डब्लुएचओबाट अमेरिकालाई औपचारिक रुपमा अलग गर्ने प्रक्रिया थाले ट्रम्पले

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन (डब्लएचओ) बाट बाहिर निकाल्ने प्रक्रिया थालेका छन् । ट्रम्पले गएको मेमा नै अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गरेका थिए ।

डब्लुएचओ चीनको छायामा रहेको र उसकै कठपुतली बनेको तथा कोरोना भाइरसविरुद्ध राम्रो काम गर्न नसकेको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।

युरोपियन युनियन र अरु विभिन्न क्षेत्रबाट डब्लुएचओ नछोड्न भएको आग्रहका बाबजुद ट्रम्पले अमेरिकालाई संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संगठनबाट अलग गर्ने भएका हुन् । अमेरिकाले डब्लुएचओलाई प्रदान गर्दै आएको सहयोग स्वास्थ्यकै क्षेत्रमा काम गर्ने अरु संस्थालाई प्रदान गर्ने ट्रम्पले बताएका छन् ।

ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई गराएका छन् । बाहिरिने प्रक्रिया पूरा हुन कम्तिमा एक वर्ष लाग्नेछ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डूजारिकले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गरेका छन्।

परराष्ट्र सम्बन्ध समितिका नेतृत्वदायी डेमोक्र्याटिक सिनेटर रोबर्ट मेनेन्डेजले पनि कंग्रेसले राष्ट्रपतिबाट अमेरिकालाई कोरोना भाइरस महामारीको मध्य समयमा औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्नेबारे जानकारी आएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘यसले अमेरिकीलाई बिरामी र अमेरिकालाई एक्लै बनाउने छ ।’

डब्लुएचओमा विस्तृत परिमार्जनको चाहना राखेका ट्रम्पले त्यसमा सिधै अमेरिकाको संलग्नता खोजेका थिए । तर डब्लुएचओले सो कुरा अस्वीकार गरेपछि औपचारिक रुपमै बाहिरिने प्रक्रिया ट्रम्पले सुरु गरेको अमेरिकी उच्च अधिकारीले सिबिएस न्यूजसँग भनेका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौती दिने डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको आलोचना गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपतिका रुपमा पहिलो दिनमै मैले अमेरिकालाई पुनः डब्लुएचओको सदस्य बनाउने छु र विश्व तहमा हाम्रो नेतृत्व पुनः स्थापित गर्ने छु।’

अमेरिका डब्लुएचओमा सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने देश हो । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलार्य ४०० मिलियन डलर भन्दा बढी प्रदान गरेको थियो, जुन डब्लुएचओको कुल बजेटको झण्डै १५ प्रतिशत हो ।

नियम अनुसार अमेरिका डब्लुएचओबाट बाहिरिन पाउँछ तर त्यसका लागि कम्तिमा एक वर्षअघि नै सूचित गर्नु पर्छ । अमेरिका बाहिरिँदा स्वास्थ्य क्षेत्रमा डब्लुएचओको काम प्रभावित हुने भन्दै चिन्ता व्यक्त भएको छ ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्