अमेजन जंगलको विनास २५ प्रतिशतले बढ्यो

विश्वकै लागि अक्सिजनको प्रमुख स्रोतका रुपमा रहेको ब्राजिलको अमेजन जंगलमा फडानी कोरोना भाइरसको महामारीको समयमा पनि रोकिएको छैन, बरु अझ तीव्र भएको छ ।

सरकारी तथ्यांक अनुसार यो वर्षको जुन महिनामा गएको वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत भन्दा बढी वन फडानी भएको छ ।

ब्राजिलको नेशनल इन्स्टिच्यूड फर स्पेस रिसर्च (आइएनपिई) ले शुक्रबार जारी गरेको तथ्यांक अनुसार जुनमा एक हजार ३४.४ स्क्वायर किलोमिटर वन क्षेत्र विनास भएको छ । यो सन् २०१९ को जुन महिनामा भएको फडानी भन्दा १०.६ प्रतिशत बढी हो भने यो वर्षको मे महिनाको भन्दा २४.३१ प्रतिशत बढी हो ।

गएको जुन महिनामा डढेलोका २२ सय ४८ घटना भएका छन्, यो पछिल्लो १३ वर्षमा जुन महिनामा भएको अहिलेसम्मकै धेरै आगलागीका घटना हुन् ।

यो वर्षको पहिलो ६ महिनामा अमेजन जंगलको तीन हजार ६९.५७ स्क्वायर किलोमिटर क्षेत्र विनास भएको छ, जुन गएको वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्