फोहोर व्‍यवस्थापन हुन नसक्‍दा दुर्गन्धित हुँदै जनकपुरधाम

जनकपुरधाम– प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाम यतिबेला दुर्गन्धित हुँदै गएको छ। जनकपुरधाममा फोहोर व्यवस्थापन हुन नसक्दा नगरको हरेक क्षेत्र दुर्गन्धित हुँदै गएको छ।

जनपकुरधामको मुख्य सडकहरु चिल्ला भएपनि नगरमा फोहोर नउठाउँदा सडकनै दुर्गन्धित भएको छ। जनकपुरधामको मुख्यबजारसहित, विभिन्न गल्लीहरु फोहोर थुपार्ने ठाउँको रुपमा परिणत भएको छ।

सडकको छेउमा रहेको फोहरमैलाको व्यवस्थापन गर्दै आएपनि पछिल्लो केहि दिनदेखि फोहोर व्यवस्थापनका लागि जग्गा अभाव भएपछि जनकपुरधाम उपमहानगरपालिकामा फोहोर उठ्न सकेको छैन।

फोहोर सडक छेउबाट व्यवस्थापन हुन नसकेपछि जनकपुरधामका स्थानीयसहित यहाँ आइरहेका यात्रुहरुलाई समेत सास्ती खेप्नु परिरहेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा पसल सञ्चालन गर्दै आएका वसिम अकरमले आफूहरुले बारम्बार फोहोर उठाउनका लागि भनेपनि कुनै सुनवाई नभएको बताए। नियमित रुपमा कहिल्यै फोहोर नउठेपनि अहिले आएर करिब १० दिनदेखि फोहोर उठाउन उपमहानगरका सफाई कर्मचारी नआएको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानु चोक, शिव चोक, जनक चोक, राजदेवी मन्दिर नजिक, राम चोक, रामानान्द चोक, पिडारी चोक, प्रादेशिक अस्पताल लगायतका मुख्य स्थानहरुमा फोहोरको डंगुर थुपारिएको छ।

फोहोर नउठनुमा प्रमुख हाथ नगरप्रमुख लालकिशोर साहकै रहेको उनले आरोप लगाए। डम्पिङसाइटको अभावका कारण जनकपुरधाममा फोहोर उठन सकेको छैन। उपमहानगरसँग फोहोर फाल्ने आफ्नो जग्गा नरहेकोमा यसतर्फ प्रमुख साहले ध्यान केन्द्रित गर्नुको साटो आफ्नो ढुकुटी भर्नमै व्यस्त रहेको उनले आरोप लगाए।

वडाध्यक्ष साहले उपमहानगरसंग आफ्नो जग्गा भएको भए यो समस्या उत्पन्ननै नहुने बताए। निर्वाचित भएको ३ वर्ष भइसके पनि डम्पिङसाइटका लागि जग्गा खोज्नुभन्दा, जनताको मूलभूत आवश्यकता पूर्ति गर्नुभन्दा पनि जनताको पैसा कसरी फिजुलमा खर्च गर्नेतर्फ मेयरको ध्यान रहेको वडाध्यक्ष साहको भनाइ छ।

यता उपप्रमुख रीता मिश्रले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिइन्। वडा नम्बर १६मा फाहोर फालिँदै आएकोमा सो जग्गा निजी व्यक्तिको रहेकोले फोहोर फाल्ने ठाउँको अभाव भएको मिश्रले बताइन्।

उनका अनुसार वडा नम्बर १६ जहाँ फोहोर फालिन्थ्यो त्यो जग्गामा एक व्यक्तिले आफ्नो निजी जग्गा रहेको दावी गरेपछि नक्सा निकाल्दा सोही व्यक्तिको नाउँमा सो जग्गा रहेको थियो।

फोहोर फाल्नका लागि सरकारी जग्गाको खोजी भइरहेको उपप्रमुख मिश्रले बताइन्। एक दुई दिनमा जग्गा भेटेन भने फोहोर व्यवस्थापनका लागि सूचना निकालेर ठेक्का लगाउने प्रकृया शुरु गर्ने बताइन्।

जनकपुरधाम उप-महानगरपालिकामा ८० जना सफाई कर्मचारी रहेका छन् भने फोहोर उठाउनका लागि ६ वटा ट्र्याक्टर, ६ वटा ट्रिपर तथा ६ वटा म्याजिक गाडीहरु रहेको छ। साथै सडक सफा गर्ने एक ब्रुमर मात्रै छ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्