शदियौँदेखिका अनुत्तरित प्रश्नहरुले भरिएको एउटा गीतको इतिवृत्तान्त

भनिन्छ, ‘शिक्षा ज्ञानको ज्योति हो।’ यसले अज्ञानताको अन्धकारलाई छिचोलेर उज्यालो छर्छ।

तर ज्ञान नै बिरामी भयो भने के होला ?

केही समयअघि साहित्यकार आहुतिले लेखेको एउटा गीत सार्वजनिक भयो, ‘ए अछुत बनाउने मान्छे, सञ्चै छौ कि अझै बिरामी !’

हिन्दु वर्ण व्यवस्था अनुसार नेपालमा एक समुदायलाई पानी नचल्ने र अर्कोलाई छोइछिटो नचल्ने जात भनेर छुट्याइएको थियो। मुलुकी ऐन लागु भएपछि यो व्यवस्था खारेज भयो कानूनी रुपमा। तर ऐनले व्यवहारिक रुपमा यो व्यवस्थालाई हटाउन सकेन र ‘अछुत’ अझै अस्तित्वमा रह्यो नदेखिने गरी, उस्तै जकडिएको अवस्थामा ।

शब्दकोषले ‘अछुत’ शब्दलाई यसरी व्याख्या गरेको छ, ‘छुन नहुने वा नछोइएको, अस्पृश्य : छुन नहुने अवस्था।

आहूतिले लेखेको गीतले भन्छ, ‘अछुत’ मानिसले नै बनाएको हो । यो व्यवस्था सुरु हुँदा समाजको संरचना निर्माण इट्टा जस्तो भूमिका भएपनि कालान्तरमा यो कुरीतिको रुपमा स्थापित भयो, ‘मान्छेले मान्छेलाई ‘छुन नहुने’ जात बनाए । र यो रीत चलिरहेको नै छ।

आहूतिको गीतका हरफले केही यथार्थलाई सम्झाउँछन्, केही प्रश्नहरुका उत्तरहरु माग्छन् –

तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगे,
हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगे,
ए, मन भएको मान्छे मनलाई सञ्चै छ की बिरामी
ए ज्ञान भएको मान्छे, ज्ञानलाई सञ्चै छ की बिरामी ?

आहूतिले यो गीत धेरै अगाडि लेखेका हुन्। रेकर्ड पनि ८ महिना अगाडि नै भइसकेको थियो। तर गीत रुकुमको सोती घटनाले मान्छेको मनलाई चिसो बनाएको बेलामा सार्वजनिक भयो।

‘रेकर्ड फाइनल भएको थिएन। हामी सुझाव लिने प्रक्रियामा नै थियौँ। त्यो घटनापछि सुझाव माग्न दिइएका मध्ये एकजनाले यो गीत सार्वजनिक गरिदिएछन्।’ आहूति भन्छन्, ‘सोती घटनापछि उहाँलाई धेरै मन पोल्यो होला, त्यसैले उहाँले सार्वजनिक गरिदिनुभयो होला।’

आहूतिका ती साथी नेपाल म्यागजिनका सम्पादक बसन्त बस्नेत थिए। गीत सार्वजनिक गर्ने बित्तिकै धेरैले शेयर गरे। त्यसपछि यही रहिरहोस् भन्ने भयो।

‘गीत सान्दर्भिक भएकोले धेरैले यो गीत रुचाएका छन्। गीतमा संलग्न सबै कलाकारले राम्रो काम गरेका छन् तर सन्दर्भ मिलेकोले गर्दा धेरैले मन पराएका छन्। तर यो गीतका शब्द यही सन्दर्भ विशेष नभई ठूलो आयाम बोकेको छ।’

गीत सान्दर्भिकताको कारण धेरैको ख्यालमा परेको आहूति मान्छन्। उनी भन्छन्, ‘हाम्रो समाजमा लगातार यही जात व्यवस्थाको उत्पादन छदैँछ।’

हुन त जातीय छुवाछुत तथा भेदभाव ऐन–२०६८ ले भेदभाव गरेमा कसुर र सजायको व्यवस्था समेत गरेको छ तर नि छुवाछुतको नाममा अहिले पनि मानिसको ज्यान गइरहेको छ। रुकुमको सोती घटनामा ६ जनाको निर्मम हत्या भयो।

संविधानले मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक भनेर समेटेको छ । यस विपरित जानेलाई कानुनले सजाय दिन्छ।

आहूति भन्छन्, ‘कानून बन्नु भनेको अहिले पनि त्यो समस्या छ भन्नु हो। देखिने रुपमा छैन, तर जबरजस्ती रुपमा छ र त कानून बन्न पर्‍यो।’ हुन पनि नेपालमा सति प्रथा सम्बन्धी कानून खारेज भइसकेको छ।

आहूतिकै शब्दमा भन्ने हो भने ‘समाजमा गडेका जराहरुलाई नउखेल्ने तर त्यसबाट उत्पन्न संरचनाहरुलाई समाधान गर्ने कानून हामीसँग छ ।’

नेपाली समाज विविधतामा आधारित छ समाज हो। यहाँको जातीय स्वरुप जटिल छ। तर यो सँस्कृतिमामात्र सिमित भएन। समानतामा आधारित समाज भनेर व्याख्या हुँदाहुँदै व्यवहारमा लागु भएन। कार्यालयको संरचनागत प्रकृति, सरकारी सेवाका कर्मचारी अनि सरकार प्रतिनिधिहरु हेर्दा प्रष्ट हुन्छन्। आहूति भन्छन्, ‘लोकतान्त्रिक अभ्यासमा पनि यस्तो अवस्था छ।’

