पर्वतको गाउँबाट कोलम्बियाको जंगल हुँदै अमेरिकाको यात्रा

सपना पछ्याउँदै छ महिनाको यात्रापछि अमेरिका पुगेका युवकको कथा

बंगलादेशमा फैज अहमद जेवलले पुएन्तेस्थित स्कुलको भित्तामा लेखेको सन्देश। दक्षिण अमेरिकाको बाटो हुँदे अमेरिका वा क्यानडा छिर्ने अवैध यात्रीहरुका लागि यस स्कुल बिश्रामस्थल बन्ने गरेको छ। तस्बिर: जोस गुएर्निजो

पुएन्ते अमेरिकाको यो स्कुलको पुरानो भवनले राम्रा दिनहरु पनि देखेको छ । कुनै समय कोलम्बियाको सानो गाउँका बालबालिका यहाँ सिक्न आउँथे, अहिले यो परित्यक्त भग्नावशेषभन्दा पनि बढीजस्तो लाग्छ ।

यसका भित्री भित्ताहरुले भने फरक कथा भन्छन् ।

सन् २०१५ मा यो पूर्व कक्षाकोठासम्म पुगेका एक पत्रकारले भित्ताहरुमा हिन्दी, अंग्रेजी, नेपाली, बंगाली र अरबीमा लेखिएका सन्देशहरु देखे, जसलाई उत्तर अमेरिकाको लामो यात्राको क्रममा आश्रय लिएका आप्रवासीहरुले लेखेका थिए ।

केहीले जीर्ण भित्ताहरुमा आफ्नो नाम लेखेका थिएः ‘अलहामी अब्बास, मामोबी’, ‘बिलाल वाराख, पाकिस्तान’, ‘जाकिर गानिओउ, बेनिनोइस।’ अरुले सहयोगका लागि गुहार लगाएका थिए, लेखेका थिए, ‘हे ईश्वर (अल्लाह) हामीलाई दिशा प्रदान गर।’

अमेरिकाको पुएन्तेस्थित पुरानो स्कुलका भित्तामा लेखिएका सन्देश। तस्बिर: जोस गुएर्निजो

बंगलादेशको कोमिलाका एक व्यक्ति, जसले आफूलाई फैज अल्मेद जेवेलका रुपमा परिचित गराएका छन्, उनले आफूपछि आउन सक्ने आप्रवासीहरुका लागि चेतावनी पनि छोडेका छन् ।

‘हाम्रो गन्तव्य अमेरिका हो’, उनले लेखेका छन्, ‘टुटेफुटेको’ (बान्की नमिलेको) अंग्रेजीमा। ‘त्यो समय जब मैले यो निर्णय लिएँ, मलाई थाहा थिएन यो जोखिमयुक्त मार्ग हो। यो मेरा दाजुभाइलाई विशेष आग्रह होः दलालहरुलाई विश्वास नगर्नुस्। उनीहरु धोकेबाज हुन्। उनीहरु झुट हुन्। तीव्र गतिको डुंगामा जंगलै जंगल हुँदै जानु वास्तवमै डरलाग्दो छ। अन्तिममा हाम्रो सुरक्षित यात्राका लागि प्रार्थना गर्नुहोला। हामी पनि तपाईँहरुका लागि प्रार्थना गर्छौँ।’

पानामासँगको सीमाबाट मात्रै २५ किलोमिटरको दूरीमा रहेको पुएन्ते अमेरिका, अवैध रुपमा अमेरिका या क्यानडा जान चाहने आप्रवासीको विश्राम स्थल। यसपछि सुरु हुन्छ कयौँ दिन लाग्ने डरलाग्दो जंगलको बाटो, कहिले डुंगा त कहिले पैदल हुँदै दारिएन गापका धेरै समुदाय पार गर्नु पर्छ पानामाको याभिसा नपुग्दासम्म। त्यसपछि उत्तरतिरको यात्रा निरन्तर हुन्छ।

धेरै आप्रवासीका लागि यो ओडिसीको एक सानो पाइला जस्तै हो, जसले अफ्रिका वा एसियाबाट हजारौँ किलोमिटर पार गरेका छन्। गएको वर्ष, एक नेपाली पत्रकारले पुएन्ते अमेरिकाको त्यो पुरानो स्कूल भवनको भित्तामा आफ्नो नाम लेखेका व्यक्तिलाई पछ्याए उनले ६ महिना लगाएर तय गरेको नेपालबाट अमेरिकासम्मको यात्राबारे थप जान्नका लागि।

उनलाई धेरै पटक सम्पर्क गरियो, तर जवाफ आएन, त्यसैलेले हामीले उनलाई एक छद्म नाम दिएका छौँ। तर उनका साथीहरु, परिवारका सदस्य र विज्ञसँग गरिएका अन्तर्वार्ताहरुले उनको यात्राको झलक दिनेछ र उनीजस्तै धेरैको, जो राम्रो जीवनको खोजीमा हिँडेका छन्।

पर्वतको कुस्मा बजार। तस्बिर: दीपक अधिकारी

‘जीवन र मृत्युको सवाल’

रमेशले सन् २०१४ को अक्टोबरमा कुश्मास्थित घर छोडे, गण्डकी प्रदेशको पर्वतको पहाडी गाउँ विरानो भयो ।

राम्रा अवसरहरुको खोजीमा उनले थालेको यो दोस्रो यात्रा थियो । उनी आप्रवासी कामदारका रुपमा दक्षिण कोरियामा ६ वर्ष बिताएर सन् २०११ मा घर फर्किए र विवाह गरे । बुवाले दिएको कुश्माको घडेरीमा घर पनि बनाए, बुवाआमा नजिकै बसोबास होस् भनेर । तर उनको विवाह अचानक टुट्यो र उनका पाइताला चिलाउन थाले फेरि ।

‘एक एक गरेर उसका साथीहरु अमेरिकाका लागि हिँडे । उनीहरु मनग्य पैसासहित फर्किए । मलाई लाग्छ ऊ त्यही देखेर जान चाह्यो’, छोराले छोड्नुअघि बनाएको घरको सिँढीमा बसेकी आमा मिठूले स्मरण गरिन् ।

‘मेरा सपना ठूला छन् भन्थ्यो ऊ र ठूलो देश जान चाहन्थ्यो’, ६९ वर्षकी आमाले भनिन् । रमेशको प्रण सम्झिइन् मिठूले, ‘चाहे जेसुकै होस्, म अमेरिका पुग्न चाहन्छु ।’

यात्राका लागि चाहिने रकम जोहो गर्न उनी स्थानीय साहुको सम्पर्कमा गए, ती साहुले १८ प्रतिशत ब्याजमा पैसा दिए । यो यात्राका लागि उनलाई ५० लाख नेपाली रुपैयाँ लाग्यो, जुन उनी र उनको परिवारका लागि ऋण थियो ।

तर उनका काकाका छोरा (दाइ) सूर्यले परिवारका सदस्यलाई राजी गरे कि रकम धेरै लागे पनि अमेरिकामा सम्भावना अधिक छ भनेर ।

‘उनको खर्च धेरै थियो, तर आम्दानीको स्रोत थिएन । त्यसैले उसले अमेरिका जाने निर्णय गर्‍यो’, उनले भने, ‘मलाई लाग्छ अझै पनि साहूलाई १२ लाख रुपैयाँ तिर्न बाँकी नै छ ।’

अमेरिकातर्फ मानव तस्करीको केन्द्र बन्दै गएको पर्वतको कुस्मा बजार। तस्बिर: दीपक अधिकारी

रमेश एक्ला पात्र होइनन् । एक स्थानीय सामाजिक कार्यकर्ता, (जसले आफ्नो नाम खुलाउन चाहेनन् जागिर जाने जोखिमबाट बच्नका लागि) उनका अनुसार सन् २००० यता कुश्माका झण्डै १० हजार जनसंख्या मध्ये करिब ५०० मानिस अमेरिका गएका छन् । छिमेकको एक गाउँबाट ८ परिवारका २७ पुरुषले अमेरिकाका लागि जोखिमपूर्ण यात्रा तय गरेका छन्, जसलाई स्थानीय भाषामा ‘तल्लो बाटो’ का रुपमा चिनिन्छ ।

ती सामाजिक कार्यकर्ताका अनुसार धेरै स्थानीय तस्करमा परिणत भए, जसले रमेश जस्तालाई काठमाडौँ र भारतको दिल्लीमा रहेका मानवतस्कर समूहका नाइकेसम्म पुर्‍याउँछन्।

