सयौँ हात्तीको अप्राकृतिक मृत्युले जन्माएका प्रश्न

हालै अति चिन्तामा पार्ने खबर आयो अफ्रिकाबाट, बोत्सवानामा सयौँ हात्तीहरुको मृत्यु भएको र त्यसको कारण थाहा नभएको भन्ने । तर हात्ती विज्ञ र उनीहरुको संरक्षणमा सक्रिय रहेकाले केही प्रश्नहरुको सम्भावित उत्तर दिन सक्छु जस्तो लाग्छ मलाई ।

हामीलाई थाहा भएका केही कुराबारे यी हुन्ः हात्तीको मृत्युबारे गएको मार्चमा पहिलोपटक थाहा भएको थियो । तर ठूलो संख्यामा हात्ती मरेको थाहा भने मेमा मात्रै भयो । त्यसपछि मरेका हात्तीहरु थपिने क्रमम जारी छ । अहिलेसम्म कम्तिमा ३५० हात्ती परेको थाहा भइसकेको छ र संख्या यो भन्दा धेरै हुन सक्न छ । ओकावाङ्गो डेल्टाको सेरोन्गा गाउँ आसपासमा धेरै हात्ती मृत भेटिएका छन् । सो क्षेत्र हात्तीसहितका वन्यजन्तुको प्रमुख बसोबास हो । अधिकांश हात्तीका शवहरु पानीका स्रोत नजिक भेटिएका छन् ।

मृत हात्तीहरु मध्ये केही घुँडा टेकेका छन् भने केहीको घाउको भूइँमा जोतिएको छ । यसको अर्थ हात्तीको मृत्यु आकश्मिक रुपमा भएको भन्ने हुन्छ । यस्कै केही हात्तीहरु बेहोस भएको वा गोलो घेरामा हिँडेको पनि देखिएको छ । मृत हात्तीहरुको दारा चोरी भएको छैन । अहिलेसम्म सो क्षेत्रमा अरु जनावर त्यसरी मरेका छैनन् ।

बोत्सवानामा हात्ती राजनीति
अफ्रिकामा बाँकी रहेका झण्डै चार लाख हाराहारी हात्ती मध्ये एक तिहाइ भन्दा बढीको बसोबास बोत्सवानाको जंगलमा छ । पछिल्लो दशकमा हात्तीको संख्यामा ठूलो गिरावट आएको छ । यसको प्रमुख कारण चोरी शिकार हो । बोत्सवानामा भने हात्तीको संख्या बढ्दो क्रममा छ ।

तर हात्तीको वृद्धिलाई तीव्र गतिमा बढ्दो जनसंख्याले छायामा पार्‍यो। हात्ती र मानिसको संख्या बढ्दै जाँदा जमिन (बासस्थान) का लागि संघर्ष बढ्दै गयो । हात्ती र मानिसले आफूलाई असहज अवस्थामा पाउँदै गए । केही समुदायले हात्तीलाई आफ्ना घरपालुवाका रुपमा लिन्छन्, उनीहरुले आफूले उब्जाएको अन्न खुवाउँछन् । तर हात्तीका हुलहरुले बाली खाइदिन्छन्, भौतिक संरचनामा क्षति गर्छन्, मानिसको पनि मृत्यु हुन्छ हात्तीको आक्रमणबाट । सोही कारण केही समुदाय त्यसको प्रतिवाद स्वरुप हात्तीमाथि आक्रमण गर्छन् र मार्छन् पनि ।

बोत्सवानाको ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाहरु हात्ती र आफ्नो अस्तित्व समान रुपमा स्थापित गर्न संघर्षरत छन् । यो विषयले राजनीतिक रुप लिएको छ । सन् २०१९ मा राष्ट्रपति मोक्ग्वीट्सी कासिसीले विवादास्पद घोषणा गरे, उनले बोत्सवानामा हात्तीको शिकारमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गरे । यसबाट हात्तीको संख्या कम हुने र समस्यामा रहेका ग्रामीण समुदायको आयमा पनि वृद्धि हुने उनको दाबी थियो । त्यसपछि चोरी शिकार बढ्यो र बोत्सवानामा हात्तीका लागि परिवेष जोखिमपूर्ण बन्दै गयो ।