भन्नलाई समय परिवर्तन भयो भनिन्छ तर जात व्यवस्थामा आधारित मान्यता किताबका पानामात्र परिवर्तन भएका छन् । व्यवहारमा अदृष्य तर भयंकर रुपमा देखिइराखेको छ । आहूति भन्छन्, ‘नेपालको सिंगो समाज जात व्यवस्थामा आधारित छ, तर यसलाई भत्काउने प्रयत्नमा कोही पनि छैन। बरु त्यसको सट्टामा ‘कानून बनेकै छ, बिस्तारै हल हुन्छ भनिएको छ।’

पेसागत हिसाबमा समाजमा तथाकथित तल्लो जातले सिलाएका कपडा, जुत्ता लगाउने अनि उनैले बनाएका धातुले अन्न उमारेर बाँच्ने अवस्था छ। हाम्रो देशमा उनीहरुलाई जसरी ‘अछुत’ भनेर तिरस्कार गरिएको छ, उनीहरुको कामलाई अस्वीकार गरिएको छैन। यदी उनीहरु नहुँदा हुन् त बाँच्ने दिनचर्या के हुन्छ होला ? तर पनि उनीहरुको सीपको सम्मान भने छैन।

एकै थलोमा बस्दै आएका यी भिन्न जातहरुबिच गीतमा सोधिएजस्तै मन जोडिएको छैन, बिरानो छन्। शिक्षित छन् तर पनि समस्या हराउन सकेका छैनन्। मान्छे शिक्षित भएपछि स्वतः समाधान हुन्छ भन्ने मान्यता तब गलत सावित हुन्छन् जब विद्यालयका हेडमास्टरहरु, वडाका अध्यक्षहरु ‘दलित’ माथि जाइलाग्छन्।

गीतको एक हरफ भन्छ,

बहिस्कार गरी हुत्याईदियौँ, तर सकेनौ तिमी म बिना जिउन,
म तिम्रो शुभलाई सजाउँदै आए, म तिम्रो अशुभलाई सम्हाल्दै आएँ
दुःख दिएर दुःखी नै भयौँ, तर सकेनौ मरो सीपलाई बुझ्न
मेरो संगीतमा तिमीलाई नचाउँदै आएँ,
हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्दै आएँ,
ए छुत भनिने मान्छे, नजिक छौँ की अझै बिरामी
ए अछुत बनाउने मान्छे, सञ्चै छौँ की अझै बिरामी !

आहूति भन्छन्, ‘मान्छे शिक्षित हुँदैमा भएन, शिक्षा कस्तो भन्ने प्रश्न छ, जसले आफूलाई ज्ञानी भनिरहेको छ, त्यो ज्ञान नै बिरामी छ, शिक्षा गलत छ।

छुवाछुतको जरा राज्यले सोच्ने तरिका फेरबदल हुनुपर्छ।

१) अर्थतन्त्र,
२) राजनीति,
३) सँस्कृति

यो सबै एक अर्कासम्म जोडिएका छन्। मान्छेले २१ शताब्दी भन्छन्। ३० औँ शताब्दीमा पनि कुरा यही नै हो। साल, महिनाले उत्पीडन अन्त्य गर्ने ठेक्का लिएको छ र ! यो आफ्नो गतिमा गइरहन्छ। बदलिनुपर्ने मान्छे हो। यस्तो भएछ भनेर स्वा… गर्दै सास फेरेर मात्र हुँदैन।’

राजनीतिक रुपमा पनि यो समुदायको थोरै उपस्थिति भएकोले नै रुकुमको सोती घटना अगाडि आएको आहूतिको विश्वास छ। ‘संसदमा यो कुरा उठ्यो अनि छानबिन समिति गठन भयो। नत्र यस्ता घटनालाई सामान्य रुपमा लिइन्छ र ‘ए’ भनेर टारिन्छ।’

हुन त समाजमा दलित लगायत उत्पीडित समुदायको हकमा बोल्ने एउटा गैर दलितको समूह जहिले पनि छ तर उनीहरु अल्पमतमा छन्। पहिलादेखि चलिआएको मान्यता र सामाजिक संरचनालाई टिकाउने सोचमा छन्, सोचलाई फेर्ने कम छन्।

आहूति भन्छन्, ‘यो आधारभूत रुपमा सक्किएको छैन भनेर स्वीकार्न पर्छ, अनि राजनीति संस्कृति र सबैतिर योजना बन्नुपर्‍यो । लड्न चाहने एकजुट हुनुपर्‍यो, विरोध गर्नेलाई हराउन सक्नुपर्‍यो।’

गीत लेखनको सन्दर्भमा आहूति भन्छन्, ‘नभएको कुरा लेख्यो भनेर आलोचना गर्ने प्रवृति छ, त्यसैले पनि लेख्नु परेको हो।’ कहिलेकाँही भएको कुरा मान्छेले देख्दैन, देखेको कुरा अनुभूत गर्दैन।

‘समस्याको जड नै यही भएकोले जनस्तरमा लगेर जनमत गराएर स्वीकार्न बाध्य पार्ने न हो। मानिसको दिमागलाई तरंगित पारेर जनमत सिर्जना गर्न नै मद्दत गर्ने हो कला सामग्रीले । यसले शुक्ष्म रुपमा जसले अनुभूत गर्छ उसले लेख्छ।’

आहूति भन्छन्, ‘कलाले याद नभएको कुरालाई मनमा छापिदिन्छ। कतिपय अवस्थामा थाहा भएपनि मान्छेले छोपछाप गर्न खोजिराखेको हुन्छ, उनीहरुलाई झस्काउन कला सिर्जना हुने हो। अवस्था रहिरहे यस्ता सिर्जना फेरि पनि आउला। अवस्था फेरिए नआउला पनि।’

गीतमा संगीत अनि स्वर बिबि अनुरागीले दिएका छन्।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू