रासायनिक मल माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

धनगढी– नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले किसानलाई आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउनु पर्ने मुख्य मागसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १५ बुदे ज्ञापन पत्र बुझाएको छ।

बर्षेबाली लगाउने समयमा रासायनिक मलखादको अभाव भएकाले तत्कालै आवश्यकता अनुसारको रासायनिक मल आयात गरिनुपर्ने, मलखाद बोकेका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिने गरेको भन्दै त्यस्ता कार्य बन्द गरिनुपर्ने माग कांग्रेसले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

साथै नेपाल सरकारले अख्तियारी दिएर निर्माण कार्य अघि बढेको कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डमा सरकारमै रहेको पार्टी नेकपाले अवरोध पुर्‍याएको भन्दै सो सडकमा देखिएको विवाद समाधान गरी काम सुचारु गर्ने वातावरण तयार गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर–१ का सभापति गोपीप्रसाद उपाध्याय नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउँदै नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य दिवान सिंह विष्टले रासायनिक मलखादमा विचौलिया हावी हुँदा किसानले महँगोमा मलखाद किन्नु परेको बताए। उनले सरकारी अनुदान प्राप्त रासायनिक मलखाद सहजरुपमा किसानले पाउने व्यवस्था गर्न मुख्यमन्त्री भट्टलाई आग्रह गरे।

यसै गरी बेलौरी क्षेत्रमा निर्माणाधिन हुलाकी सडकमा भारतीय पक्षले अवरोध पुर्‍याएको घटना स्मरण गराउँदै उनले सो समस्या तत्कालै समाधान गरी समयमै सडकको काम अगाडी बढाउनतर्फ ध्यान दिन पनि मुख्यमन्त्रीलाई आग्रह गरे।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको पहलमा यसपटक गत वर्षको भन्दा बढी मल आयात भएको बताए।

उनले किसानलाई मलको समस्या हुन नदिन केन्द्र सरकारसंग थप मल माग गरिएको बताए। उनले ज्ञापन पत्रमा उल्लेख भएका बुँदा सबै प्रदेश सरकारले कार्यान्वयन गर्न नसक्ने भन्दै केही बुँदामा संघीय सरकारसँग समन्वय गर्ने आश्वासन दिए।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्