प्रदेश-१मा घट्दै कोरोना संक्रमण, ४ जना संक्रमित,१० डिस्चार्ज

मोरङ-प्रदेश-१ को ईलाम र पाँचथर पहाडी जिल्लामा गरि ४ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार पाँचथरमा दुइ पुरुष र ईलामको रोंग गाँउपालिकामा १ जना पुरुषको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको हो।

त्यसैगरि प्रदेश २ को महोत्तरीका १ पुरुषमा संक्रमण देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिढ १९ अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामबाट कोभिड पुष्टि भएका ती पुरुषलाई शुक्रबार नै धरानस्थित कोभिड १९ अस्पतालमा भर्ना गरिएको हो।

यससंगै प्रदेश १ मा १ सय १७ महिला र ५ सय ९१ पुरुष गरि कुल ७ सय ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। जसमा १ सय ६३ जना विभिन्न आइसोलेसन केन्द्रमा उपचाररत रहेकाछन्। त्यसैगरि प्रदेशमा हालसम्म ७० महिला र ४ सय ७२ पुरुष गरि कुल ५ सय ४२ जना संक्रमितले कोभिड १९ लाई जितेर घर फर्र्किएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा २९ हजार ७ सय १४ जनाको पीसीआर नमूना परिक्षण गरिएको छ। यसैबीच शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालबाट १० जना संक्रमित सफल उपचारपछि घर फर्किएका छन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापा ७ महिला र ३ जना पुरुषको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो । डा. सापकोटाका अनुसार कोरोनालाई जितेर घर फर्कनेमा ४ वर्षका बालकदेखि ४७ वर्ष उमेरसम्मका ब्यक्ती रहेका छन्।

हाल ३५ जना संक्रमितको धरानको कोभिड १९ अस्पतालमा उपचार भइरहेको भएपनि गएको २४ घण्टामा नयाँ संक्रमित भर्ना भएका छैनन्। अस्पतालबाट अहिलेसम्म २ सय २७ जना उपचारपछि डिस्चार्ज भएको जनाएका डा. सापकोटाले हालसम्म प्रतिष्ठानको ल्याबमा ११ हजार १ सय ६४ वटा पीसीआर परिक्षण भइसकेको छ।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू