कोही फेसबुक लाइभमा आएर आत्महत्या गर्न खोज्दै छ भने बचाउन सकिन्न?

घटना-१

गत साता दाङको तुलसीपुरमा गौतम थरकी एक महिलाले मध्यरातमा फेसबुक लाइभमा आएर आत्महत्या गर्न लागेको बताउन थालिन्। केहीबेरमा उनी ‘सिलिङ फ्यानमा’मा पासो लागेर झुन्डिइन् जुन फेसबुकमा लाइभ आइरहेको थियो। प्रारम्भिक अनुसन्धानमा ती महिला ‘डिभोर्सी’ भएको र त्यस दिन मादक पदार्थ सेवन गरेको पाइएको छ। उनी डिप्रेसनको बिरामीसमेत थिइन्। उनको एक जना छोरी पनि छ।

घटना-२

आइतबार राति चितवनको भरतपुर-१० मा पाण्डे थरकी एक १९ वर्षीया युवती फेसबुक लाइभमा आएर आत्महत्या गरिन्, सिलिङ फ्यानमा झुन्डिएर। प्रारम्भिक अनुसन्धानमा ती महिला ‘डिभोर्सी’ भएको र आइतबार एक जना महिला साथीसँग बसेर अबेरसम्म मादक पदार्थ सेवन गरेको पाइएको छ। दुईपटक विवाह गरेर पनि उनको सम्बन्ध राम्रो नभएको र डिप्रेसनको विरामीसमेत भएको पाइएको छ।  तीन जना महिला भाडामा बस्दै आएकोमा एक जना घरमा नभएको र अर्को मापसे गरेर अन्ततिर गएको मौकामा ती युवतीले फेसबुक लाइभमा आएर आत्महत्या गरेको पाइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

यी दुवै घटना भइरहेका बेला फेसबुक लाइभ हेरिरहेकाले आत्महत्या नगर्न आग्रह गरिरहेको देखिन्छ। तर उनीहरु आफ्नो निर्णयबाट पछि हट्ने स्थितिमा देखिएनन्। यहाँ प्रश्न उठ्न सक्छ- लाइभमा आएको केही समयमा मात्र आत्महत्या गरेको देखिन्छ, त्यतिबेलासम्म के बचाउन सकिन्न थियो?

पहिलो घटनालाई हेरौँ।  फेसबुकमा लाइभ सुरु भएको केही समयमा एक व्यक्तिले महानगरीय प्रहरी कार्यालय-मेट्रोको हटलाइन नम्बर एक सयमा फोन गरेर घटनाबारे बताए। मेट्रोले तत्काल केन्द्रीय साइबर अपराध ब्युरोलाई खबर गर्‍यो। ब्युरोका अनुसन्धान अधिकारीले तत्काल फेसबुकसँग समन्वय गरि फेसबुक आइडीको लोकेसन पत्ता लगायो। ब्युरोको टोली ‘पिन प्वाइन्ट’मा पुग्यो।

स्थानीय प्रहरीलाई खबर गर्‍यो। युवतीले लाइभ गरिरहेको ठाउँका छिमेकीसँग सम्पर्क भयो। ती युवतीले यसअघि पनि पटकपटक यस्ता ‘नाटक’ गर्ने गरेको जवाफ ती छिमेकीले दिएपनि उनलाई जसरी पनि घटनास्थलमा पुग्न प्रहरीले आग्रह गर्‍यो। छिमेकी त्यहाँ पुग्दा ती युवतीले आत्महत्या गरिसकेकी थिइन्।

‘हामीले रातभर प्रयास गर्‍यौँ। तर बचाउन सकिएन’, साइबर ब्युरो प्रमुख नविन्द अर्याल भन्छन्।

दोस्रो घटनामा कसैले नजिकैको प्रहरीलाई खबर गरेका थिए। तर घटनास्थलमा प्रहरी समयमै पुग्न सकेन। घटना भइरहेको ठाउँको पहिचान गर्नमै प्रहरीलाई समय लाग्यो।

