लद्दाख यात्रा- शान्तिको पोस्टमार्टम

लेखक ज्ञान मित्र उनका साथीहरुसँग।

हामीलाई लेहबाट नुब्रा भ्याली जानु थियो। हामीले ‘पैंगोंग लेक’ जाने विचार ‘क्यान्सिल’ गरेर यो गन्तव्य रोजेका थियौँ। यसपटकको यात्रामा हामीले कुनै कष्ट ,रिस्क वा अति ‘एडभेन्चर’ नगर्ने निधो यात्राको प्रारम्भमै गरेका थियौँ। हामी अर्थात म ,मेरो जर्मन महिला मित्र हालिना र उनका पति ग्रेगोर।

हालिना र म पहिला पनि धेरैपटक लेह पुगिसकेका थियौँ। म र हालिना मात्रै यात्रा गर्दा पैसाको कमी त होइन तर बजेटभित्र रहने बन्देजमा हुन्थ्यो। तर यस पटकको हिमाल भ्रमणमा हामीसँग ग्रेगोर थिए ,उनका लागि पैसाभन्दा उनको समय मूल्यवान थियो। उनलाई जम्मा २० दिन को उलाव (विदा) थियो, अतः सम्पूर्ण लामो यात्रा हवाई मार्गबाट र स्थानीय यात्रा कार अथवा टैक्सीले गर्ने सौभाग्य अथवा बाध्यता थियो।

पुणेबाट एक दिन अघि नै दिल्ली आएर भोलिपल्ट बिहान ५ बजेको फ्लाइटबाट २ घन्टामा ७ बजे बिहान हामी लेह ओर्लेका थियौँ। दिल्लीको ४० प्लसको तापमानमा हाफ बाहुला लुगा लाएर प्लेनभित्र छिरेका हामी ल्यान्डिङ हुने बेला प्लेनभित्र भएको उद्घोषले बडो आनन्दित भयौँ। उद्घोषमा भनिएको थियो- लेहमा हल्का हिउँ खसिरहेको छ र तापमान माइनस ३ डिग्री सेन्टिग्रेड छ।

प्लेनबाट ओर्लेर दुबै हात तालुमा राखी हामी कुद्दै एयरपोर्ट भवनमा छिर्‍यौँ। ब्याग आउनासाथ तातो लुगा लाएर एयरपोर्टबाट बाहिरियौँ। गजबको ‘नेचर’ छ लेहमा, प्राकृतिक र व्यवहारगत दुबै। यहाँ प्रायः बार्गेनिङ र दलाली हुन्न, न ट्याक्सीमा, न होटलमा र न त अन्य ठाउँहरुमा।

हामी अक्टोबरको अन्त्यतिर लेह पुगेका थियौँ। यो लेह पुग्ने उपयुक्त समय होइन ,तर हाम्रा लागि लेह जाने उपयुक्त समयभन्दा पनि ग्रेगोरको विदा हुने समय महत्वपूर्ण थियो। लेहमा रहेका सानातिना होटल बन्द भइसकेका थिए। धारामा पानी सप्लाई नै बाधित भइसकेको थियो। रात्रिमा तापमान शून्य देखि निकै तल पुग्ने भएकोले पानी ढिक्का भएर धाराबाट बग्ने सुगमता हुन्न। ज्योति होटलले बाल्टीबाट पानी उपलब्ध गराइदिने आश्वासन दिएपछि हामीले त्यही आश्रय लियौँ।

