माधव नेपाल फेरि एक्लिने संकेत, ओली–दाहाल मिल्न खोज्दै

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई साथमा लिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सहमतिको क्रममा भने नेपाल पक्षलाई सहभागी नगराउने संकेत मिलेको छ ।

विवाद उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा पुगेका बेला नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड पक्षबिच लगातार वार्ता भइरहेका छन् । वार्तामा अहिलेसम्म ठोस सहमति नभए पनि सहमति हुने संकेत भने मिलेको नेताहरुले बताएका छन् ।

ओली र प्रचण्डबिच पछिल्लो पटक भएको वार्तामा कुरा केही नरम भएको र सहमति हुने संकेत मिलेको दुवै पक्षका नेताहरुले बताएका छन् ।

तर सहमतिको खोजीको प्रयासमा प्रचण्ड पक्षलाई शक्ति संघर्षमा साथ दिएका नेता नेपाल पक्षलाई भने वास्ता गरिएको छैन । ओली विरुद्ध प्रचण्डलाई साथ दिएको नेपाल पक्षलाई विवाद समाधानको विकल्प खोजिँदा भने बेवास्ता गरिन थालिएको हो ।

नेकपा भित्र यसअघिका विवादमा जस्तै यो पटक पनि दुई अध्यक्षबिचको सहमतिमा कुरा मिलाउने तयारी भएको बताइन्छ ।

ओली पक्षका विश्वास पात्र नेता सुवासचन्द्र नेम्वाङ्गले भनेका छन्, ‘पार्टी एकता दुई नेताले गरेका हुन् । महाधिवेशन नहुँदासम्म दुई अध्यक्षको निर्णयबाट मात्रै अघि बढ्ने सहमति भएको हो । यसअघिका विवाद पनि दुई अध्यक्षबिचको संवाद र संवादबाटै समाधान गरिएको हो । अहिले पनि दुई अध्यक्षबिच सहमति गरेर समाधानको प्रयास भइरहेको छ । अरु पक्ष भनेका गौण हुन् ।’

ओली र प्रचण्ड पक्षका नेताहरुले मिलेर अघि बढ्न सुझाइ रहेका छन् । उनीहरुले नेपाल पक्षको असन्तुष्टि वा विचारलाई गौण वा ओझेलमा पारेका छन् । ओली पक्षीय नेताहरु नेपाल र उनको पक्षको कुरा सुन्नै चाहँदैनन् ।

यस्तै प्रचण्डका विश्वास पात्र वर्षमान पुनले पनि नेता नेम्वाङ्गको जस्तै प्रतिक्रिया दिएका छन् । नेता पुनले पनि दुई अध्यक्षबिच कुरा मिले अरु कुरामा ख्याल गर्नु नपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टी एकता गर्ने बेला तत्कालीन दुई पार्टीका अध्यक्ष नै एकीकृत पार्टीको अध्यक्ष रहने र बैठक आलोपालो चलाउने तथा सरकार पनि समानताको आधारमा चलाउने सहमति भएको हो । अहिलेको सहमति पनि सोही आधारमा बसेर गर्नु पर्छ । अन्य पक्ष वा कुरा भनेका गौण हुन् ।’

शक्ति प्रदर्शनमा आफ्नो साथ लिने र सहमतिको विकल्प खोजिँदा पाखा लगाउन थालिएको प्रति नेपाल पक्ष असन्तुष्ट रहेको छ ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू