विकास दुवे खोज्दै भारतीय प्रहरी नेपालगञ्‍जमा

नेपालगञ्‍ज-भारतको कानपुरमा हालै आठ जना प्रहरीको हत्या गरेर फरार रहेका विकास दुवेलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्ज आइपुगेको छ।

घटनापछि दुवे नेपालगञ्ज नाकातिर प्रवेश गरेको आशंका गर्दै भारतीय प्रहरीको एक टोली नेपालगञ्ज आएर उनलाई पक्राउ गर्न बाँके प्रहरीसँग सहयोग माग गरेको हो। बुधबार डीएसपीको नेतृत्वमा भारतीय प्रहरी नेपालगञ्ज आएका थिए।

धेरै मुद्दा लागेका दुवेलाई पक्राउ गर्न गएका आठ जना प्रहरीको हत्या गरिएको थियो। भारतीय प्रहरीले दुवेका बारेमा सूचना दिनेलाई दुई लाख ५० हजार रुपैया (भारु) पुरस्कार दिने घोषणा गरेको छ। खुल्ला सीमाको फाइदा उठाउदै नेपालगञ्ज आसपासमा आएर लुकेको हुन सक्ने आशंका गरेर भारतीय प्रहरी नेपालगञ्ज आइपुगेको हो।

बाँकेका एसपी ओम रानाले मस्ट वान्टेड विकास दुवे नाकातिर लुकेको हुन सक्ने भन्दै भारतीय प्रहरीले उसलाई पक्राउ गर्नमा सहयोग माग गरेको जानकारी दिए। कानपुर घटनालगत्तैदेखि बाँके प्रहरीले नाकामा कडाइ गरिरहेको छ। त्यसका बाबजुद भारतबाट डीएसपीको कमाण्डमा टोली आएर ‘स्मरण’ गराएको छ।

खुल्ला सीमानाका कारण नेपालमा अपराध गरेर भारतमा तथा भारतमा अपराध गरेर नेपालमा आएर अपराधीहरु लुक्ने गरेको पाइन्छ। नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले कतिपय अपराधीलाई पक्राउ गरेर एक अर्कालाई बुझाउने गर्दछन्। सीमावर्ती अधिकारीहरुका बीचमा नियमित हुने बैठकमा सीमा अपराधका बारेमा चर्चा हुने गर्दछ। बैठकमा मस्ट वान्टेडको फोटो साटासाट हुने गर्दछ।

भारतीय प्रहरीले मस्ट वान्टेड दुवे पनि नेपालगञ्ज नाकाबाट नेपाल प्रवेश गरेर नाका आसपासमा लुकेका आशंका गरेका छन्। लकडाउन भएपनि भारतबाट नेपाल आउने सकिने व्यवस्था गरिएको छ। भारतका विभिन्न शहरमा काम गर्न पुगेका नेपालीहरु दैनिक फर्किनै रहेका छन्। त्यही हुलमुलमा दुवे पनि नेपाल प्रवेश गरेका आशंका गरिएको हुन सक्छ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्