सरकारको निर्णयपछि बस व्यवसायी महासंघको आपतकालीन बैठक, त्यसपछि निर्णय सार्वजनिक गर्ने

काठमाडौं- सरकारले छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने भएपछि नेपाल यातायात व्यवसायी महासंघको आपतकालिन बैठक बोलाइएको छ। महासंघका महासचिव सरोज सिटौलाले बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए।

‘हामीले पनि सञ्चार माध्यमहरुमार्फत जानकारी पायौँ। अब के गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकल‍े निर्णय गर्ने छ’, महासचिव सिटौलाले भने।

सरकारका प्रवक्ता युवराज खतिवडाले साप्ताहिक पत्रकार सम्मेलनमार्फत बिहीबार उपत्यकाको हकमा उपत्यकाभित्र मात्र र बाहिरी जिल्लाको हकमा जिल्लाभरिमार्फत सार्वजनिक सवारी साधन खुला गरिएको जानकारी दिएका छन्।

सार्वजनिक यातायातमा  सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउने सरकारले जनाएको छ। एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ। बसमा आधा मात्रै यात्रु चढाउन्जेल व्यवसायीले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्। सामान्य अवस्थामा यातायात व्यवसायीले सिट क्षमताको दोब्बर यात्रु बोकेर चलाउने गरेका थिए।

यातायात व्यवसायी महासंघले  यातायात मजदुरको स्वास्थ्य विमा हुनुपर्ने, बैंकको ब्याजदर घटाउनुपर्ने र किस्ताको अवधि बढाउनुपर्ने, सहुलियतपुर्ण पुनर्कर्जा प्राप्त हुनुपर्नेलगायत मागहरु राख्दै आएको छ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्