शिक्षाले मानवीय मूल्य बढाउनुपर्छ

मानवमा भएको इमान्दारी, प्रेम, दया, सद्भाव, विश्वास, सुन्दरता, निष्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्यको पहिचान हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सबै पक्षले चिन्ताको रुपमा लिएको अवस्था पनि छ ।

हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सबैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिदा मानवीय मूल्य ह्रास हुन थालेको छ । यो समस्या नेपाली समाजमा पनि स्पष्ट रुपमा देख्न सकिन्छ ।

नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । जसले गर्दा समाज गलत संस्कार र प्रवृत्ति तर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पूरा गर्न मानिसलाई नकारात्मकतातर्फ डोर्‍याउने प्रयास हुँदै आएको छ । तर आज उक्साएर ‘मान्छे खान पल्काएको बाघले भोलिका दिनमा बाघ पल्काउने बर्गलाई पनि बाँकी राख्दैन’ भन्ने कुरामा त्यो वर्गले सोचेको छैन । समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्तत्वगोत्वा समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजमा उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्मक सोचको विकास गर्न आवश्यक छ ।

नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । यद्यपि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय बितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहीन रहन्छ भन्ने कुरालाई हेक्का राख्नुपर्दछ । यो कुरालाई ध्यान दिन नसक्दा सामाजिक सस्कारको स्खलन भई मानविय मुल्य समेतमा असर पर्ने गरेको परिदृष्य देखिन्छ ।

समाजमा रहेका मानिसलाई नैतिकवान बनाई राज्यप्रति उसको उत्तरदायित्व अभिवृद्धि गर्नसक्ने तुल्याउनको लागि पनि समाजमा रहेका विभिन्न संघ संस्थाको भूमिका गहन हुन्छ । हाम्रो समाजले सकारात्मक सोच र व्यवहार भन्दा पनि नकारात्मक सोचको खेती गर्दै गरेको परिस्थिति छ । यसलाई चिर्न पनि नैतिक मुल्य–मान्यताको अझै महत्वपूर्ण भूमिका हुन्छ । नैतिक मुल्य–मान्यता र दायित्व सिकाउने संस्थाहरु भनेको मूलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक संस्थाहरु तथा अन्य सान्दर्भिक संस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुने गर्दछ ।

यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य–मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन शिक्षा अनिवार्य छ । शिक्षा मूलतः औपचारिक तथा अनौपचारिक दुवै तरिकाबाट प्राप्त गर्न सकिन्छ । अनौपचारिक शिक्षा अन्तरगत परिवारबाट प्राप्त गर्ने शिक्षाले मानवीय मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका छ । परिवार समाजिक संगठनको आधारभूत इकाई हो । पारिवारीक मूल्य–मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसंग जोड्नमा ठूलो सहयोग गर्दछ । नैतिक मूल्य–मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ ।

अतः व्यक्तिले अपनाउने मूल्य–मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनै पनि व्यक्तिको नैतिक मुल्य–मान्यता सिक्ने पहिलो पाठशाला पनि हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारीक सिकाईको महत्व भुमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ । सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ ।

बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारीक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यत्ति नै महत्वपूर्ण छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सबैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारको जिम्मेवारी हुनुपर्छ ।

अव शिक्षालाई व्यवसायिक र मानव मूल्य–मान्यतालाई प्रवद्र्धन गर्न खालको बनाउन आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तहले ध्यान दिनु आवश्यक छ जसले यान्त्रिकीकरण हुँदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानव मूल्ययुक्त बनाई राख्न सहयोग पुग्दछ ।

पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनी–बानी, रहन–सहन, आहार–विहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मुल्य–मान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक परिपक्वताको विकासमा समेत प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणपूर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रेय दिनुपर्छ ।

व्यक्तिको मुल्य प्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत संगै अगाडि बढाउनु पर्छ । सामाजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गरिनुपर्छ । समय–समयमा जनचेतनामूलक शिक्षा प्रदान गर्न कक्षा सन्चालन गर्ने, समाजमा सामाजिक हितका लागि क्लब, संघ–संस्थाहरुलाई परिचालन गरी समाजको कुरीति अन्त्य गर्न प्रयोग गरिनुपर्छ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य–मान्यता बारे जानकारी गराउने जस्ता कार्य गरिनु पर्छ ।