मलाई आजसम्म थाहा हुन सकेन, घुम्न जाने पायक बन्दोबस्त हुँदा म प्रायः पहाड वा हिमालय नै किन रोज्छु? अनेकौँपटक बद्रीनाथ, केदारनाथ, गंगोत्री, रानीखेत, अल्मोडा, कौसानी, नैनीताल, मसूरी, उत्तरकाशी, हर्षिल, कुल्लू, मनाली, धर्मशाला, ऊटी, श्रीनगर, सिक्किम, माथेरान, महाबलेश्वर, लोनावाला, खंडाला, अमरकंटक, लेहलगायत नेपालको मुक्तिनाथ किन पुग्छु? प्रायः यी सबै ठाउँहरुमा म ५-७ पटक पुगेको छु। उत्तराखन्डको कुमाउँ र गढवाल क्षेत्रका विभिन्न स्थानका गणना गरी साध्य छैन। यहाँका अनेकौँ स्थलहरुमा मैले धेरैपटक २-२,३-३ महिना लामो प्रवास गरेको छु। मलाई थाहा भए पनि नभए पनि केही त छ पहाडमा जसले मलाई बारम्बार तान्छ।

ग्रेगोरले मलाई मन पराउने एउटा कारण थियो। उनको मसँगको धेरै पटकको संगतको सार थियो- ‘इफ दिस म्यान ह्याज सिगरेट टू स्मोक देन ही नट निड एनीथिग ऐल्स, ही क्यान वी ह्यापी विद सिगरेट ओन्ली।’

हामी २०० मीटर ‘इलेभेसन’को दिल्लीबाट २ घन्टाको हवाई यात्रामा ३५०० मिटरको उचाइमा लेह पुगेका थियौँ। ‘अकुमलाइज्ड’ हुन पहिलो दिन आराम गर्दै बितायौँ। सम्पूर्ण लद्दाखमा प्रकृति र बुद्धिस्ट मोनास्ट्रीमा रमाउन नसक्नेका लागि अरु केही छैन, त्यही ‘साला पहाड़ में क्या है ‘कविता जस्तै।

दोश्रो दिन बिहान ट्याक्सी लिएर पुग्यौ हेमिस मोनास्ट्री । लेह -मनाली राजमार्गमा मुख्य सड़कबाट ५-६ किमी पश्चिम सिन्धु नदी पारी एउटा टाकुरामा अवस्थित हेमिसको इतिहास हज़ार वर्षभन्दा पुरानो छ। यस मोनास्ट्रीसँग ३५० वर्ष पुरानो पद्थान्का अझै सुरक्षित छ।

ग्रेगोरले मोनास्ट्री मास्तिरको पहाड औँल्याउदै सोधे, थाहा छ यो पहाड़ छिचोल्दै गइयो भने कहाँ पुगिन्छ? उत्तर उनैले दिए ,वर्तमानको पाकिस्तान हुँदै अफगानिस्तान र त्यसपछि तिमीलाइ जहाँसम्म मन लाग्छ हिँड्दै गए हुन्छ। इतिहास भन्छ अलेक्जेन्डर यही बाटो हुँदै भारत आएका थिए। मेरा लागि यो नौलौ जानकारी थियो, शायद यो पनि पुरानो रेशम मार्ग होला। फर्किने बेला हामीले थिक्से मोनास्ट्री, शेह प्यालेस मोनास्ट्री ,दलाई लामा ‘समर प्यालेस’ र बाटोमा पर्ने अन्य मोनास्ट्री अवलोकन गर्‍यौँ। थिक्से मोनास्ट्री भव्यतामा ‘पोताला प्यालेस’ जस्तै छ ,यसको इतिहास पनि ५०० वर्ष पुरानो छ। यहाँ रहेको १५ मीटर अग्लो मैत्रेय बुद्धको प्रतिमा दर्शनीय छ।

दलाई लामा प्यालेसमा पस्ने बित्तिकै ग्रेगोर बेचैन देखिए । म र हालिना भने पहिलाका भ्रमणमा यहाँको गेस्ट हाउसमा १० दिन बसिसकेका थियौँ। चिनेका नन र लामाले स्वागत गरे। दलाई लामा टेम्पल हेरेपछि हामी सिंधु नदीका किनारमा गएर बस्यौँ। ग्रेगोरले सोधे ‘तिमीहरुले यस ठाउमा दस दिन कसरी बितायौ? मलाई यहाँ पस्ने बित्तिकै यहाँको शान्तिले बेचैन बनायो, प्लिज छिट्टै यहाँबाट जाऊँ। हामीलाई लाग्यो, शायद अक्सिजनको कमीले ग्रेगोरलाइ गाह्रो भएको हो। अलि कति पनि विलम्ब नगरी हामी आफू बसेको होटल फर्कियौँ।

