हाम्रो आवाज पनि सुन्नुहोस्- १६

उनीहरुको पीडामा हामी धुरुधुरु रुन्छौँ

मेरो नाम गोमा दाहाल हो। मेरो दुईवटा छोराछोरीहरु छन्। छोरी लक्ष्मी र छोरा भवानी। मलाई थाहा भएन दुबै छोराछोरीहरु कसरी कान कम सुन्ने (सुस्त श्रवण) भए भन्ने बारेमा। सुरुमा म सरकारी बिद्यालयमा पढाउने एक शिक्षिका, त्यसमाथि बीस बर्षको उमेरमा छोरी जन्मिसकेकी थिई। मैले छोरीलाई दिनभरी झोलुंङ्गोमा हालेर बिद्यालय जानुपर्ने बाध्यता थियो। बेलुका आएर छोरीसँग एकछिन खेली, खुवाई पियाई गरी सुताउँदा मेरो दिन बित्थ्यो। छोरी सानो हुँदासम्म यही तरिकाले बित्दै गयो। जब छोरी २ बर्षको भई, त्यस पछि पनि झोलुंङगोमा नै छोड्न नमिल्ने भएकोले मैले छोरीलाई आफ्नै दिदीको घरमा छाडेर बिद्यालय जान थाले।

त्यसपछि दिदीले एक दिन नानी तिम्रो छोरी कान सुन्दिन जस्तो छ भन्ने कुराको जानकारी गराउनुभयो। अनि पहिलो सन्तानको छोरी कान नसुन्ने भन्ने कुरा थाहा पाएपछि म त छाँगाबाट खसेजस्तै भए। मैले मेरो छोरीको कान नसुन्ने भएको कारण पत्ता लगाई उपचार गर्नको लागि कानको डाक्टरलाई देखाउन धरान, बिराटनगर, काठमाडौँदेखि सिलिगुडीसम्म पुर्‍याएँ।  सबैको एउटै उत्तर आयो। कानको नसा सुकेको छ। साह्रै नै मन दुख्यो। अब मेरी छोरीको कान केही गरे पनि उपचारबाट सम्भव हुँदैन भन्ने कुरा थाहा पाएँ।

उनले बोल्न चाहिँ बोल्थी, आवाज भने प्रष्ट हुँदैन थियो। तै पनि हामी उनले बुझे पनि नबुझे पनि बोलेर नै कुरा गर्थ्यौ। चञ्चले स्वभावकि थिई। आफ्नै सुरमा के के बोलेर खेलेर बस्थी। डाक्टरको सल्लाहअनुसार मैले हेरिङ एड पनि किनेर लगाई दिएँ। त्यस बेलाको त्यो हेरिङ एड तार वाला र पकेटमा राख्ने खालको थियो। त्यो हेरिङ एड लगाउँदा सुरु सुरुमा ऊ आवाज सुनेर दंग परेकी थिई। हामि पनि अब छोरीको सुनाइमा केही सुधार होला कि भन्ने आशामा थियौँ। तर लामो समयसम्म दिनभरि लगाउँदा उनलाई कान दुख्थ्यो। त्यसपछि लगाउन मनै गर्न छोड्न थाली। कहिलेकाहिँ मात्र लगाउन थाली।

जब छोरी अलि ठूली हुँदै गई उनको लागि बिद्यालय भर्ना गर्नुपर्ने उमेरको हुँदै आयो। मैले गाउँकै एउटा बोर्डिङ स्कुलमा छोरीको नाम लेखाइदिएँ। साथै मलाई यो पनि थाहा थिएन कि कान कम सुनेपछि पनि पढाइमा गाह्रो हुन्छ भन्ने। छोरी अलिअलि आवाज चाहिँ सुन्थी तर शब्दहरु भने पूर्णरुपमा बुझ्दिन थिई। बोर्डिङ स्कूलमा पढाएपछि केही सुधार हुन्छ कि भन्ने सोचेको थिएँ। तर त्यति प्रगति हुन सकेन। उनले स्कूल जाँदा हेरिङ एड कुनै कुनै बेला मात्र लगाउँथी। स्कूलमा पनि बच्चाहरुले यो के लगाएको यस्तो भनी जिस्काउने पनि गर्थे। त्यसैले पनि होला।

