आठजना प्रहरीको हत्या गर्ने उत्तरप्रदेशका कुख्यात गुण्डा नाइके विकास दुबे पक्राउ

कुख्यात भारतीय गुण्डा नाइके विकास दुबे मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका छन्। उनले गत जुलाई ९ को राति उत्तर प्रदेशको कानपुरमा आठ जना प्रहरीको हत्या गरेका थिए। उक्त हत्याकाण्डपछि उनी फरार थिए।

एकदिन अघि मात्रै उनी फरिदावादको एक होटलमा देखिएका थिए। होटलको सीसीटीभी फुटेजमा देखिएपछि उनी फरिदावाद पुगेको खुलेको थियो। तर प्रहरी उक्त होटलमा पुग्दा उनी त्यहाँबाट भागिसकेका थिए।

दुबे उत्तर प्रदेश प्रहरीको इन्काउण्टरबाट जोगिन आत्मसमर्पण गर्ने सोचका साथ उज्जैनको महाकाल मन्दिर पुगेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन्।

उनले बिहीबार बिहान करिब ९ बजे मन्दिर दर्शनका लागि टिकट काटेका थिए। उनले टिकटमा आफ्नो नाम विकास दुबे नै लेखेको बताइएको छ।

मन्दिरका सुरक्षा गार्डले दुबेलाई चिनेपछि प्रहरीलाई खबर गरेका थिए। मध्यप्रदेश प्रहरीले दुबेलाई उत्तर प्रदेश प्रहरीलाई बुझाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुबे नेपालमा लुकेको दावी गर्दै खोजीका लागि भारतीय प्रहरी नेपालगञ्जसम्म आएकाे थियो।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्