माधव नेपालमाथि ‘सरकारको अतिरिक्त निगरानी’

काठमाडौँ– सत्तारुढ नेकपाभित्र शक्ति संघर्ष चलिरहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि सरकारले थप निगरानी बढाएको छ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मालाई दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाइरहेका बेला नेपाल कोटेश्वर आसपासमा सुरक्षाकर्मीले निगरानी बढाएको हो।

नेपालको सचिवालयमा रहेका एक व्यक्तिले सरकारको निर्देशनमै नेपाल निवास वरपर सिभिल तथा ड्रेसमा थप सुरक्षाकर्मी थपिएको बताए।

ती व्यक्तिले देश सञ्चारसँग भने, ‘उहाँमाथि पछिल्लो समय थप निगरानी गरिएको अनुभव हामीले गरेका छौं। उहाँका गतिविधि माथि बढी चासो व्यक्त भइरहेको छ।’

सुरक्षा निकायले परिस्थितिको मूल्यांकन गरेर तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको घरमा थप सुरक्षाकर्मी पठाउने तयारी गरे पनि अहिले आवश्यक नभएको भन्दै फिर्ता गरिएको दाबी गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पनि सुरक्षा थ्रेट बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्