भारतीय मिडियाको निम्नस्तरको प्रचारको सरकारले कानुनी बाटो खोज्ने

काठमाडौँ – नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय सञ्चार माध्यमले प्रकाशन प्रशारण गरेका आधारहीन निम्न स्तरका प्रचारप्रति सरकारले आपत्ति जनाएको छ।

नेपालले लिम्पियाधुरासहितको भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध काल्पिक सामाग्री बनाएर खनिएका भारतीय सञ्चार माध्यमले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चीनसँगको सम्बन्धबारे आपत्ति जनक विषय वस्तु पस्किरहेका छन्।

त्यसप्रति आपत्ति जनाउँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले स्वदेशी वा विदेश सबै सञ्चार माध्यमले सत्यमा आधारित हुुनुपर्ने बताउँदै सरकारले राजनीतिक कानुनी उपचार खोज्ने बताएका हुन्।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘यसको समाधानका लागि कूटनीतिक माध्यमको पनि परिचालन गर्नु पर्ने हुन्छ। हाम्रो राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच र्पुयाउने समाचारहरू सम्प्रेषण नगर्न हामी अनुरोध पनि गर्दछौं। राजनीतिक र कानूनी दुइटै उपचार खोज्छौं।’

बिहीबार दिउँसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘ चाहे स्वदेशी हुन् चाहे विदेशी सञ्चार माध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको चाहना हो। दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादा र प्रतिष्ठा घटाउने गरी समाचार र विश्लेषणको सरकारले भर्त्सना गर्छ।’

उनले सरकारको चाहना मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया अनुशासनमा बसोस् र उसले सही समाचारहरू मात्रै सम्प्रेषण गरोस् भन्ने हुने बताए।

पछिल्ला दिनमा नेपालका विषयस्तुलाई लिएर भारतीय सञ्चार माध्यम हेरि नसक्नुभएको भन्दै नेपालमा चौतर्फी विरोध सुरु भएको छ। टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको टाउको जनावरसँग जोडेर आपत्तिजनक स्केच प्रकाशित गरेको छ।

त्यस्तै मंगलबार बिहार झारखण्ड टेलिभिजनले त प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत यान्छीसँग प्रेम जालमा परेको भन्दै भिडियो रिपोर्ट प्रशारण गरेको छ।

त्यसप्रति प्रधानमन्त्री ओलीका सचिवालयमा रहेका व्यक्ति, विभिन्न दलका नेता एवं पत्रकार महासंघले पनि आपत्ति जनाएको छ। बिहीबार बिहान नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमलाई बकबास बन्द गर्न आग्रह गरेका थिए।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्