विगतमा धेरैपटक मैले र हालीनाले सिंधु नदीको किनारमा सिंधु सभ्यतादेखि टिग्रिस नदी किनारको सभ्यताबारे अनेको गफ गरेका थियौँ। हालिनाको ‘भिजन’मा उनी टिग्रिस नदी किनारको कुनै राज्यको रानी थिइन् र म उनको राज्यमा घुम्दै आइपुगेको आर्य जातिको विद्धान। खैर यो प्रसंग फेरि कुनै अर्को लेखमा।

साँझमा ग्रेगोरले आफ्नो प्रश्न पुनः सोधे। मलाई अक्सिजनको कमीले होइन, त्यहाँ पस्नासाथ बेचैनी भयो। त्यहाँको शान्ति मेरा लागि मृत्युतुल्य थियो ,’हाउ यु बोथ लिभ देयर टेन डेज’?

कर्मठ व्यक्तिका लागि निश्चय पनि शान्ति असहनीय हुन्छ। के तपाई कल्पना गर्न सक्नुहुन्छ ओली र प्रचण्डजी २ दिन नबोली एकान्तमा बस्न सक्नुहुन्छ ? आफ्नो बारेमा पनि यही प्रश्न विचार गरिहेर्नुस्। अध्यात्मभित्र एनर्जी स्तरसम्मको अनुभव सँगालेका व्यक्तिलाइ थाहा हुन्छ, त्यो स्तरमा एनर्जीका पनि विभिन्न प्रकार हुन्छन्। कुनै पनि पवित्र बुद्धिस्ट क्षेत्रको एनर्जी र हिन्दु पवित्र क्षेत्रको एनर्जी फरक रहेको यथार्थ पशुपति र बौद्धनाथमै बसेर थाहा पाउन सकिन्छ।

मित्र राम थपलियासँग सारनाथ पुग्दा उनको पनि अनुभव यस्तै रहेको थियो। होइन यो ठाउँ त सुताउने ठाउँ पो रहेछ। अन्तमा उनले जीवन निष्कर्ष व्यक्त गर्दै भनेका थिए- हिँड्ने सुगमता छ भने कुदनु किन,उभ्भिन्ने सुगमता छ भने हिँड्नु किन, बस्ने सुगमता छ भने उभ्भिन्नु किन, पल्टिने सुगमता छ भने बसिरहनु किन र सुत्ने सुगमता /सहजता छ भने पल्टिएर किन छटपटिनु?

यो मेरो र रामको संवाद हामी दुईमा मात्र सीमित रह्यो। दुबैले यो अन्य कसैसँग साझा गर्ने रिस्क कहिल्यै लिएनौँ।

हालिना र मैले जानाजान ग्रेगोरको प्रश्नमा रूचि नदेखाएर विषयान्तर गर्यौँ।

शान्ति विषयक जतिसुकै गीत गाए पनि जतिसुकै यसको पक्ष पोषण गरे पनि यथार्थ यही हो, शान्तिले जगत विस्तार हुन्न ,विकास हुन्न। विकास संघर्ष र अशान्तिकै प्रतिफल हो। तपाईँलाई के लाग्छ- विभिन्न क्रूज, सुपरसोनिक, हाइपरसोनिक मिसाइल लगायत आदि अन्य कुराको निर्माण शान्तिपाठका दौरान भएको हो?

