जूनोटिक डिजिजबारे संयुक्त राष्ट्रसंघीय प्रतिवेदन

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो, कारण के होला?

अहिलेसम्मको अनुसन्धानले कोभिड–१९ चमेरबाट मानिसमा सरेको देखिएको छ । तस्बिर : रोयटर्स

जूनोटिक डिजिज–जनावरबाट मानिसमा सर्ने रोगहरु, बढ्दो क्रममा रहेको र वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् ।

अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको हो ।

पशु जन्य प्रोटिनको माग अधिक हुनु, दीगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरुको वृद्धि भएको उनीहरुले बताएका छन् ।

बेवास्तामा परेको जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको विज्ञले उल्लेख गरेका छन् । यस्ता रोगहरुले स्वास्थ्यसँगै आर्थिक नोक्सानी पनि ठूलो गर्ने गर्छन् । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा दुई वर्षमा ९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी हुने आँकलन गरिएको छ ।

कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन्, यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफै मानिसमा भने नसर्ने उल्लेख छ । मानवीय कारणले गर्दा जनावरमा देखिएका रोगहरु मानिसमा सर्ने गरेको देखिएको उल्लेख छ ।

प्राकृतिक वातावरणमा भइरहेको ह्रास, भूमिमाथिको शोषण, वन्यजन्तुमा हुने गरेका शोषण, स्रोतको दोहन र जलवायु परिवर्तनका कारण जूनोटिक डिजिजहरु मानिसमा सर्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक तथा युएनका उपमहासचिव इङ्गर एन्डरसनले भनेकी छन्, ‘पछिल्लो शताब्दीमा हामीले नोवेल कोरोना भाइरसका ६ प्रमुख महामारी देखेका छौँ । पछिल्लो दुई दशक अर्थात कोभिड–१९ पूर्व जूनोटिक डिजिजका कारण १०० बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो ।’

उनले भनिन्, ‘कम तथा मध्यम आय भएका देशमा हरेक वर्ष स्थानीय रुपमा पाइने जूनोटिक डिजिजका कारण २० लाख मानिसको ज्यान जाने गरेको छ ।’

घरपालुवा तथा वन्यजन्तुमा अधिक निर्भर रहेका तथा गम्भीर विकास समस्या रहेका समुदायहरु विशेष गरी जोखिममा पर्ने गरेको उनले बताइन् ।

सघन खेती, भौतिक पूर्वाधारको विकास तथा वन्यजन्तुलाई नै क्षति पुग्ने गरी स्रोतको दोहन गरिएका कारण जूनोटिक डिजिजहरु जनावरबाट मानिसमा सर्ने क्रम तीव्र भएको प्रतिवेदनमा उल्लेख छ ।

भूमिको दीगो व्यवस्थापन, जैविक विविधतामा विस्तार तथा वैज्ञानिक अनुसन्धानमा लगानी बढाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्