लकडाउनसँगै बैंक ब्याजले थलिए ठूलो लगानीका फन पार्क

विराटनगर – कोरोनाभाइरस कोभिड १९ को महामारीसँगै लकडाउनका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्दै गएको छ । सर्वसाधारणका लागि खुलेका पर्यटकीयस्थलमा समेत यसबाट प्रभावित भएका छन् ।

यससँगै पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश १ का विभिन्न स्थानमा ठूलो लगानीमा पार्क, रिर्सोट, खुल्ने क्रममा रहेको छन् । तर, गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउनका लागि आकर्षक मानिएको प्रदेशका पार्क तथा रिसोर्टहरु बन्द भएसँगै आर्थिक भारबाट थलिएका छन् ।

सुनसरीको इटहरी उपमहागरपालिकामा ओशियन पार्क एण्ड रिसोर्ट, मोरंगको बेलबारीस्थित ड्रिम गार्डेन लगायत फन पार्कको अवस्था दिनानुदिन खस्किदै गएको छ ।

त्यसैगरि, इटहरीको तालतलैयामा सञ्चालनको तरखरमा रहेको ठूलो लगानीको एम्युजमेन्ट एण्ड वाटर पार्क अन्योल अवस्थामा रहेको छ । पर्यटन क्षेत्रमा संभावना बोकेको भएपनि अहिलेको विषम परिस्थितिमा सरकारबाट राहत प्याकेज आउन नसक्दा लगानीकर्ता निराश देखिएका छन् ।

ईटहरीको तालतलैयामा करिब ४० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीको असरले रोकिएको छ ।

छिमेकी राष्ट्र भारत, पर्यटन वर्षलाई केन्द्रित गरेर करिब ६ विगाह क्षेत्रफलमा सञ्चालनमा आउन लागेको पार्कका सञ्चालक विनोद पौडेलले लगानी ठूलो भएसँगै आर्थिक भारको समस्या उत्पन्न हुने बताउँछन् ।

कोभिड १९ को परीक्षण दायरा बढाउँदै सरकारले सुरक्षित बनाउन सके प्रदेशका पार्कहरु खोल्न तयार अवस्थामा रहेको पौडेलको भनाई छ । पार्क खोल्नका लागि करिब ६० जना कर्मचारी दरबन्दीदेखि व्यवस्थापन कार्य सकिसकेको अवस्थामा बन्दाबन्दीले प्रभाव पारेको बताएका पौडेलले सरकारले पर्यटकीय क्षेत्रका लागि टेवा पुराउने पार्क तथा रिर्सोटहरुमा ध्यान दिन नसकेको गुनासो गर्छन् ।

सरकारले लगानीकर्ताको लगानी सुरक्षित बनाउनका लागि राहत प्याकेज दिन नसकेको बताउँदै उनी सरकारले बैंकको ऋण, किस्ता ब्याज तिर्ने समयावधी केहीसमय थप गर्नुपर्नेमा जोड दिन्छन् ।

पार्क सञ्चालन गर्न नपाई नै बैंकको किस्ता ब्याज तिर्नुपर्ने अवस्थाले समस्या जटिल बनाउदै लगेको उनको भनाई छ । प्रदेश १ मा ठूलो लगानी र बृहत रिसोर्टका रुपमा आउन लागेको पार्क दुईवर्षअघिबाट निर्माण सुरु भई गत चैत्रबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको थियो ।

त्यसैगरि, करिब ८ वर्षअघि २१ करोडको लगानीमा खुलेको ओशियन पार्कका सञ्चालक डम्मर तामांगका अनुसार सिजन सुरु हुने समयबाटै लकडाउन हुदाँ प्रत्यक्ष असर परेको बताउँछन् ।

विगतका समयमा जेनतेन लगानीको ऋण कम गर्दै आएका थियाैँ, यसपटक तीनचार महिना बन्द हुदाँ बैंकको किस्तादेखि कर्मचारी ब्यवस्थापनमा समस्या पर्दै गएको सञ्चालक तामांगको भनाई छ ।

स्वीमिंग पुललाई केन्द्रित गरि प्रदेशमै पहिलो पार्कका रुपमा खोलिएको ओशियनमा हाल जिम, रेष्टुरेन्ट, रिसोर्टको सुविधा छ । फागुन मध्यबाट कार्तिकसम्म सिजन हुने बताएका तामांगले आधा समय बन्दाबन्दीको अवस्थाले अब धान्न गाह्रो हुन थालेको प्रस्टाउँछन् ।

सुरुआतको दुईमहिना पार्कमा कार्यरत कर्मचारीलाई सेवासुविधा उपलब्ध गराएको बताएका उनले अब कसरी उनीहरुलाई र आफ्नो व्यवसायलाई अघि बढाउने सोच्नुपर्ने अवस्था सृजना भएको बताउँछन् ।

पार्क खोल्नका लागि प्रशासनसँग छलफल भइरहेको बताउदै उनले भने, ‘अहिलेको अवस्था बुझेका छौ । तरपनि आर्थिक भारमा राज्यबाट सम्बोधन हुन नसक्दा अवस्था गाह्रो हुदै गएको छ । यसरी बन्दाबन्दीको अवस्थाबाट कतिदिन चल्ने ? सरकारले अनुमति दिए हामी सावधानीपूर्वक पार्क खोल्न तयार अवस्थामा रहेका छौँ ।’

त्यसैगरि, ७ करोडबाट सुरु भएको बेलबारीस्थित ड्रिम गार्डेनको अवस्थामा उस्तै रहेको छ । स्थानीय विजय सुवेदीले सञ्चालनमा ल्याउने तयारी गरिरहदाँ उनको रिर्सोट बन्दाबन्दीको शिकार भएको छ । फागुन अन्त्यबाट गार्डेन सञ्चालनमा ल्याएको बताएका सुवेदीले लकडाउनसँगै आर्थिक अवस्थाका कारण गार्डेनसँगै अन्य दुईवटा प्रोजेक्टको काम बन्द गर्नुपरेको बताउँछन् ।

स्थानीय क्षेत्रको विकास र रोजगारीका लागि समेत टेवा पुग्ने हेतुले गार्डेन सञ्चालनमा ल्याएको बताएका सुवेदीले हाल प्रत्येक ३।४ दिनको अन्तरमा गार्डेनलाई सेनिटाइज, ब्लिचिंग गर्ने कार्य गरिरहेको बताउँछन् ।

बन्दाबन्दीको अवस्थामा अहिलेसम्म गार्डेनमा कार्यरत कर्मचारीलाई जसोतसो खर्च धानिरहेको बताउदै सुवेदीले ऋणको समयावधी लम्बाउन र किस्ताको रकम छुट गर्न सकिए सहज हुने उल्लेख गर्छन् । बजार सुपर मार्केट पसल खुल्ला भएको अवस्थामा पार्कलाई पनि सावधानी अपनाएर खुल्ला गर्न दिनुपर्ने उनको भनाई छ ।

अर्कोतर्फ, पार्कमा पुग्ने सर्वसाधारणमा समेत सेनेटाइज उपयोग गर्न नमानिरहेको पार्क सञ्चालकहरुको गुनासो छ । मास्क लगाउन आग्रहगरेसंगै पार्कमा राखिएको सेनेटाइजर प्रयोगमा हिच्किचाउने गरेकाछन् ।

उनीहरुका अनुसार त्यसप्रकृतिका सर्वसाधारणलाई सम्झाइरहेको र नमान्दा फर्काइदिने गरिएको उनीहरुकोले बताए ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्