नेपाल प्रहरीको बेचबिखन नियन्त्र ब्यूरोका प्रमुख ईश्वरबाबु कार्कीका अनुसार पर्वत जिल्ला नेपालको मध्यपश्चिमका ती दर्जन जिल्लामध्ये एक हो जुन अमेरिकासम्म हुने मानव तस्करीको केन्द्रका रुपमा विकास भएको छ ।

‘८ देखि १० मानवतस्कर यहाँ सक्रिय छन्, हरेकले केही दर्जनदेखि झण्डै २०० आप्रवासीलाई अवैध रुपमा अमेरिकाको यात्रा गराएका छन्’, ती सामाजिक कार्यकर्ताले भने ।

मानवतस्करीको व्यापार गुप्त रहेको बताउँदै उनले भने, ‘पहिलो कुरा त अति नजिककाहरुको समुदाय हो, दोस्रो कुरा तस्करले नै आफ्नो परिवारका एक सदस्यलाई अमेरिका पठाएका हुन सक्छन् । सोही कारण सबै कुरा अति गोप्य रहन्छ व्यापक भएर पनि ।’

काठमाडौँमा रहेका कानून कार्यान्वयन निकायका अधिकारीहरुले जनवरीमा झण्डै ५ हजार नेपाली ल्याटिन अमेरिका हुँदै अमेरिकाको यात्रामा हुन सक्ने बताए । उनीहरु बेरोजगारी, गरिबी र देशमा बढेको भ्रष्टाचारका कारण विस्थापित भएका हुन् ।

हामीले नेपालमा अहिले सामना गरिरहेको गम्भीर मध्येको एक अपराध हो मानव तस्करी । यो अति गम्भीर बनेको छ कि कुनै समय केही अन्तर्राष्ट्रिय एअरलाइन्सहरुले आफ्ना विमानमा नेपालीहरुलाई चढाउन चाहँदैनन्’, नेपाल प्रहरीका डिएसपी नरहरि रेग्मीले भने,  ‘मानव तस्करीका कारण हामीले ठूलो मूल्य चुकाउनु परेको छ ।’

जङ्गलको यात्रा 

हामीले रमेश भनेर उल्लेख गरेको व्यक्ति  मार्च,२०१५ सम्म पुएन्ते अमेरिकास्थित पुरानो विद्यालय भवनमा पुगिसकेका थिए। उनका साथीले ओसिसिआरपीलाई बताएअनुसार रमेशले त्यहाँसम्म पुग्न भारतबाट थाइल्यान्ड र त्यसपछि रुस र स्पेन हुँदै ब्राजिलको उडान भरेका थिए। ब्राजिलबाट स्थलमार्ग हुँदै बोलिभिया, पेरु, इक्वेडर र त्यसपछि कोलम्बिया पुगेका थिए।

रमेशले नेपालदेखि अमेरिकासम्म यात्रा गरेको रुट। स्रोत: ओसिसिआरपी

रमेशले आफ्नो अनुभव साट्न चाहेनन्। तर कुस्मास्थित उनको साथी र छिमेकीसमेत रहेको नविन गुरुङ, जसले सन् २०१८ मा यही मार्ग भएर यात्रा गरेका थिए, उनले कोलम्बिया र पानामाबीच रहेको जङ्गलको यात्रा समग्र यात्राकै सबैभन्दा कठिनमध्ये एक रहेको बताए। उनी र अन्य ८ जना साथीहरुलाई एक सय ६० किलोमिटरको उक्त बाटो पार गर्न हिँडेर ८ दिन लागेको थियो। बाटोमा उनले एउटा शव अनि खुट्टा भाँचिएका एक भारतीय अलपत्र परेको देखे। उनी आफैँ सशस्त्र समूहद्धारा लुटिए, आफुसँग भएको सबै कपडा र जुत्ता बुझाउन बाध्य भए।

‘जंगलको को बाटो यति ओसिलो थियो कि रबरका जुत्ता लगाएर हिँड्न सकिँदैन थियो। यो निकै घना पनि थियो। हामीले पुरा एक साता आकाश देख्न सकेनौँ’, उनले भने, ‘यदि विरामी पर्नु भयो र औषधी छैन भने साथीहरु तपाईँलाई एक्लै छाडेर अगाडि बढ्छन्। हामी मृत्यु, डकैती र पक्राउ पर्न सक्नेदेखि भयभीत थियौँ। बिस्कुट, चकलेट र पानीले हरेक छाक टार्‍यौँ।’

