नरैनापुरसहित बाँकेका तीन पालिका कोरोनामुक्त

नेपालगञ्ज – बाँकेका तीन पालिका कोरोनामुक्त भएका छन् । जिल्लामा सबैभन्दा धेरै कोरोनाका बिरामी देखिएको नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका कोरोनामुक्त भएका हुन् ।

यी ठाउँका क्वारेन्टाइनमा केही मानिस बसिरहेपनि हाललाई कोहीमा कोरोना देखिएको छैन । पोजिटिभ रिपोर्ट आउने संभावना छदैछ ।

नेपालगञ्ज त्यही पालिका हो, जहाँ जिल्लामा पहिलो कोरोना संक्रमित देखिएका थिए । त्यसपछि बढ्दै गयो । ४० जनामा आएपछि रोकिएको छ । नरैनापुर त हटस्पट नै बन्यो । सबैभन्दा धेरै एक सय १९ जना बिरामी देखिए । एकजनाको मृत्युसमेत भयो ।

डुडुवामा २७ जना संक्रमित देखिए । यी तिनवटै पालिका अहिले कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

यी पालिकाका क्वारेन्टाइनमा केही मानिस बसेका छन् । तर, कोरोना संक्रमित छैनन् । आइसोलेसन सेन्टर खाली भइसकेका छन् । जिल्लाका अरु पाँच पालिकामा केही बिरामी छन् । त्यहाँका आइसोलेसन सेन्टर खाली भइसकेका छैनन् ।

फोकलपर्सन श्रेष्ठका अनुसार, कोहलपुरमा १०, खजुरामा चार, राप्तीसोनारी दुई, जानकी र बैजनाथमा एक/एकजना आइसोलेसन सेन्टरमा बसेका छन् । जिल्लामा १२ वटा आइसोलेसन सेन्टर बनाइएकोमा आठ वटा खाली भइसकेका छन् । यसैबीच, बुधबार नौ जना कोरोना जितेका छन् । डिस्चार्ज भएका उनीहरुलाई घर पठाउने तयारी भएको छ ।

बाँकेमा ३ सय ६८ जना संक्रमित भए । तीमध्येमा अब निको हुन बाँकी १८ जनामात्रै छन् । फोकलपर्सन श्रेष्ठका अनुसार, वनकटवाबाट सात र पिपिरीबाट दुई जना डिस्चार्ज भएका छन् ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा अब २ सय १५ जना बसिरहेका छन् । भारतबाट आउनेक्रम जारी नै रहेको छ । यद्यपि, पहिलाकोजस्तो चाप छैन

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्