म आफै शिक्षण पेशामा भएकोले छोरीले उनको उमेरका अरु बालबालिकाहरूको सरह पढाइमा औसत विकास गर्न नसकेको थाहा पाएँ। चिन्ता लाग्न थाल्यो अब के गर्ने भनेर। म आफै शिक्षिका भएको कारणले बहिरा स्कूलको बारेमा पनि सुनेको थिएँ। तर मलाई थाहा थिएन कि शिक्षकहरुले कान कम सुन्ने बिद्यार्थीहरुलाई ध्यान दिएर पढाएमा बहिरा स्कुलमा नराखे पनि हुन्छ र सुन्ने स्कूलमा राखेमा बहिरा स्कूलमा सिकेको भन्दा राम्रो हुन्छ भनेर। तर साथी भाईहरु र आफन्तहरुले बहिरा स्कूलमा नै राख्नको लागि सल्लाह दिनु भयो। किनकि म आफैँले पनि विभिन्न बहिराहरु लाई देखेको र एक आपसमा कुरा गर्ने गरेको देखेकी थिएँ। छोरीलाई त्यसपछि मैले बहिरा स्कूलमा भर्ना गर्न राजबिराज पुर्‍याएँ।  छोरीले त्यहाँ चार बर्ष पढे पछि पनि पढाइमा भने त्यति अरु सुन्ने बिद्यार्थीहरु सरह उन्नति नभएको देखेपछि म आफैँ छोरीको शिक्षिका बनी घर नजिकैको सुन्ने स्कूलमा भर्ना गरेर पढाएँ। लेखाइमा शुध्दता ल्याउन मैले सहयोग गरेँ। यसले गर्दा उनको लेखन र बुझ्ने शैली भने छोरीको अन्य बहिरा साथीहरु भन्दा अलि राम्रो छ भन्ने महसुस गरेकी छु। यस्तै गरी छोरीले बिराटनगरको साधारण सुन्ने स्कूलबाट नै एसएलसी पास गर्न सकिन्। मलाई छोरीले गरेको प्रगतिप्रति निकै नै गर्व लाग्यो। अब यिनले पनि केही गर्न सक्छिन् भन्ने मेरो सोच बन्यो।

त्यसपछि उनलाई उनको अरु बहिरा साथीहरुसरह उनलाई उच्च शिक्षा पढ्न काठमाडौँ जाने रहर भयो। त्यसैले परिवारको सल्लाह अनुसार काठमाडौँ लगी एउटा बहिराहरु बस्ने होस्टेलमा राखेर आयौं। यो बेला भने मेरो मन निकै दह्रो बनाएकी थिएँ। किनकी काठमाडौँ राजबिराजजस्तो नजिक थिएन। केहि परेको बेला तुरुन्तै आउन सक्ने पनि थिएन। मनमा कता कता डर भने लागिरहेको थियो। तर त्यस होस्टेलमा खाना सफा नहुने समयमा खानाको समस्या, धेरै बिधार्थीहरु जम्मा भइरहने जस्ता समस्या हुन थाले पछि उनलाई चित्त नबुझेर छोरी आफैले कोठा खोजेर बस्न थालिन्।

यस्तै सन्दर्भमा काठमाडौँमा उनले श्रुति संस्थाको बारेमा बुझ्ने मौका पाइछन्। यस संस्थामा उनीजस्ता कानको सुनाइ क्षमता पूर्ण रुपमा बहिरा नभएका कान कम सुन्ने साथीहरु देखेर छक्कै परिछन्। यस संस्थामा संलग्न हुँदा उनलाई भने राम्रो हेरिङ एड लगाउन सकेमा आफ्नो पनि सुन्ने क्षमतामा बिकास हुन गई बन्द नै हुन लागेको बोली पनि बिस्तारै ठिक हुँदै जान्छ कि भन्ने आशा पलाउन थाल्यो। यस संस्था मार्फत उनलाई हौसला दिई अघि बढ्न सल्लाह दिनु हुन्छ र बेला बेलामा तालिम तथा गोष्ठि आदिमा भाग लिन पठाउने गर्नु हुन्छ। जसको कारणले छोरी पहिलाको भन्दा निकै बुझ्ने भएकी छिन्। भविष्यमा अब उनले आफ्नो खुट्टामा उभिई केही गरेर खान सक्छे कि भन्ने मेरो आशा पलाएको छ।

भविष्यमा अब उनले आफ्नो खुट्टामा उभिई केही गरेर खान सक्छे कि भन्ने मेरो आशा पलाएको छ।

