स्वस्तिमाको चित्तदुखाइ ‘हिरोइन भएर त यति सहनु पर्छ’ भन्नु जतिको अपमानजनक अरु हुन सक्दैन

काठमाडौँ– अभिनेत्री स्वस्तिमा खड्काले नायिकामाथि हुने दुर्व्यवहार असह्य भएको बताएकी छन्। आफ्नो फेसबुक स्टाटसमा खड्काले दुर्व्यहार जस्तो संवेदनशील विषयलाई पनि ‘यस्तै हो’ भनेर हाँसेर प्रतिक्रिया दिएकोमा चित्त दुखाएकी छिन्।

केही दिन अगाडि सार्वजनिक भएको चलचित्रकर्मी तथा चलचित्र निर्माता युवराज लामाको एउटा अन्तर्वार्तामा उनले भुवन केसीको आनीबानीको बारेमा बताउँदै केही व्यवहारहरु सामान्य भएको प्रतिक्रिया दिएका छन्। लामाको यही अभिव्यक्तिको भिडियो क्लिप सहित खड्काले चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तिहरुबाट यस्तो किसिमको बयान अकल्पनीय रहेको बताएकी छन्। उनले कसैको इच्छाबिना कसैलाई छुनु, नजिक जानु दुर्व्यवहार भएको बताएकी छन्।

उनको स्टाटसमा भनिएको छ, ‘उहाँ जस्तो जिम्मेवार र वरिष्ठ व्यक्तित्वले रुढिवादी बयान दिनु हृदयविदारक छ। अनुमति बिना शरीर छुनु, चुम्बन गर्नु, अंगालो हाल्नु शारीरिक दुर्व्यवहार हो। र मेरो पेशा कुनै पनि उत्पिडनको लागि बाहाना हुन सक्दैन। फेरि पनि भन्छु, ‘कुनै किसिमको दुर्व्यवहार !’

कसैले ‘हिरोइन भएर त यति सहनु पर्छ’ भन्नु जतिको अपमानजनक भनाइ अरु हुन सक्दैन।’

केही दिन अगाडि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्र क्षेत्रमा काम गर्न शुरु गर्दाको समयमा आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन्। साम्राज्ञीको अभिव्यक्तिपछि अभिनेता तथा चलचित्र निर्माता भुवन केसीले फेसबुकमा ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि एकले अर्कोलाई जवाफ दिने शिलशिला बढ्दा बढ्दै कुरा चलचित्र कलाकार संघमा पुगेको छ। त्यही विषयमा अहिले चलचित्रकर्मीहरु आफ्नो विचारहरु राखिरहेका छन्।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्