सरिता गिरीलाई कारबाही गर्दा अभिव्यक्ति स्वतन्त्रता हनन् भो : अन्सारी

संसद बैठकमा आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भइ सभामुखले बोल्न नदिएपछि बाहिरिएकी जसपाकी सांसद सरिता गिरी । फाइल तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ– समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले आपत्ति जनाएकी छन्।

मंगलबार समाजवादीले उनलाई कारबाही गरेपछि अन्सारीले सामाजिक सञ्जालमा ट्वीटमार्फत अलोकतान्त्रिक कदम भन्दै सच्याउन माग गरेकी छिन्। नेता रामसहायप्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।

अन्सारीले संसदमा आफ्नो धारणा राख्न पाउने लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्न खोजिएको दाबी गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनको आधारमा कारबाही गरी निष्काशन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ। संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेकोले निर्णय फिर्ता लिन अनुरोध गर्दछु।’

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्