गाउँपालिकाले बनायो आवधिक योजना

सिमकोट – हुम्लाको एक गाउँपालिकाले पाँच वर्षे आवधिक योजना तयार गरि कार्यान्वयनमा ल्याएको छ । योजनाबद्ध विकास गर्न आवधिक योजना आवश्यक हुन्छ भने कानुुनी तवरले पनि आवधिक योजना ल्याउनैपर्ने बाध्यता हुँदा खार्पुनाथ गाउँपालिकाले उक्त योजना तयार गरि कार्यान्वयनमा ल्याएको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा स्थानीय स्तरको विकास गर्न आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार आफ्नो गाउँपालिकाभित्र कुन स्थानमा विद्यालय, कलेज, खेल मैदान, बाटो, पुल, खानेपानी, पर्यटकीय, सांस्कृतिक क्षेत्र लगायतका भौतिक संरचना निर्माण गर्नुपर्ने हो, त्यसका लागि पहिलो वर्षदेखि नै आवधिक योजना निर्माण गर्नु पर्ने भएपनि जनशक्ति अभाबको कारण नसकिए पनि अहिले आएर आवधिक योजना तयार गर्ने काम पुरा मात्र भएको छैन, त्यसलाई असार १० गते सम्पन्न गाउँ सभाले कार्यान्वयनमा समेत ल्याएको छ ।

वार्षिक योजनाले अल्पकालीन योजना र लक्ष्य पूरा गरे पनि आवधिक योजनाले स्थानीय तहको दीर्घकालीन योजना र लक्ष्य सार्थक हुने भएको कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गरिने अध्यक्ष रावलले बताए  ।

निर्वाचित जनप्रतिनिधिले विकास गर्न अनिवार्य रूपमा आवधिक योजना निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले पनि आर्थिक विकास, गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, जनताको जीवन स्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग हुने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने गरी योजना बनाई कार्यान्वयनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्