सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

काठमाडौँ– समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टीद्वारा गठित कार्यदलले सिफारिस गरेको छ।

संसदमा पार्टीको ह्वीप उल्लंघन गरेको र राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिएको भन्दै कार्यदलले नेतृ गिरीलाई सांसदबाट निष्कासन गर्न सिफारिस गरेको हो।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्।

साथै उनले नयाँ नक्सासहितको नेपालको नयाँ निशान छाप परिवर्तन गर्न भएको संविधान संशोधनका क्रममा पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन्।

उक्त विषयमा छानविन गर्न समाजवादी पार्टीले कार्यदल गठन गरेको थियो। समाजवादीले महासचिव रामसहाय यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले छानविन प्रतिवेदन पार्टीलाई बुझाएको छ। उक्त कार्यदलले सांसद गिरीलाई पार्टी र सांसदबाट निष्कासन गर्न सिफारिस गरेको समाजवादीका एक नेताले देशसञ्चारलाई बताए।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्