अस्ट्रेलियामा एक नेपाली विद्यार्थी ठगी मुद्दामा जेल चलान, जेलपछि डिपोर्ट हुने

सिड्नी – अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित एक अदालतले बिहीबार ठगी मुद्दाका आरोपित एक नेपाली विद्यार्थीलाई १८ महिनाको अधिकतम कारावास सजाय सुनाएको छ ।

कारावास सकिनासाथ उनी डिपोर्ट हुने सम्भावना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । २० वर्षीय ती नेपाली विद्यार्थी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययन गर्नका लागि सिड्नी आएका थिए ।

न्यूसाउथवेल्स प्रहरीले ती नेपाली विद्यार्थीलाई गत मार्च ३ तारिखमा ठगी आरोपमा पक्राउ गरेको थियो । पक्राउपश्चात् उनलाई छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय बरउड अदालतमा पेश गरेको थियो । अदालतमा उनले ती सबै आरोपहरूमा आफू दोषी रहेको स्वीकार गरेका थिए ।

अनुसन्धानपश्चात् ती नेपालीले भारतबाट संचालित गिरोहको सञ्जालसँग मिलेर अस्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ठगहरूको गिरोहले मानिसहरूलाई बैंकको एजेन्ट बनेर कुरा गर्दथे । कुराकानीमा उनीहरूका क्रेडिटकार्ड कसैले दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै मर्मतका लागि ती नेपाली युवा घरमा जाने गर्दथे ।

तत्पश्चात् उनले कार्ड मर्मत गर्ने बहानामा त्यसमा भएको ब्यालेन्स आफ्नो बैंक खातामा पठाउने गर्दथे । यसरी ठगी गरेको पैसाको केही हिस्सा आफूले राखेर बाँकी भारतमा रहेका गिरोहलाई पठाउने गरेको अदालतको बयानमा उल्लेख गरिएको छ ।

समाचारका अनुसार यी नेपाली विद्यार्थीले चारजना अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए ।

यसअघि, सिड्नीमै दुई नेपाली विद्यार्थीहरू यस्तै प्रकृतिको घटनामा संलग्न भएको आरोपमा समातिएका छन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्