सडक प्रदर्शन र सामाजिक सञ्जालका आरोप प्रत्यारोप रोक्न नेकपा नेताहरुको अध्यक्षद्वयलाई दबाब

नेकपा स्थायी समिति बैठक।

काठमाडौँ – नेकपाका दोस्रो तहका नेताहरुले सडक र सामाजिक सञ्जालका प्रदर्शन र आरोप प्रत्यारोपहरुलाई रोक्न दुवै अध्यक्षहरुलाई दबाब दिने निर्णय गरेका छन्।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिंहदरबारमा बसेका नेकपाका दोस्रा तहका नेताहरुको छलफलले पार्टी एकता जसरी पनि अघि बढाउने र एकताको यो युवा अभियानमा अन्य दोस्रो तहका नेताहरु थप्दै जाने सहमति पनि बिहीबार गरेका छन्।

यसअघि असार १९ गते मन्त्री निवास पुल्चोकमा भेला भएर पार्टी एकताबारे छलफल गरेर नेताहरुले कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बसेर छलफल गरेका थिए।

छलफलमा सहभागी नेकपा नेता टोपबहादुर रायमाझीका अनुसार दुवै शीर्ष नेताहरुलाई आआफ्नो पक्षका प्रचारबाजी र प्रदर्शन रोक्न पहल गर्नका लागि दबाब दिने निर्णय भएको हो।

कृषिमन्त्री समेत रहेका घनश्याम भुसालको संयोजनमा भएको छलफलमा नेताहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, जनार्दन शर्मा, पम्झा भुसाल, बर्षमान पुन, शक्तिबहादुर बस्नेत, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, मणि थापा, शंकर पोखरेल र रिमाल सहभागी थिए।

दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब दिएपछि नेकपाभित्रको विवाद फुटको अवस्थासम्म पुगेको छ।

बैठकपछि देशसञ्चारसँग कुरा गर्दै कृषिमन्त्री तथा नेकपा नेता भुसालले पार्टी एकता जोगाउनका लागि दोस्रो तहका नेताहरु सक्रिय भएको प्रतिक्रिया दिए। ‘पार्टी एकता जसरी पनि जोगाउँछौँ,’ भुसालले भने।

दोस्रो तहका नेताहरु आफ्नो छलफलबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराउन बिहीबार साँझ नै बालुवाटार पुगेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि बिहीबार नै भेटेर यसबारे जानकारी गराउने तयारीमा उनीहरु छन्।

नेकपाको पटकपटक स्थगित हुँदै आएको स्थायी समिति बैठक शुक्रबारका लागि तय भएको  छ। यद्यपि मन्त्री भुसालले शुक्रबारका लागि तय भएको स्थायी समिति स्थगित गरेर नेताहरुले थप समय लिएरै भए पनि पार्टी एकता कायम राख्नुपर्ने बताए। ‘अध्यक्षज्यूहरुले चाहनुहुन्छ भने थप समय लिनुहोस् तर पार्टी एकता कायम नै रहनुपर्छ,’ मन्त्री भुसालले भने।

 

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्