राष्ट्रपति भण्डारी र नेता नेपालपछि झलनाथ खनालसँग पनि चिनियाँ राजदूतको भेट

काठमाडौँ – सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा चिनियाँ प्रभावको आरोप लागिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता तीव्र छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी राजदूत यान्छीले मंगलबार नेकपाका अर्का नेता झलनाथ खनालसँग पनि भेट गरेकी छन् । केही दिनअघि उनले नेता नेपाल र राष्ट्रपति भण्डारीलाई भेटेकी थिइन् ।

राजदूत यान्छी नेता खनाललाई भेट्न उनकै निवास पुगेकी हुन् । खनाल र यान्छीबिच झण्डै पौने घण्टा कुराकानी भएको बताइएको छ ।

कुराकानीको केन्द्र के थियो भन्ने नखुलाइए पनि नेकपा भित्र शक्ति संघर्ष तीव्र भएको र फुटको सम्भावना रहेका बेला भएको भेटमा नेकपाकै राजनीतिबारे कुरा भएको हुन सक्ने विश्लेषण गरिएको छ ।

यसअघि पनि नेकपा विवाद समाधानमा चिनियाँ राजदूत होउको भूमिका देखिएको थियो।

केन्द्रीय सचिवालयमा ओली संकटमा परेका बेला गएको वैशाख १९ गते राजदूत होउले प्रचण्च र नेपालसँग भेट गरेकी थिइन् ।

त्यसपछि भोलिपल्टको सचिवालय बैठकले ओलीको पक्षमा निर्णय गरेको थियो।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्