विकास दुबे मारिएपछि भारतमा कसले के भने?

कुख्यात गुण्डा विकास दुबेको प्रहरी कारबाहीमा भएको मृत्युबारे भारतका नेताहरुले आशंका जताएका छन् । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले विकास दुबेको मृत्युबारे एक ट्वीट गरेका छन् ।

जसमा लेखिएको छ, ‘वास्तवमा यो कार पल्टेको होइन, वास्तविकता खुले सरकार पल्टने सम्भावनाबाट जोगाइएको हो।’

उत्तर प्रदेश प्रहरीले कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको दाबी गरेको छ । उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको जनाएको छ । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ ।

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले सडकमार्ग हुँदै कानपुर लगिरहेको थियो । कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।

विकास दुबेकाे मृत्युबारे उत्तर प्रदेश प्रहरीले गरेको दाबीमाथि फरक फरक टिप्पणी आएका छन् । कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीले ट्वीट गरेकी छन्, ‘अपराधीको अन्त्य भयो, अपराध र उसलाई संरक्षण दिनेहरुको के हुन्छ?’

शिवसेना नेता प्रियंका चतुर्वेदीले लेखेकी छन्, ‘न रह्यो बाँस न बज्नेछ बाँसुरी ।’

कांग्रेसका दिग्विजय सिंहले ट्वीट गरेका छन् ‘यो कुरा पत्ता लगाउन आवश्यक छ कि विकास दुबेले मध्यप्रदेशको उज्जैन महाकाल मन्दिरलाई आत्मसमर्पण गर्नका लागि किन रोजे ? मध्यप्रदेशका कुन प्रभावशाली व्यक्तिको भरोसमा उनी उत्तर प्रदेश प्रहरीको इनकाउन्टरबाट बच्न यहाँ आएका थिए ?’

जम्मुकश्मीर नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाहले ट्वीट गरेका छन्, ‘मरिसकेका मानिस कुनै कहानी सुनाउँदैनन् ।’

गीतकार स्वानंद किरकिरेले पनि यो घटनामा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘कुनै लेखकले यस्तो कहानी लेखेमा मानिसहरु भन्नेछन् ठूलो फिल्म छ ।’

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले पनि विकास देबे मारिएको घटनाको निष्पक्ष जाँचको माग गरेकी छन् । उनले यो घटनाको सुप्रीम कोर्टको निगरानीमा निष्पक्ष जाँच हुनुपर्ने बताएकी हुन् ।

कानपुरमा शहीद भएका प्रहरीका परिवारलाई न्याय दिलाउनका लागि पनि यो घटनाको उच्च स्तरीय छानबिन हुनुपर्ने उनको भनाई छ ।

साथै उनले अपराधिक समूहसँग साँठगाठ गर्ने प्रहरीलाई समेत कडा कारबाहीको माग गरेकी छन् । यति गर्न सकिए मात्रै उत्तरप्रदेश अपराधबाट मुक्त हुन सक्ने मायावतीको विश्वास छ ।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्