अफवाह फैलाए दर्ता भएकै अनलाइन पनि ठाडै बन्द गरिने

काठमाडौँ- नेपाल प्रेस काउन्सिलले अफवाह र भ्रमपूर्ण समाचार दिने अनलाइनलाई ठाडै बन्द गर्ने भएको छ। प्रेस काउन्सिलले बिहीबार सूचना विभागमा दर्ता भएको टिभिहिमालयनदैनिक डटकम बन्द गरेको छ।

‘यसअघि हामी दर्ता भएका अनलाइनको हकमा स्पष्टीकरण सोध्ने र अन्य कारबाही गर्ने गर्थ्यौँ। अब त्यसले काम गर्ने देखिएन। बन्द गर्नुको विकल्प रहेन। अफवाह फैलाउने अनलाइनलाई अब ठाडै बन्द गरिन्छ’, काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले देशसन्चारसँग भने।

उनले अनलाइन सञ्चालन निर्देशिका २०७३ का आधारमा यो अनलाइन बन्द गरिएको बताए। अश्लील, अपुष्ट र भ्रामक समाचार प्रकाशित गर्ने अनलाइनलाई बन्द गर्ने व्यवस्था भएको उनले बताए।

काउन्सिलले बिहीबार ‘मिडियाएनपीओ’ र कुन्तिपुर.कम पनि बन्द गरेको छ। २४अनलाइनखबर डटकम, बुद्धन्युज डटकम, डेली नेपाल डटकम, आजभोलि डटकम, कुसेन्युज डटकमलाई पनि बन्द गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

आजभोली डटकमले ओलीले संसद विघटन गर्दै भनेर समाचार छापेको थियो भने कुसेन्युज डटकमले पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ र महासचिवमा बास्कोटा भनेर समाचार छापेको थियो।

भ्युअर्स बढाउने नाममा ती अनलाइनले अफवाह फैलाएको श्रेष्ठले बताएका छन्। हालसम्म सयभन्दा बढी अनलाइन बन्द गरिएको काउन्सिलले जनाएको छ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू