चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच भेटपछि तनाव कम हुने आशा

नयाँ दिल्ली- दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको पृष्ठभूमिमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका छन्। सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्य बनाउन दुवै देश सहमत भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

दुई महिनाअघि दुई देशको सिमावर्ती लदाखमा चिनियाँ सेनाको कारबाहीमा भारतीय सैनिक मारिएपछि चीन-भारत तनाव चर्किएको छ। घटनालगत्तै दुवै देशले त्यस क्षेत्रमा द्वन्द्व नचाहेको र स्थिरताका लागि आफूहरु तयार रहेको बताएका थिए। भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेपछि कारबाही गरिएको चिनियाँ विदेश मन्त्रालयले बताएको थियो।

सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा एक साताअघि डोभलले यीलाई टेलिफोन गरेका थिए। सीमा विवाद समाधान गर्ने विषयमा गठित विषेश संयन्त्रका लागि डोभल र यी दुई देशका आ-आफ्ना प्रतिनिधि हुन्।

भारतको विदेश मन्त्रालयले सोमबार निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधीले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख छ। गलवान उपत्यकामा भएको भिडन्तमा भएको २० जनाको मृत्यु र अन्य केहीको अवस्था गम्भीर रहेको बारे पनि छलफल भएको जनाइएको छ। साथै दुई देशका सरकार प्रमुखहरुले आपसका अघिल्ला भेटहरुमा देखिएका असहमतिलाई विवादसम्म पुग्न दिइने छैन भनी गरेका प्रतिबद्धताका विषयमा पनि कुरा उठेको बताइएको छ।

छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो।

यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारि गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्