विपक्षी खेलाडीलाई टोक्ने प्याट्रिकमाथि चार खेलको प्रतिबन्ध

विपक्षी टिमका खेलाडीलाई टोकेका इटालियन सिरी ए क्लब लाजिओका डिफेन्डर प्याट्रिकमाथि चार खेलको प्रतिबन्ध लागेको छ । यस्तै उनले १० हजार युरो जरिवाना तिर्नु पर्ने भएको छ ।

उनले ला सिरी ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चिलेका जुलिओ दोनातीको पाखुरामा टोकेका थिए । लगत्तै प्याट्रिकले सीधै रातो कार्ड पाएका थिए । सो खेलमा लाजिओ २–१ ले पराजित भएको थियो ।

२७ वर्षका प्याट्रिक सन् २०१५ मा बार्सिलोनाबाट लाजिओ गएका हुन् । दोस्रो स्थानको लाजिओका उनले जुलाई २० मा शीर्ष स्थानको युभेन्टससँग हुने खेल खुमाउने भएका छन् ।

प्याट्रिकले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो व्यवहारका लागि माफी चाहन्छु। मैले नियतबस गरेको होइन ’

दोनातीले माफी स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘उच्च तनावका बेला यस्ता कुरा हुन्छन् । तर कसैले गल्ती स्वीकार गरेर माफी माग्छ भने त्यो सकिन्छ र कुनै खराब मनोभाव रहँदैन ।’

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्