन होइन । कोरोना भाइरसविरुद्धको युद्धमा एक भएर लाग्नु छ र बेरोजगारीको समस्या पनि अझ विकराल बनेको छ । यस्तोमा विभाजित पार्टीले प्रभावकारी काम गर्न सक्दैन । पार्टी विभाजन भएमा सरकार कमजोर हुन्छ र कमजोर सरकारले प्रभावकारी काम गर्ने कुरै हुँदैन । विभाजनले देश अर्को अस्थिरता तर्फ धकेलिन्छ, जुन समग्र देशका लागि अति अहितकर हुने भएकाले एकतालाई पहिलो प्राथमिकता हो ।

पार्टीलाई फुटबाट जोगाउनका लागि के गर्नु पर्छ त?

कम्युनिष्ट पार्टी आजको लागि भन्दा पनि भोलिका लागि थप एकतावद्ध हुनु पर्छ । देशलाई स्थिर, समृद्धि तर्फ उन्मुख र सवल बनाउनका लागि एकीकृत पार्टीको नेतृत्वमा सरकार चाहिन्छ । सरकरको नेतृत्व गर्ने पार्टी नै विभाजित हुँदा जनअपेक्षा पूरा हुँदैनन् ।

तसर्थ एकतालाई बचाउनका लागि हामीले प्रयास गरिरहेका छौँ । यसको निकास भनेको नेताहरुबिचको बेमेल या असमझदारीलाई सहमति–समझदारीमा बदल्नु नै हो । अर्को कुरा अनिर्णयका कुरालाई निर्णयमा बदल्नु पर्छ । तत्कालका लागि प्रमुख कुरामा सहमति गरी बृहत्तर सहमतिमा लागि छलफललाई निरन्तरता दिइनु पर्छ ।

त्यसका लागि पार्टी सञ्चालनको विधि–विधान अनुसार अघि बढ्नु पर्छ । हाम्रो पार्टी व्यक्ति प्रधान होइन विचार प्रधान हो । हाम्रो प्राथमिकता कहिल्यै पनि व्यक्ति हुनु हुँदैन र नीति हुनु पर्छ ।

समस्याको समाधान हामीले नीति र विधिभित्रै बसेर निकाल्न सकिन्छ । विधि भन्दा बाहिरबाट खोजिएको विकल्पले तत्काल निष्कर्ष निकाले जस्तो देखिए पनि कार्यान्वयमा समस्या हुन्छ, र अन्ततः पार्टी एकीकृत होइन थप विभाजित हुन्छ ।

संस्थागत प्रणालीबाटै निर्णय हुनु पर्छ । यदी स्थायी कमिटिले निर्णय गर्न सक्दैन वा छलफल साँघुरो हुन्छ भने वृहत्तर छलफलका लागि केन्द्रीय समितिकै बैठक बोलाइनु पर्छ । हामी केन्द्रीय समितिको बैठकका लागि औपचारिक रुपमा माग गर्दै छौँ । नेतृत्वमा रहेका नेताहरुले त्यसलाई मान्नु पर्छ ।

हालको संकटको चुरो त पार्टी व्यक्ति प्रधान हुनु रैछ नि तपाईँको भनाई अनुसार?

जानेर वा नजानेर नेकपाको पछिल्ला गतिविधिहरु पार्टी विधान र संस्थागत प्रणाली भन्दा बाहिर व्यक्ति केन्द्रीत बनेको देखिएको छ । सोही कारण संकट यो अवस्थामा आएको हो । हाम्रा वैधानिक व्यवस्थाहरु नियमित नचल्दाको उपज हो । हामी सबै पार्टी विधानको अनुशासनमा बाँधिनु पर्छ ।

अझ विशेष रुपमा नेतृत्वकर्ता त त्यसबाट अलिकति पनि विचलित हुनु हुँदैन । व्यक्तिलाई प्राथमिकतामा राख्दा आएको यो समस्याको समाधान पार्टी विधानको पूर्ण कार्यान्वयनमा फर्किएर नै सम्भव छ ।

नेतृत्वलाई पार्टी विधानमा फर्काउनका लागि तपाईँहरु के गर्दै हुनुहुन्छ ?

पार्टीलाई विभाजन तर्फबाट जानबाट रोक्नका लागि धर्ना गरिरहेका छौँ । डेलिगेशन गरिरहेका छौँ । केन्द्रीय समितिको औपचारिक मागका लागि प्रक्रिया जारी राखेका छौँ । हामीले नेकपालाई माया गर्नेहरुको आवाज नेतृत्वलाई सुनाउने प्रयास गरिरहेका छौँ ।

नेतृत्वले तपाईँहरुको आवाज सुन्ला त?

सुन्नै पर्छ । विकल्पै छैन । यहाँसम्म पार्टीलाई ल्याइपुर्‍याउन नेतृत्वले गरेको प्रयासको सम्मान गर्छौँ । तर त्यो सम्मान तबसम्म कायम रहन्छ जब उहाँहरुले पार्टीलाई थप बलियो बनाउनु हुन्छ । उहाँहरुको जिम्मेवारी त विभाजित होइन, थप एकीकृत पार्टी नयाँ पुस्तालाई सुम्पिने हो । शीर्ष नेताले आफूले छोडेर जाँदा पार्टी छिन्नभिन्न पारेर जानु हुन्छ जस्तो लाग्दैन । पक्कै आम पार्टी कार्यकर्ता र नेताहरुको आवाज पक्कै सुन्नु हुन्छ । त्यसको विकल्पै छैन ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्