अस्ट्रेलियामा चारजना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

सिड्नी– अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय क्षेत्रमा वसोवास गर्दै आइरहेका चारजना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण देखिएको छ।

शुरूमा एकजना विद्यार्थीमा संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य पाँच जनामा समेत कोरोना परीक्षण गरिएको थियो। तत्पश्चात् अन्य तीन जनाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

‘नेप्लिज एसोसिएसन अफ भिक्टोरिया’का अध्यक्ष तारा गैरेले कोरोना संक्रमित विद्यार्थीहरू आफ्नो सम्पर्कमा रहेको र उनीहरूलाई चाहिने सहयोग गर्न आफूहरू तत्पर रहेको बताए।

अध्यक्ष गैरेले भने, ‘संक्रमित विद्यार्थीहरू घरमै ‘सेल्फ आइसोलेसन’मा बसिरहेका छन्। उनीहरूको अवस्था सामान्य छ। मेलबर्नमा कोरोना संक्रमणको बढ्दो तथ्याङ्कलाई मध्यनजर गर्दै सबै भिक्टोरियावासी नेपाली समुदाय शतर्क रहँदै दुःखमा हातेमालो गर्नु झन् अत्यावश्यक भएकाे छ।’

हालसम्म एनआरएनए अस्ट्रेलियाले भिक्टोरिया राज्यमा करिब एक हजारभन्दा बढी विद्यार्थीलाई राहत बाँडिसकेको बताउँदै कोरोना संक्रमित विद्यार्थीलाई चाहिएको खण्डमा मानसिक तथा अन्य आवश्यक सहयोग गरिने एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिए।

उनले भने, ‘भिक्टोरिया राज्यमा कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्येनजर गर्दै भिक्टोरिया राज्यको कन्सुलर कार्यालय, न्याभ लगायतका अन्य सामुदायिक संघसस्थासँग सहकार्य गर्दै आगामी दिनमा नेपाली विद्यार्थीलाई आवश्यक राहत उपलब्ध गराउन पहल गरिरहेका छौं। यसका लागि हामी छिट्टै छलफल गरेर निष्कर्षमा पुग्नेछौं।’

यसअघि अस्ट्रेलियामा ११ जना नेपालीलाई कोरोना संक्रमण देखिएकोमा सबैजना निको भइसकेका छन्। यतिवेला भिक्टोरिया राज्यको ग्लेनरोय लगायतका क्षेत्र लकडाउनमा हुनुका साथै कोरोना संक्रमणका दृष्टिले ‘रेडजोन’ मा पर्दछ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्