मानवीय मूल्य निर्माणमा शिक्षाको महत्व भूमिका रहेको छ । शिक्षाको माध्यमबाट देशको जनशक्तिको विकास हुने र विकसित जनशक्तिको माध्यमद्वारा देशको आर्थिक सामाजिक, सांस्कृतिक तथा भौतिक विकास समेत हुने हुन्छ । मानवीय मूल्य निर्धारणमा शिक्षा त्यसमा पनि औपचारिक शिक्षाको गहन भूमिका छ । विद्यालयमा सिकाइने शिक्षाबाट नै व्यक्तिको मूल्य–मान्यता तथा कार्यशैली निर्धारण हुन्छ । त्यसकारण पनि शिक्षालाई व्यवहारिक, सीपमूलक तथा संस्कारयुक्त बनाइनु पर्छ ।

नेपालको शिक्षा एकातिर सीपमूलक भएन भन्ने अर्कोतिर शिक्षाकै कारण बेरोजगारी बढाएको भन्ने तर्क छ । रोजगारी गर्न इच्छुकले समयमा रोजगार नपाउने र बेरोजगार भएर बस्नु भन्दा शैक्षिक योग्यता बढाउने तर्फ लाग्ने गरेको छ । स्नातक तहको अध्ययन सकेका युवाले रोजगारी नपाउदा उनीहरु स्नातकोत्तर तहको अध्ययन गर्न थाल्दछ र स्नातकोत्तर सकेका अधिकांश युवाहरु योग्यता अनुसारको रोजगारी नपाउदा झन् बेरोजगारीको चपेटामा पर्ने गरेको छ । बेरोजगारीकै कारण नेपालबाट करिव ५० लाख युवाहरु रोजगारीका लागि विदेशिएका छन् ।

यसर्थ पनि अव शिक्षालाई व्यवसायिक र मानव मूल्य–मान्यतालाई प्रवद्र्धन गर्न खालको बनाउन आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तहले ध्यान दिनु आवश्यक छ जसले यान्त्रिकीकरण हुँदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानव मूल्ययुक्त बनाई राख्न सहयोग पुग्दछ ।

मानवीय मूल्यको मुख्य स्रोत भनेको ऊ हुर्केको समाज, परिवार र उसले सिकेको सिकाइ नै हो । अतः यी स्रोतमा नै सुधार नगरी सु–संस्कृत व्यक्तिको कल्पना गर्न सकिँदैन । नेपाली समाजलाई वर्गीय दृष्टिकोणबाट हेर्ने हो भने गरिब वर्ग, मध्यम वर्ग र धनीमानी वर्ग गरेर हेर्न सकिन्छ । मानव मूल्य निर्धारणमा यी वर्गहरु प्रशिक्षण सोही ढंगबाट गरिनु पर्छ । गरिब बर्गमा मानवीय मूल्य निर्धारणका लागि समाजका कुरीति भत्काउने हिम्मत नै हुदैन र मध्यमबर्गलाई त्यसको लागि फुर्सत नै छैन भने धनी वर्गको लागि आवश्यकताको महसुस नै छैन । त्यसकारण पनि मानवीय मुल्य–मान्यतालाई संवद्र्धन गर्ने कार्य जटिल बनेको छ ।

आदर्श मानवको विकास र संवद्र्धन नगरी देशले विकासको पद निर्धारण गर्न कठिन हुने भएकोले प्रवुद्ध वर्गको ध्यान यस तर्फ जानु आवश्यक छ । मानविय मूल्यको विकासको लागि परिवार र समाज गहन भूमिका रहन्छ । समाजको मूल्यमान्यता र व्यवहारबाट नै मानवीय मूल्य निर्धारण हुने भएकोले समाजलाई सु–संस्कृत बनाउन कै लागि पनि व्यक्तिको संस्कार, मूल्य–मान्यता सोही अनुसार हुनुपर्छ । त्यसको लागि शैक्षिक क्षेत्रलाई व्यक्तिको मूल्य–मान्यता र सिकाईको निर्धारण हुने प्रमुख थलोको रुपमा विकास गरिनु पर्छ । शिक्षित र आदर्श नागरिककोे निर्माणमा संघ, प्रदेश तथा स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।

(लेखक झापाका प्रमुख जिल्ला अधिकारी हुन् ।)

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्