उनका साथीका अनुसार उक्त जंगलको यात्रा पार गरेपछि रमेश कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगे। मध्य अमेरिकामा लुटिए। मेक्सिकोमा पक्राउ परे। बिरामी पनि भए। अर्को पाँच लाख रुपैयाँ तिरेपछि अन्तत: उनलाई अमेरिकाको सिमासम्म पुर्‍याइयो। त्यतिबेला उनले नेपाल छाडेको ६ महिना भइसकेको थियो।

अमेरिका आइपुगेको पहिलो वर्ष उनले बाल्टीमोरस्थित डिपार्टमेन्ट स्टोरमा काम गरे जहाँ उनकी आमाले बताएअनुसार रमेश केहीपटक लुटिएका थिए। एक वर्षपछि न्यु जर्सी सरे।

सामाजिक सञ्जालहरुमा उनले गरेको पोष्टहरु हेर्दा रमेश अमेरिकी सपना बाँचिरहेजस्तो देखिन्छन्। फेसबुकमा हालेको एउटा तस्विरमा उनी न्युयोर्कका ठुल्ठुला भवनलाई पृष्ठभूमि बनाएर पोज दिइरहेको देखिन्छ। इन्स्टाग्राममा हालेका तस्विरहरुमा कहिँ फुल फुलिरहेका चेरी, कहीँ बार्बेक्यु त कहीँ समुद्री किनारमा रमाइरहेका देखिन्छन् उनी।

कुस्मास्थित सामाजिक कार्यकर्ता अमेरिका पुग्न सफल हुने रमेशजस्ता व्यक्तिहरुको गाउँमा सफल व्यक्तित्वको पहिचान देखिने गरेको बताउँछन्।

कुस्मा बजारका कतिपय पक्की घर अमेरिका पुगेका आप्रवासीले कमाएको पैसाले बनेका छन्। तस्बिर: दीपक अधिकारी

परिवारले पैसाले (आप्रवासीले पठाएको) सिमेन्टका घरहरु बनाउँछन्’, उनले भने, ‘उनीहरु आफ्ना सन्तानलाई निजी अंग्रेजी विद्यालयमा पढाउँछन्। उनीहरु नयाँ कार किन्छन् र विदा मनाउन जान्छन्।’

कुस्मा सुन पसलका सञ्चालक विनोद पोखरेल भने यसलाई फरक रुपमा हेर्छन्।  ‘तपाईलाई त्यहाँ पुगेपछि यात्रा गर्न लागेको ऋण तिर्न मात्र तीनदेखि चार वर्ष लाग्छ। यसबाट तस्कर र स्थानीय साहु (ऋण दिने)लाई फाइदा पुग्छ, आप्रवासीलाई हैन’, पोखरेल भन्छन्।

अध्यागमन अदालतमा मुद्दा लड्न थालेको केही वर्षपछि रमेशले भर्खरै अमेरिकी ग्रिन कार्ड प्राप्त गरेका छन्। उनका साथी नविन गुरुङका अनुसार रमेश चाँडै नेपालको यात्रा गर्ने तयारीमा छन्।

कुस्मामा आमा रमेशलाई  ह‍ेर्न अत्यन्तै आतुर छिन्।

‘धेरै कठिनाइ भोगेर ऊ गएको थियो। मेरो जीवनका सबै कुरा उही नै हो। ऊ मेरो एकमात्र सन्तान हो’, उनले भनिन्,  ‘मेरो बुढेसकालमा ऊ मसँग होस् भन्ने चाहना छ।’

(कन्फ्लुएन्स मिडियाले ओसिसिआरपी र संसारका १६ मिडिया आउटलेटसँगको सहकार्यमा गरेको दक्षिण अमेरिकाको बाटो हुँदै अमेरिका वा क्यानडासम्मको अवैध यात्राबारेको अनुसन्धानमूलक रिपोर्टिङमध्येको एउटा स्टोरी। यो स्टोरीका लागि ओसिसिआरपीका नाथन ज्याकर्ड र रिभिस्टा सेमानाका जोस गुएर्निजोको थप रिपोर्टिङको सहयोग पनि लिइएको छ।)  

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू