देशभर बदली, केही स्थानमा भारी वर्षा हुने, नदीमा बहाव बढ्ने

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभावका कारण सक्रिय हुँदा मौसम बदली भएको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

देशभरका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अबको केही दिन कनकाइ, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्