ब्रह्म समाधिमै बसेको भए (जगत निर्माण सम्बन्धी धार्मिक धारणा) अथवा त्यस सुक्ष्म कणमा महाविस्फोट (बिग बैंग -जगत निर्माण सम्बन्धी वैज्ञानिक अवधारणा) नभएको भए! दुबै सन्दर्भमा पहिलो हत्या त शान्तिकै भएको हो,अरु त सबै तपसिलका कुरा न हुन्।

लेहमा बेलाबेला हिउँ खसी नै रहेको थियो। एक दिन होटलको फूलवारीमा खाल्डो खनेको हेर्दा मैले सोधेँ, यी खाल्डा केका लागि खनेको? होटल मालिकले जबाब दिए, शीतयामका लागि सामग्रीको जोहो गर्न। शीतकालमा चाहिने सामग्री भण्डारण गर्न खाल्डो खन्दा रहेछन् लेहमा।

‘तपाईँहरुको फर्किने टिकट कहिलेको छ?’ सोधे होटल मालिकले।

‘हामीसँग फर्किने टिकट छैन, किन केही समस्या भयो र?’ मैले सोधेँ।

‘भोलिदेखि लेह-दिल्लीको फ्लाइट बन्द हुन्छ,’ उनले भने।

‘जीप सर्भिस त जारी रहन्छ नि, होइन र?’

‘यो पनि हिउँमा निर्भर गर्छ। बाक्लो र ‘कन्टिन्यू’ हिउँ पर्यो भने सडक यातायात पनि बन्द हुन्छ।’

मैले ग्रेगोरलाई ‘ट्रांस्लेसन’ गरेर यस खबरबाट सूचित गरे। ग्रेगोरले मलाई फर्किने उपाय खोज्न भनेँ। ग्रेगोर र हालिनालाई स्पितुक मोनास्ट्रीतिर पठाएर म फर्किने विकल्पको खोजीमा लागेँ।

कुल्लूका मेरा साथी मित्रभूषणजीका नातेदार लेहका स्थानीय बासिन्दा थिएँ, म उनको औषधि पसलमा पुगेँ र आफ्नो समस्या भनेँ, उनले आत्तिनु पर्दैन केही अन्य उपाय नभए हेलिकाप्टरको व्यवस्था गराइदिने आश्वासन दिए तर साथै लेह बसाई छोट्याउन अनुरोध गरे। उनको अनुरोध अनुसार मैले पैंगोंग लेक र जंस्कार भ्याली जाने कार्यक्रम स्थगित गरेँ, तर नुब्रा भ्याली जाने कार्यक्रम यथावत राखेँ।

साँझमा ग्रेगोर र हालिनासँग विभिन्न उपायबारे छलफल भयो। हामीसँग उपाय थिए, जीप अथवा हेलिकाप्टरबाट मनाली झर्नु र दोश्रो उपाय फ्लाइट अथवा जीप/कारबाट श्रीनगर जानू। हालिनाले तुरुन्तै श्रीनगर जाने भनिन्। ग्रेगोरको अझै १३-१४ दिन विदा बाँकी नै थियो। उनले सबै जिम्मा मलाई दिए। जहाँ गए पनि अझै १३-१४ दिन उनी पुणे फर्किने मूडमा थिएनन्। मैले नुब्रा भ्याली भ्रमण पश्चात् श्रीनगर जाने प्रस्ताव गरेँ।

हामीले तत्काल होटलको रिसेप्सनमा गएर नुब्रा भ्याली जाने कुरा गर्यौ। होटल साहूले आफ्नै गाडी मिलाई दिए।

भोलिपल्ट बिहान हामीले नुब्राका लागि निस्कनु थियो। ५-६ घन्टाको बाटो मात्रै त हो भनेर हामीले बिहान निस्किन ढिला गर्‍यौँ। चियानाश्तापश्चात् ९ बजेतिर हामी नुब्रा जान गाड़ी चढ़्यौँ। हिँडेको बीस मिनटमै हिउँ पर्न थाल्यो। जति अगाडि बढ्दै गयो, आकाशबाट खस्ने र
सड़कमा जमेको हिउँको मात्रा बढ्दै गइरहेको थियो। यतिखेर मोटरको गति १० किमी प्रति घन्टा पनि थिएन। गाड़ीका टायर बारम्बार चिप्लिरहेका थिए। हामी झन् झन् मास्तिर गइरहेका थियौँ।

गाडीबाट बाहिर हेर्दा सर्वत्र सेतो मात्रै देखिँदै थियो, मानौँ हामी पृथ्वीमा नभएर सेता बादलले बनेको अर्कै कुनै दुनियामा छौँ। जम्मा ३८-४० किमीको बाटो छिचोलेर हामीलाई भारतको सडकमार्गको सबैभन्दा उच्च स्थान ‘खारडुंग-ला’ पुग्न ३ घन्टाको समय लाग्यो।

खारडुंग – लाको उचाइ ५,३५९ मिटर १७,५८२ फिट छ। ड्राइभरले गाडी एउटा कुनामा ‘पार्क’ गरेर त्यहाँ रहेको एकमात्र पसलमा चिया खाने निम्तो दिए। मलाई यसभन्दा पहिला हिउँमा हिड्ने कुनै अवसर प्राप्त भएको थिएन। बाल सुलभ कौतुहलले गाड़ीबाट हिउँमा ओर्लेँ। चारैतिर हेरे खै पसल कहाँ छ? १० मिटरको पनि ‘भिजुअलिटी’ थिएन र आँखाले देखे जति सबथोक सेताम्मे थियो। एक मिनटमै मलाई आफ्नो खुट्टा काम्न थालेको अनुभूति भयो। मैले मोजा नलाइकन नै चप्पल लाएको थिएँ। चिप्लिएर लडन लाग्दा ग्रेगोरले च्याप्प समातेर गाडीभित्र हुलेँ। मेरो ब्याग खोलेर मोजा झिकिदिए। मोजा लाएको ५-६ मिनटपछि हामी पुनः गाड़ीबाट ओर्लियौँ।

जनवरी महिनामा माइनस ३६ डिग्री सेंटीग्रेडसम्म तापमान पुग्ने यस खारडुंग – लामा यति खेरको तापमान माइनस १८ डिग्री सेंटीग्रेड रहेको चिया पसलमा पुगेपछि थाहा भयो। चिया खाँदै गर्दा लक्ष्मीप्रसाद देवकोटा र मुना मदनको सम्झना आयो। देवकोटाले आफ्नो महाकाव्यमा कहिँ लेखेका छन्- पाकेको भात खाने बेलामा काँचै हुने। चिया दुई घुट्कीमै सकियो। अर्को दुई कप चिया पनि त्यसरी नै खाइयो।

तिब्बती अथवा लद्दाखी भाषामा ‘ला’को अर्थ पास हुने रहेछ। पहाडमा बाटो बनाउने ब्रिटिस ढंग नदीको किनार किनार हुँदै पहाड़ छिचोल्ने हुन्छ भने चिनिया तरीका विभिन्न घुम्तीबाट पहाड़को टुप्पोमा पुगी त्यसैगरी ओर्लिनु हुन्छ। पहाड़को टुप्पोलाई पास भनिन्छ।

अब भने हाम्रो अगाडिको बाटो विभिन्न घुम्तीबाट ओर्लिदै अघि बढ्नु थियो। हिउँमा उकालो चढ्नुभन्दा ओरालो झर्न झनै गाह्रो हुने रहेछ। ड्राइभरले पछाडि पटीका दुबै चक्कामा मोटो फलामको सिक्री बाधेँ। यसले चक्कालाई चिप्लिनबाट रोक्ने रहेछ। ओर्लिँदाको दृश्य झनै रमाइलो, पर-परसम्मको रोडका अनेकौँ घुम्ती झनै स्पष्ट देखिने। सिक्री बाँधेपछि ड्राइभरले गाड़ीको गति अलिक बढ़ाएका थिए। ४० किमीको यात्रामै १ बजिसकेको थियो र हामीले अझै झण्डै १२० किमीको यात्रा गर्न बाँकी थियो। बिहानको नाश्ताले छाडेको महसुस भएर मैले ड्राइभरलाई बाटोमा कतै कुनै रेस्टुरेन्टमा गाडी रोक्न भनेँ।

‘सरजी खालसर पुग्नुभन्दा पहिला कहिँ कतै उपाय छैन।’

खालसर पुग्न कति बेर लाग्छ?

बाटोमा आर्मीका गाड़ी भेटिएनन् भने ४ बजेसम्म खालसर पुगिन्छ।

हिमाचल प्रदेश र लद्दाखका पहाड़मा आर्मीका गाड़ी उकालो चढ्दा ओरालो झरिरहेका अन्य सबै सवारी साधनले रोकेर पर्खिनुपर्ने नियम छ। आर्मीको एउटा लश्करमा १०० भन्दा बढ़ी गाड़ी हुन्छन्। यो लश्करलाई पास हुन एक डेढ़ घन्टा लाग्ने सामान्य कुरा हो। सौभाग्यले आर्मीको लश्कर भेटिएन। हामी ४ बजे खालसर पुग्यौँ। यहाँबाट हाम्रो गन्तव्य नुब्रा अझै २ घन्टा टाढा थियो। खालसरमा चियाबिस्किट बाहेक अन्य केही खाने कुरा उपलब्ध थिएन।

चिया बिस्किट ग्रहण गरे उपरान्त २ घंटाको यात्रापछि झण्डै ७ बजेतिर हामी नुब्रा पुग्यौँ। जाडोको के कुरा गर्नु, तापमान माइनसमै थियो। फसाद त कोठा लिएपछि पो भयो। वास्तवमा नुब्राको ‘टूरिस्ट सिजन’ समाप्त भइसकेको थियो। ‘अफ सीजन’ मा होटलको देखरेख गर्ने २-३ जना केटा बाहेक अन्य सबै कर्मचारी ५-६ महीने लामो विदामा गइसकेका थिए।

‘रेखदेख गर्ने केटाले खाना उपलब्ध नभएको भन्यो। किचेनमा काम गर्ने सबैजना विदावारी भएर गइसकेका छन्,’ केटाले भन्यो ।

‘अन्यत्र कतै पाइन्छ कि भनेर सोध्दा उसले नुब्राभरी कतै नपाइने कुरा गर्यो।’

चिया हुनसक्छ ?

चिया त मै पकाईदिन्छु र तपाईँहरु खानु हुन्छ भने आमलेट अथवा अन्डा उसिनिदिन्छु। ग्रेगोरले आमलेट चिया र मैले -हालिनाले चिया बिस्किटमै चित्त बुझाउनु पर्‍यो।

सियाचिन ‘ग्लेशियर’को फेदमा रहेको नुब्रा भ्याली सियाचिनबाट बगेर आउने नुब्रा नदीको किनारमा अवस्थित छ। नुब्रा नदी अगाडि गएर (हामी आएकै बाटोमा) सियाचिन ‘ग्लेसियर रेन्ज’ कै अर्को हिम टाकुरा रीमो ‘ग्लेसियर’बाट बगेर आउने श्योक नदीमा मिसिन्छ। दुबै मिसिए पछि नुब्रा नाम विलुप्त हुन्छ, श्योक नामले यो नदी अगाडि बढ्दै पांगोंग लेकको छेउ हुँदै अंतमा सिंधु नदीमा मिसिन्छ।

केही दिन पहिला पैंगोंग लेकको मास्तिर गलवान घाटीमा भएको चीन र भारतका सैनिकको भिड़ंतका क्रममा धेरै सैनिक यसै श्योक नदीमा खसेर चिसोका कारण मरेका थिए। श्योकको अर्थ नै ‘रिभर अफ डेथ’ हो।

भोलीपल्ट बिहान पुनः चिया र बिस्किटकै भोग लाएर हामी पुग्यौँ श्योक नदीको किनारमा अवस्थित हंडर भन्ने ठाउमा। यहाँ नदी किनारमा झण्डै २ किमी लामो क्षेत्रमा समुद्र किनारमा हुने जस्तै बालुवाको थुप्रो छ। बाटोमा एउटा अग्लो पहाड़बाट बालुवा पानीको झरनाझैँ खसिरहेको थियो। यसै बालुवामा हुन्छ ऊंट सफारी। भारतमा शायद यस ठाउ बाहेक अन्यत्र कतै ‘डबल ड्यून’ भएका ऊँट पाइदैनन्।

मैले ग्रेगोरसँग मजाक गर्दै भनेँ- के यी ऊंटका पुर्खा पनि अलेक्जेण्डरका सेनासँगै आएका थिए?

ऊंट डोर्‍याउनेले अंग्रेजी बुझ्यो र भन्यो, हो साहेबजी यी ऊँट अलेक्जेण्डरसँगै आएका थिए।

एक घन्टाको ऊँट यात्रापछि हामी डिस्किट मोनास्ट्रीतिर लाग्यौँ। लद्दाखभरि नै टाकुरा टाकुरामा बनेका भव्य मोनास्ट्री हेर्दा विचार आउनु स्वाभाविक हो, ५-७ सय वर्ष पहिला यस्तो दुर्गममा निर्माण कसरी सम्पन्न भयो होला? तिब्बत र लद्दाखको सम्बन्ध हजारौँ वर्ष पुरानो छ । लद्दाखका अधिकांश मोनास्ट्री तिब्बतका विभिन्न बुद्धिस्ट सेक्टसँग सम्बन्धित छन्, यिनको निर्माण पनि सम्बन्धित तिब्बतियन बुद्धिस्ट सेक्टका लामा गरुले गरेका थिए।

डिस्किट मोनास्ट्री पुग्न केही बेर गाड़ीबाट ओर्लेर उकालो चढ्नु पर्‍यो। शायद २०० मिटर पनि थिएन तर यसैमा मलाई २०-२५ मिनट लाग्यो। माथि पुगेर त्यहाँ रहेको बेन्चमा लडेँ।

केही नेपाली दाजु -भाई तलबाट ईट्टा ओसार्दै थिए। कर्णाली र सुदूर पश्चिमका थिए, उनीहरुको आजीविका नै लद्दाखमा गएर काम गर्नु थियो। डिस्किट मोनास्ट्रीमा दलाई लामाको पनि आगमन हुने कुरा त्यही सुनेँ। एकजना लामा भन्दै थिए -हाम्रा अवलोकितेश्वरलाई सजिलै भेट्ने ठाउँ यही हो। उहाँ यहाँ आउदा त्यति साह्रो हुलमुल हुँदैन,सजिलै भेट्न र बात गर्न पाइन्छ।

अहिले यो संस्मरण लेख्दा सोच्न विवश छु -हज़ारौँ वर्षदेखि लद्दाखमा बुद्धको करुणा मैत्री र शांतिको प्रचार प्रसार गर्दै आएको तिब्बत आफ्नो फेरिएको स्वरुप र परिवेशले गर्दा अहिले लद्दाखलाइ अग्निकुन्ड बनाउन अग्रसर रहेको । डिस्किटको मोनास्ट्रीमा रहेको मैत्रेय बुद्धको पश्चिममुखी प्रतिमाका करुण दृष्टिले गलवान घाटीमा भएको नर संहारको दृश्य हेर्‍यो कि विरक्तिएर आँखा चिम्लियो, कुनै बुद्ध चेत भएकै मानिसले मात्र अनुभव गर्न सक्छ होला।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्