सामाजिक सञ्जालमा ‘राष्ट्रनायक–राजनेता केपी ओली’ अभियान सक्रिय

प्रधानमन्त्री केपी ओली।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी भित्रको संकट अहिले अति कठीन बन्दै गएको देखिएको छ । उनले दुवै पदबाट (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष) राजीनामा दिनु पर्ने माग पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गरेपछि ओली संकटमा छन् ।

घेराबन्दीमा परेका ओलीले वार्तासँगै चेतावनी र दबाबको रणनीति अपनाइरहेका छन् । उनले पार्टी फुट्न सक्ने चेतावनी दिएका छन् भने आफ्नो समर्थनमा सडकमा कार्यकर्ता पनि उतारेका छन् दबाब दिनका लागि ।

पछिल्लो केही दिन यता ओली समर्थक विद्यार्थी नेता तथा युवा नेताहरु ओलीलाई राष्ट्रवादी, राष्ट्रनायक, राजनेताका रुपमा परिभाषित गर्दै देशका लागि ओली अपरिहार्य रहेको भन्दै नारावाजी गरिरहेका छन् ।

ओलीको समर्थनमा उनको गुनगान गाउने क्रम सडकमा मात्रै होइन उनका समर्थकले सामाजिक सञ्जालमा पनि गरिरहेका छन् । हालै फेसबुकमा दुईवटा पेज सक्रिय पारिएको छ, जसको नाम क्रमशः राजनेता केपी शर्मा ओलीराष्ट्रनायक क. केपी ओली समर्थक हो ।

२२ हजार भन्दा बढी सदस्य रहेको राजनेता केपी शर्मा ओली ग्रुपको विवरणमा लेखिएको छ, ‘ आजसम्म कुनै प्रधानमन्त्रीले नसकेको कालापानी लिपुलेख, लिपियाधुरा सहित नेपालको नक्शा सार्वजनिक गर्ने र सुखी नेपाली समृद्ध नेपालका परिकल्पनाकार रास्ट्रवादी युगान्तकारी नेता युगपुरूष केपी शर्मा ओलिको पेज बनाएका छौँ । यसमा आफना फेसबुकमा साथीहरूलाई इन्भाइट गरिदिई सहयोग गर्नुहोस्’ लेखिएको छ ।

रमेश पौडेल, मनिष प्याकुरेल, प्रदीप भट्टराई, राजु पहरी दर्शनसहितका एडमिन तथा मोडरेटर रहेको यो ग्रुपमा जोडिन चाहनेले ‘के तपाईँ राजनेताको समर्थनमा २०० जनालाई इन्भाइट गर्नुहुन्छ?’ भन्ने प्रश्नको उत्तर सक्छु या सक्दिन भनेर दिनु पर्छ । जे उत्तर दिए पनि लगत्तै ग्रुपमा जोडिन पाइन्छ ।

यस्तै २० हजार भन्दा बढी सदस्य रहेको राष्ट्रनायक क. केपी ओली सर्मथक नामक ग्रुपको विवरणमा ‘ सुखी नेपाली समृद्ध नेपालका महान अभियान्ता, गौरवशाली पार्टीका श्रद्देय अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको लागि सहयोगी ग्रुप’ लेखिएको छ ।

गणेश बस्नेत, तिर्थ भट्टराई, राजु पहरी दर्शन, वीरेन्द्र सिंह धामीसहितका एड्मीन तथा मोडरेटर रहेको यो ग्रुपको सदस्य बन्नका लागि ‘ तपाईं यो ग्रुपको मर्म अर्थात नेकपा प्रेमी हो? देशको समृद्धिको खातिर जुटेको सरकारलाइ हौसला र सहयोग गरिरहनु भएको छ? यदि छ भने तपाईँ ग्रुपमा जोडिन सक्नुहुन्छ’ भन्ने प्रश्नको उत्तर लेखेर दिनु पर्छ र त्यसपछि ग्रुपको नियम मान्छु भन्नेमा टिक लगाउनु पर्छ । यो ग्रुपमा सदस्य बन्ने रिक्वेस्ट एक्सेप्ट हुन भने केही समय लाग्छ ।

यी पेजहरु नेकपाका कार्यकर्ताहरुले स्वस्फूर्त तयार पारेका हुन् वा नियोजित प्रचार हो भन्ने खुलेको छैन ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू