भेडाहा खोलाको बाढीले वीरगञ्जको ग्रामिण क्षेत्रमा सयौं विघा जमिन जलमग्न

वीरगञ्ज महानगरको वडा नम्बर ३० लालपर्सामा भेडाहा नदीको बाढी।

वीरगञ्ज– दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज महानगरपालिकाको ग्रामीण क्षेत्रका बस्तीमा बाढीको जोखिम बढेको छ।

वर्षाका कारण महानगरको ग्रामीण क्षेत्रमा पर्ने महानगरको वडा नम्बर २८ बगही, वडा नम्बर २९ बस्डिलवा, वडा नम्बर ३० लालपर्सा र वडा नम्बर ३१ बेल्वा टोलमा रहेको मानव बस्तीमा बाढीको जोखिम बढेको हो।

उक्त वडाहरुको अधिकांश टोलहरुमा भेडाहा खोलामा आएको बाढीको गाउँ नजिकै पुगिसकेको छ। भेडाहा खोलामा बाढी आएर त्यस क्षेत्रको सयौं बिगाहा क्षेत्रफलमा रहेको धानबाली डुबानमा परेको छ।

गाउँ नजिकैसम्म बाढी आएपछि स्थानीयबासीहरु त्रसित बनेका छन्। गाउँ नजिकै रहेको आफ्नो पाँच कठ्ठा खेतमा लगाइएको धान बालीमा बाढी पसेको वडा नम्बर ३० लालापर्साका स्थानीय महेन्द्र महतोले बताए।

उनले स्थानीयबासीहरुको सयौं विघामा रोपिएको धानबाली डुबानमा पारेको बताए। ‘भेडाहा खोलाको पानी हाम्रो खेतामा पस्यो जसले बाली पुरै डुबानमा पारेको छ’, महतोले भने, ‘अहिले त गाउँको चोकसम्मै पानी आइपुगेको छ। अब बाढी बढ्यो भने गाउँमै पस्छ।’

भेडाहा खोलाले महानगरको ग्रामीण क्षेत्रमा वर्षौदेखि करोडौँको बालीनाली नष्ट गर्दै आएको छ।

२०७४ सालमा भेडाहा खोलाको बाढी लालपर्सा, प्रसोतीपुर, बेल्वा, मुसैलस्बगही लगायतका बस्तीहरुमा समेत पवेश गरेको थियो। जसका कारण बालीनाली नष्ट हुँदै आएपनि त्यस बेला यहाँका स्थानीयबासीहरु भने विस्थापित हुन पुगेका थिए।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्