नेकपा स्थायी कमिटिको बैठक चौँथाे पटक स्थगित

फाइल तस्बिर

काठमाडौँ –  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ।

आज (बुधबार) बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौँथो पटक स्थगित गरिएको छ ।

मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटि बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच पनि संवाद जारी राख्ने सहमति भएको बताइएको थियो ।

तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ ।

प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन्।

पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएको नेताहरुले बताएका छन्।

समस्या समाधानका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ । मंगलबार पनि वार्ता गरेका ओली–प्रचण्डले बुधबार पनि छलफल गर्ने जनाइएको छ।

सम्बन्धित समाचार, जसमा तपाईँको चासो हुन सक्छ

माधव नेपाल फेरि एक्लिने संकेत, ओली–दाहाल मिल्न खोज्दै

राष्ट्रपति भण्डारी र नेता नेपालपछि झलनाथ खनालसँग पनि चिनियाँ राजदूतको भेट

दुई अध्यक्षबिच सहमति गरेपछि वा सहमतिको संकेत देखिएपछि मात्रै स्थायी कमिटि बैठकलाई निरन्तरता दिने तयारी भएको बुझिएको छ। तर मंगलबारको ओली–प्रचण्ड वार्तामा भने स्थायी कमिटिलाई निरन्तरता दिने र वार्ता पनि जारी राख्ने सहमति भएको बताइएको थियो।

नेकपाको आन्तरिक राजीतिमा गम्भीर संकट आएका बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई लिएर पनि चर्चा भइरहेको छ।

यस्तै पार्टी फुटबाट जोगाउनका लागि सबै गुटका दोस्रो तहका नेताहरु पनि लगातार छलफलमा छन्।

उनीहरुले नेतृत्वलाई जसरी पनि पार्टी एकीकृत बनाइ राख्न र सहमतिका आधारमा नभए पार्टी प्रक्रियामा गएर समाधान खोज्न दबाब दिँदै आएका छन्।

यसैगरी केन्द्रीय सदस्यहरुले स्थायी कमिटिबाट अहिलेको संकट समाधान हुन सक्ने भन्दै केन्द्रीय समिति बैठकको माग पनि गरिरहेका छन्।

तर ओली–प्रचण्डबिचकै संवाद र सहमतिले संकट टुंग्याउने उनीहरु निकट नेताहरुले बताउने गरेका छन्।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्