चौतर्फी आलोचनापछि ‘जी न्यूज’का प्रधानसम्पादक सुधिर चौधरीले हटाए नेपालबारे गरेको ट्वीट

काठमाडौँ– भारतीय न्यूज च्यानल ‘जी न्यूज’का प्रधानसम्पादक सुधिर चौधरीले नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि नेपालबारे गरेको विवादास्पद ट्वीट डिलिट गरेका छन्।

नेपालको राष्ट्रियतामाथि आँच आउने गरी नेपालबारे तथ्यहीन सामग्रीहरु प्रसारण गरेको तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा अनर्गल प्रचारवाजी गरेको भन्दै विदेशी च्यान वितरण मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबारदेखि दूरदर्शनबाहेक सबै भारतीय न्यूज च्यानल बन्द गरेका थिए।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिए लगत्तै चौधरीले ट्वीटरमा लेखेका थिए, ‘नेपालले भारतका न्यूज च्यानल बन्द गरेको छ। यो देश त भारतका न्यूज एंकरहरुसँग नै डरायो। सेनाको आवश्यकता नै परेन।’

चौधरीको ट्वीटको चौतर्फी आलोचना भएपछि उनले आफ्नो उक्त ट्वीट हटाएका छन्।

‘मेरो यस ट्वीटबाट नेपालका हाम्रो दर्शकलाई चोट पुगेको छ। यहाँ भारतमा पनि धैरै जनाले मलाई मेरो उक्त विचार ठिक नभएको बताए। मैले यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ। यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुर्‍याउनका लागि होइन। यसकारण दुःख व्यक्त गर्दै यस ट्वीटलाई हटाउँदै छु’, चौधरीले ट्वीटरमा लेखेका छन्।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय सञ्चारमाध्यमहरु नेपालले चीनको इसारामा उक्त कदम उठाएको भन्दै नेपालविरुद्ध तथ्यहीन प्रचारवाजीमा उत्रिएका छन्।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्