लकडाउनमा टिकटक, अनलाइन गेम र नेटफ्लिक्सबाट फिल्‍म हेर्ने शतप्रतिशत

काठमाडौं- देशमा झण्डै तीन महिना लकडाउन हुँदा इन्टरनेटको शतप्रतिशत प्रयोग टिकटक, अनलाइन गेमिङ र नेटफ्लिक्सबाट फिल्म हेर्नमा सदुपयोग गरेको पाइएको छ।

प्रविधि पत्रकार मञ्च नेपाल (टीजेएफ)ले गरेको नेपालमा इन्टरनेट विषयक वेबिनारमा बोल्दै नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीएनओजी)का अध्यक्ष समित जंग थिंगले लकडाउनमा इन्टरनेटको प्रयोग शतिप्रतिशत टिकटक, अनलाइन गेमिङ र फिल्म हेर्नमा बढी भएको बताए।

उनले भने, ‘नेपालमा प्रयोग हुने इन्टरनेटमध्ये लकडाउनअगाडि टिकटक प्रयोगमा ७ जीबीपीएस प्रयोग हुन्थ्यो। तर लकडाउन सुरु भएपछि टिकटक प्रयोगमा १३ जीबीपीएसले प्रयोग भएको छ।’

उनका अनुसार लकडाउनमा अनलाइन गेम खेल्‍नेहरु पनि बढेको बताए। उनले भने, ‘ लकडाउन अगाडि ३ जीबीपीएस थियो भने लकडाउन भएपछि ७ जीबीपीएसले इन्टरनेट प्रयोग भएको देखिन्छ।’

त्यसपछि अनलाइन गेम खेल्ने र फिल्म हेर्नेहरु पनि शतप्रतिशतले बढेको देखिन्छ। लकडाउन सुरु हुनुभन्दा पहिला गेमिङमा ३ जीबीपीएस प्रयोग भइरहेकोमा लकडाउनपछि ७ जीबीपीएस पुगेको छ।

त्यस्तै थिङका अनुसार लकडाउनअघि नेटफ्लिक्स प्रयोगमा ७ जीबीपीएस इन्टरनेट प्रयोग भएकोमा लकडाउन सुरु भएपछि १३ जीबीपीएस पुगेको छ भने लकडाउन अवधिमा गुगल, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा पनि सोचेभन्दा बढी प्रयोग भएको छ।

यस्तै वेबिनारमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनको समयमा इन्टरनेटको प्रयोग बिहान र साँझ बढेको बताए।

उनका अनुसार लकडाउन १० दिन पहिले र दश दिनपछि इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म वृद्धि भएको थियो। उनले भने, ‘ त्यही कारण लकडाउनको अवधिमा इन्टरनेट सेवा प्रदायक (आइएसपी)हरुले ५० गिगावाइट पर सेकेन्ड(जीबीपीएस) वृद्धि गरेका थिए।’

यसका साथै सामान्य इन्टरनेट सेवा प्रदायकहरुले पनि ५ सय जीबीपीएस इन्टरनेट ब्यान्डविथ ल्याएकोमा लकडाउनपछि त्यो परिणामलाई ५५० पुर्‍याएको रोयले बताए।

उनका अनुसार नेपालमा १६ वटा नेटवर्क सेवा प्रदायकले बाहिरबाट ब्यान्डविथ ल्याउन अनुमति पत्र लिएका छन् भने बाहिरबाट आएको ब्यान्डविथमध्ये ९० प्रतिशत फिक्स इन्टरनेटको प्रयोग हुन्छ भने मोबाइलबाट ११ प्रतिशत  र फिक्स्ड वायरबाट ८९ प्रतिशत प्रयोग कर्ता रहेका छन्।  तीमध्‍ये  गुगलले ५१ प्रतिशत,  फेसबुकले ३१ प्रतिशत, अकमाइले ४ प्रतिशत, आइएसपीले २ प्रतिशत, टिकटकले २ प्रतिशत, नेटफ्लिक्सले १ प्रतिशत र अन्‍यमा ८ प्रतिशत गरी जम्‍मा १.६  टेराबाइट पर सेकेण्ड इन्टरनेट खपत भएको देखिन्छ।

त्यतिमात्रै नभएर अहिले भारत र चीनबाट बाहेक लोकल क्यासबाट पनि ब्यान्डविथ उपलब्ध भइरहेको रोयको भनाइ छ। त्यस्तै, नेपालमा इन्टरनेट प्रयोगको ट्रेन्ड भने बिहान केही मात्रामा र बेलुका अत्यधिक मात्रामा प्रयोग हुने गरेको पाइएको छ।

उनले भने, ‘बिहान १० बजे केही मात्रामा इन्टरनेटको खपत बढे पनि बेलुका ८ देखि १० बजेको समयसम्म इन्टरनेट प्रयोगकर्ता उल्लेख्य मात्रामा देखिएको छ’,

त्यस्तै उनले १२ देखि १ सम्म खाजा खाने समयमा इन्टरनेट खपत घट्ने र दिउँसो ५ देखि ६ बजे घर फर्कने समय भएकाले त्यसबेला इन्टरनेटको प्रयोग पुन: कम खपत भएको बताए।

यसका साथै रोयले नेपालमा चीनको रसुवागढीबाट पनि चाइना टेलिकमको इन्टरनेट आइसकेको बताए। उनले भने, ‘ नेपालमा मर्कन्टाइलले चीनको इन्टरनेट ल्याएको छ। यसलाई नेपाल दूरसञ्‍चार प्राधिकरणले अनुमति दिइसकेको छ।’

यस्तै एनपीएनओजी)का अध्यक्ष थिङले चिनियाँ इन्टरनेट महँगो पर्ने भएकाले नेपालका आइएसपीहरुले सहज मूल्‍यमा आपूर्ति गर्न नसकेको बताए। उनका अनुसार भारतबाट खासगरी भैरहवा र वीरगञ्‍जबाट इन्टरनेटको खपत बढी मात्रामा हुने गरेको छ भने ढल्केबर, दुहवी र टनकपुरबाट पनि इन्टरनेटको खपत हुने गरेको उनले बताए।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्