आशंका
यसले गर्दा हात्तीको पछिल्लो सामूहिक मृत्युप्रति शंका उत्पन्न भएका छन् । तर अहिलेसम्म प्राप्त जानकारी अनुसार हामी केही अफवाहरुलाई सम्बोधन गर्न सक्छौँ ।

पहिलो कुरा, हालको मृत्युका लागि चोरी शिकारीमा संलग्नलाई दोष लगाउनु त्यति उपयुक्त देखिँदैन, कारण–दाराहरु हात्ती रहेका ठाउँमा छन् । विश्वभर वार्षिक रुपमा २० हजार भन्दा बढी हात्ती दारासहितका अंगका लागि मारिन्छन् भन्ने तथ्यांक छ ।

खेतीपातीमा क्षति गरेका कारण आक्रोशित भएका किसानले गोली हानेर वा भालाले हानेर हात्ती मार्न सक्छन् । तर अहिले मरेका हात्तीहरुमा गोली लागेको वा भालाको चोट देखिएको छैन । यसले हात्ती किसानले मारेका हुन् कि भन्ने अनुमानलाई खारेज गर्छ ।

विषादीको प्रयोग गरेर पनि हात्ती मार्ने गरेको विगत छ । विषादीको प्रयोग तस्कर वा स्थानीय बासिन्दाले पनि गर्छन् । केही वर्षअघि जिम्मेबाबेमा सयौँ हात्ती मरेका थिए र त्यसको कारण थियो–उनीहरुले साइनाइड मिसाइएको तालको पानी खाएका थिए । अहिले बोत्सवानामा मरेका हात्तीहरु पनि धेरै पानीको स्रोत नजिक रहेकाले पानीमा विषादी प्रयोग भएको हुन सक्ने अनुमानमा केही बल देखिन्छ ।

तर विषादी प्रयोग हुँदा अरु जनावरहरु पनि मर्नु पर्ने हो, किनकी हात्तीले पानी पिएको ठाउँबाट अरु जनावरले पनि पानी पिएका हुन सक्छन् । या मरेको हात्ती खाएका हुन सक्छन् । तर अहिलेसम्म हात्ती बाहेक अरु जनावर मरेको थाहा भएको छैन ।

मृत्यु प्राकृतिक हो त ?
अहिलेसम्म प्राप्त भएका तथ्य र जानकारीहरुले ठूलो संख्यामा हात्ती मर्नुमा बाहिरी कारणलाई प्रमाणित गरेको छैन । जसले गर्दा प्राकृतिक कारणबाटै मृत्यु भएको हो कि भन्ने तर्फ अनुमान बढेको छ ।

खडेरीले हात्तीको ठूलो संख्यामा मृत्यु हुन सक्छ । सन् २००९ मा केन्याको एम्बोसेलीमा झण्डै चार सय हात्ती मरेका थिए । सो संख्या त्यहाँ रहेका कुल हात्तीको एक चौथाइ हो । खडेरीबाट वृद्ध र बच्चा (छावा) मर्ने सम्भावना बढी हुन्छ । अहिले मरेका हात्तीहरु सबै उमेर समूहका छन् । तर बोत्सवानामा हालै वर्षा भएकाले खडेरीका कारण हात्ती मरेका हुन् भन्न सक्ने अवस्था रहेन ।

कोरोना भाइरसको महामारीले अहिले विश्व आक्रान्त बनेका बेला वन्यजन्तुमा पनि कुनै किसिमको महामारी फैलिएको हुन सक्ने अनुमान बलियो भएको छ । तर हात्तीमा कोभिड–१९ को संक्रमण फैलिएको हुन सक्ने कुरा भने अहिले नै भन्न सकिँदैन ।

बोत्सवानामा सन् २०१९ मा पनि महामारीका कारण एक सय भन्दा बढी हात्ती मरेका थिए ।

बोत्सवानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले अहिलेसम्म हात्तीको मृत्युको कारण भने नखुलेको बताएको छ । विभागले अनुसन्धान जारी रहेको बताएको छ । हात्तीको नमूना परीक्षणको रिपोर्ट आएपछि मात्रै विस्तृत जानकारी हुने बताइएकाले यकिन भन्ने सक्ने अवस्था छैन ।

(यो सामग्री द कन्जरभेसन डट कमबाट साभार गरिएको हो । लेखक अनुसन्धानकर्ता  हुन् ।)

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्