शैलेश थापा नेपाल प्रहरीको नयाँ महानिरीक्षक, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं- सरकारले अतिरिक्त महानिरीक्षक- एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक-आइजिपीमा बढुवा गरेको छ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन्। उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए।

अबको आइजिपीका लागि थापाबाहेक हरि पाल मात्र उमेद्वार थिए। एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ। हाल रहेका तीन जना एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदैछन्। वर्तमान आइजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए।

थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए। थापा एसएसपी र डीआइजी हुँदापनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए।

प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन्। उनी आफ्नै ब्याची र प्रतिस्पर्धीमाझ पनि लोकप्रिय थिए। व्यावशायिक छवि र विवादरहित ट्रयाक रेकर्डका कारण उनलाई पहिलैदेखि संगठनको भावी नेतृत्व दावेदारका रुपमा हेरिएको थियो।

को हुन् थापा ?


भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन्। प्रहरी निरीक्षक रहँदा उनले प्रहरी एकेडेमी, आइजिपी सचिवालय, सिन्धुपाल्चोक र सल्यानमा काम गरेका थिए।

उनले नायब उपरीक्षक-डीएसपीमा धादिङ, महानिरीक्षक सचिवालय र  प्रहरी एकेडेमीमा काम गरेका थिए। प्रहरी उपरीक्षक-एसपीका रुपमा उनले झापा र कास्कीको नेतृत्व गरेका थिए भने विषेश ब्युरो, प्रहरी एकेडेमी र आइजिपी सचिवालयमा  पनि काम गरेका थिए।

वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपीमा बढुवा भएपछि उनी आइजिपी सचिवालय र केन्द्रीय प्रवक्ताको भूमिकामा पनि थिए। नायब महानिरीक्षक-डीआइजी भएपछि उनले महानगरीय प्रहरी कार्यालय-मेट्रोको नेतृत्व गरे भने केन्द्रीय प्रवक्ताका रुपमा आइजिपी सचिवालयमा पनि रहे।

एआइजीमा बढुवा भएपछि उनी मानव स्रोत तथा प्रशासन विभागमा निरन्तर छन्। उनका बुवा शम्भु थापा क्षेत्री पनि नेपाल प्रहरीको नायब महानिरिक्षक-डीआईजीसम्म भएका थिए। शैलेश परिवारका दुई छोरामध्ये कान्छा हुन्। जेठा छोरा पनि सरकारी सेवामा छन्।

थापा नेपाल प्रहरीको २८ औँ आईजिपी हुनेछन्। थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए। सबैमा ब्याचीमध्ये पहिलो नम्बरमा थिए।

पहिलो नम्बरलाई प्राथमिकता


सरकारले लगातार तेस्रोपटक वरियतामा शीर्षस्थानमा रहेकालाई संगठनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली पनि आफ्ना ब्याचीमध्ये पहिलो नम्बरमा थिए। खनाल डीआईजीबाट सोझै आईजी बनेका थिए।

उनी आईजिपी हुनुभन्दा ९ महिनाअघि भएको बढुवामा पहिलो नम्बरमा रहेर डीआईजी भएका थिए। त्यसअघि उनी कुनैपनि दर्जामा पहिलो नम्बरमा थिएनन्। एसएसपीसम्म लगातार पहिलो नम्बरमा रहेका रमेश खरेल डीआईजी बढुवामा दोस्रोमा झरेका थिए। खनाललाई आईजिपी नियुक्त गरिएलगत्तै खरेलले डीआईजीबाट राजिनामा दिएका थिए।

त्यसअघिका आईजिपी नियुक्तीमा सरकार चरम विवादमा परेको थियो। डीआईजीहरुमध्येबाट आईजिपीमा बढुवा गर्नुपर्ने त्यो अवस्थामा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई नगरी तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई बढुवा गरिएपछि निकै विवादित बनेको थियो। पछि दोस्रो नम्बरमा रहेका प्रकाश अर्यालले नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए भने सिलवालले राजिनामा दिए।

प्रहरी नियमावलीमा ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ‘ भन्ने उल्लेख छ।

#आइजीपी #शैलेश_थापा

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्