मेरो छोरा पनि करिब २ बर्षको उमेरमा ठुलो ज्वरो आएर टाईफाईड भएको कारण उसको कान कम सुन्न थालेको हो। छोरी पनि नसुन्ने भई र छोरा पनि नसुन्ने हुँदा आफन्तहरूले भन्ने गर्थे पूर्व जन्मको पाप हो तेरो। तर मैले मेरा सन्तानमा कुनै चिजको कमी देखिन जसरी भएपनि अगाडि बढ्ने छन् भन्दै बिद्यालय साथमा लिएर जाने गर्थेँ। छोरा अलिक फरक र जण्ड स्वभावको भएकाले ऊ साथीहरुसँग मिल्ने तर शिक्षकले गाली गर्दा मुख चलाउने गर्दा धेरै पटक पिटाइ खान्थ्यो। उसको पनि सुनाइमा समस्या भएता पनि सुन्ने स्कूलमा नै भर्ना गरे। छोरीलाई पढाउँदाको अनुभबले गर्दा मैले धेरै कुरा बुझिसकेको थिएँ। त्यसैले मैले छोरालाई भने आफ्नो घर नजिकैको सुन्ने स्कूलमा नै राखी पढाउन थालेँ। सुरुमा भने आफ्नै सरकारी स्कुलमा पढाए पनि पछि ठूलो भए पछि भने बिराटनगरको बोर्डिङ स्कूलमा पढाएँ।

आफू टाढा बसे पनि उनीहरुलाई राम्रो बनाउन धेरै मेहनत गरेँ। शिक्षकहरु सँग छोराछोरीको सुन्नमा हुने समस्याको बारेमा कुरा गरेँ। यसले गर्दा शिक्षकहरुल बाट पनि सहयोग पाइयो। छोरालाई शिक्षकको नजिक राखेर पढाउन र पढाएको कुराको नोट दिन अनुरोध गरेँ। साथै शिक्षकहरुले ट्युसन पनि राखेमा उसले धेरै प्रगति गर्न सक्छ भन्ने सल्लाह अनुसार उसलाई ट्युसनको पनि व्यवस्था गरिदिएँ। साथीभाइहरुबाट पनि उसले राम्रै सहयोग पाएको थियो। यसले गर्दा उसले ‌+२ पनि बिराटनगरबाट सक्यो। उच्च शिक्षा पढ्नको लागि आफैँले काठमाण्डौ लगेर कान्तिपुर सिटी कलेजमा भर्ना गरिदिएँ। तर त्यहाँ शिक्षकको गाली र नसुन्ने भनी हेपिएको कारणले छोराले एक बर्ष पढेर त्यहाँ पढ्न मानेन। तैपनि पढ्नै पर्ने र शिक्षा पूरा गर्न पर्ने हुनाले उसलाई किष्ट कलेजमा भर्ना गरेँ र अहिले त्यहाँ पढ्दै छ। तर यहाँ पनि ऊ सन्तुष्ट छैन। सबै कुरा कान नसुन्नु नै रहेछ।

उसले हेरिङ एड लगाउछ तर कलेज जाँदा लगाउन मान्दैन। शायद, उसले आफूले र उसको दिदीले पहिले भोगेको भेदभाव र साथीभाइहरुले जिस्काएको देखेर नै होला। साथै जनचेतनाको कमीले गर्दा समाजले तल्लो स्तरको नजरले हेर्ने हुँदा जहिले पनि आफूले पूरा नसुने पनि सुनेजस्तो गर्छ। उसले हेरिङ एड राम्रोसँग लगाएको भए ऊ त्यो कलेजमा पढुन्जेलसम्म खुशी हुन्थ्यो होला र पढाएको कुरा पनि पहिलेको भन्दा बुझ्थ्यो होला। बजारमा राम्रो कान भित्र लगाउने नदेखिने खालको हेरिङ एड पनि छ तर किन्नलाई भने मेरो यो शिक्षकपेशाको कमाइले भने कसरी धान्न सकूँला जस्तो लाग्छ।

यी विभिन्न समस्याहरु झेल्न र छोराछोरीहरुलाई पढ्ने वातावरण बनाउन अझै पनि सकेकी छैन मैले, जसले गर्दा हामीजस्ता अभिभावकको केवल रुनु सिवाय केही हुन्न। तै पनि मेरो कोशिस जारी नै छ। सरकारले पनि यसो केही सहयोग गरिदिएको भए हाम्रो जस्तो छोराछोरीहरुलाई पढ्नको लागि केही राहत पुग्ने थियो। मैले मेरो छोराछोरीहरुको हौसला बढाउनको लागि सधै झमक घिमिरेको उदाहरण दिने गर्दछु।

(लेखिका सुस्त श्रवण छोरा छोरीका आमा तथा पेशाले शिक्षिका हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्