विजयी यात्रामा फर्कियो म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी विजयी यात्रामा फर्किएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ५–० ले पराजित गरेको हो । यसअघिको खेलमा सिटी अप्रत्याशित रुपमा साउथह्याम्पटनसँग पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेलमा बुधबार राति न्यूक्यासललाई पराजित गर्ने क्रममा सिटीले एक गोल उपहारमा पाएको हो ।

१० औँ मिनेटमा गाब्रिएल जिससले गोल गरी सिटीलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा रियाद महरेजले गोल गरी अग्रता दोब्बर पारे । ५८ औँ मिनेटमा न्यूक्यासलका फेर्नान्डेजले आत्मघाती गोल गरे ।

डेविड सिल्भाले ६५ औँ तथा रहीम स्ट्रर्लिङ्गले इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको सिटीको ३४ खेलबाट ६९ अंक भएको छ । पराजित भएको न्यूक्यासल ४३ अंकसहित १३ औँ स्थानमा छ ।

लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा शेफिल्ड युनाइटेडले वुल्भ्स तथा बर्नलीले वेष्ट ह्यामलाई समान १–० ले पराजित गरेका छन् ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्