सरिता गिरीको ठाउँमा लीला सिटौला

काठमाडौँ – सांसद सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि समाजवादी पार्टीले लीला सिटौलालाई पठाउने भएको छ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसर पाउने भएकी हुन्।

समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्। छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गिरीलाई कारबाही गरिएको हो।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्