विकाश दुवे जसले आफूलाई समाउन आएका डीएसपीसहित ८ प्रहरीलाई बाटोमै ‘सफाया’ गरे

नयाँ दिल्ली- एक साताअघि भारतीय प्रहरीको टोली चर्चित गुन्डा विकास दुवे आका पण्डितलाई समाउन उत्तर प्रदेशको कानपुर जिल्लास्थित डिकु गाउँ पुगेको थियो जतिबेला पण्डितका सहयोगीहरु घरका छतहरुमा हतियार तेर्स्याएर तयार भएर बसेका थिए।

३० जनाको प्रहरी टोली गाउँ प्रवेश लगत्तै चारैतिरबाट गोली बर्सन थाल्यो। डीएसपी देवेन्द्र मिश्रसहित ८ जना त्यहीँ ढले। प्रान्तीय राजधानी लखनउबाट एक सय ५० किलोमिटर दुरीमा रहेको डिकु गाउँमा भएको यो घटनापछि प्रहरीको २५ वटा विशेष टोली छरिएर दुबेलाई खोज्न थालेको थियो।

कानपुर प्रहरीका अनुसार ६० जनाभन्दा बढी पण्डितका सहयोगीहरु आक्रमणका लागि तयार थिए। प्रहरीले त्यस ठाउँबाट एके-४७, इन्साससहित थुप्रै हतियार बरामद गरेको थियो।

प्रहरी दुबेलाई समाउन जाँदैछन् भन्ने कुरा प्रहरीभित्रबाटै उनलाई पहिलै जानकारी पुगेको अनुसन्धानबाट खुलेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। कानपुर प्रशासनले त्यही बुलडोजर लगाएर दुबेको घर भत्काई दियो जुन प्रहरीलाई आक्रमण गर्न प्रयोग गरिएको थियो। उनै दुबे बिहीबार बिहान मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका छन्, मन्दीर नजिकैबाट।

उत्तर प्रदेशका तत्कालिन मन्त्री सन्तोष शुक्लाको सन् २००१ मा हत्या गरेको आरोप दुबेविरुद्ध लागेको थियो। त्यसमा उनलाई पक्राउ गरिएपनि पछि  सफाई दिइएको थियो।  त्यतिबेला उत्तर प्रदेशका मुख्यमन्त्री राजनाथ सिंह थिए। प्रहरी कार्यालयमा शुक्लाको हत्या भएको थियो।  ६० भन्दा बढी आपराधिक घटनामा मुछिएका पण्डित राजनीतिक दबाबमा संरक्षण पाइरहेका थिए।

उनीविरुद्ध सन् १९९० मा हत्याको आरोपमा मुद्धा दर्ता भएको थियो। त्यतिबेला कानपुरको खुंखार डनले परिचित पण्डित केही वर्षमै राजनीतिमा प्रवेश गरेका थिए। सुरुमा भारतीय जनता पार्टीमा प्रवेश गरेका पण्डित पछि बहुजन समाज पार्टीमा भित्रिए जसबाट उनी जिल्लाको निर्वाचनमा विजयी पनि भए। सन् १९९९ मा प्रदर्शनमा आएको चलचित्र अर्जुन पण्डितका पात्रको नाममा उनले आफ्नो उपनाम विकाश पण्डित राखेका थिए। पछि उनी पण्डित नामले पनि चिनिए।

पछिल्लो समय दुबेलाई समाएर दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रशासनले घोषणा पनि गरेको थियो।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्