पहिलो, यसरी फेसबुक लाइभमा आएर आत्महत्या गर्न लागेको बताउनेलाई बचाउन सक्ने आफन्त, चिनेजानेका मान्छे र छिमेकी हुन्छन्। लाइभ हेरिरहेकामध्ये कोही उनलाई चिन्ने, आफन्त वा छिमेकी भए समयमै घटनास्थल पुग्न सक्छ वा त्यसबारे समयमै खबर पुर्‍याउन सक्छ। तर चिन्ने, आफन्त वा छिमेकी भएर मात्र हुँदैन। उनीहरुले तत्काल घटनास्थलमा पुग्न वा तत्कालै घटनास्थलमा पुग्न सक्ने मान्छेलाई खबर गर्न सक्ने हुनुपर्छ। नजिकै रहेको प्रहरीलाई खबर गरेर घटनास्थलबारे बताउन सके पनि उद्धार हुन सक्छ।

दोस्रो, घटनाबारे प्रहरीलाई समयमै खबर गर्ने। लाइभ हेरिरहेका व्यक्तिलाई आत्महत्या गर्न लागेको मान्छेको ठेगाना र अन्य विवरण थाहा नहुन सक्छ। यस्तो अवस्थामा समयमै प्रहरीलाई खबर गरेमा प्रहरीले उद्धार गर्न सक्छ। नेपालमा साइबर सम्बन्धी अनुसन्धान महानगरीय प्रहरी अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो र साइबर अपराध ब्युरोले गर्छन्। यी तीनवटै कार्यालय काठमाडौंमा छन्। जति चाँडो उनीहरुले सूचना पाए, त्यति चाँडो घटनास्थलको पहिचान र अन्य विवरण थाहा हुन सक्छ। तर प्रहरीले यसबारे उचित प्रचार गर्न सकेको छैन जसले गर्दा सूचना दिनेहरु अल्मलिन्छन् र उद्धार हुन ढिलाइ हुन पुग्छ।

तेस्रो, फेसबुकले लाइभमा आएर आत्महत्या हुन सक्ने घटनालाई ध्यानमा राख्दै एउटा एप्लिकेसन तयार गरेको छ जसले कुनै ठाउँमा लाइभमा आएर आत्महत्या हुन लाग्यो भने तत्कालै प्रहरी प्रशासनलाई ‘नोटिफिकेसन’ पठाउँछ। प्रहरीले तत्कालै संयन्त्रलाई सक्रिय बनाउँछ। साइबर ब्युरोका प्रमुख अर्याल धेरै देशमा यो प्रयोगमा आइसकेपनि नेपालमा लकडाउनका कारण ढिला भइरहेको बताउँछन्। ‘यो प्राविधिक संयन्त्रमा जोडिएपछि हामीलाई काम गर्न निकै सजिलो हुने छ’, एसएसपी अर्यालले भने।

लाइभमा आएर वा स्टाटस लेखेर मान्छेले आत्महत्या गरिहाल्छन् नी भन्ने निश्चित चाहिँ हुँदैन। केही महिना अघि झापाका एक युवकले फेसबुकमा आफु मर्न लागेको ‘स्टाटस’ लेखे। यसबारे कसैले प्रहरीलाई रिपोर्ट गर्‍यो। अनुसन्धान थाल्यो साइबर ब्युरोले। फेसबुकसँग सहकार्य गरेर युवकको लोकेसन पत्ता लगायो। प्रहरी युवक बसिरहेको घरमा पुग्यो। युवत मस्त सुतिरहेका थिए।

आत्महत्या गरिरहेको, हत्या गरिरहेको भिडियोहरु फेसबुकमा छ्यापछ्याप्ती भेटिन थालेपछि प्रहरीले फेसबुकलाई अनुरोध गरेर धमाधम हटाइरहेको छ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्