विकास दुवे मारिएपछि उनकी श्रीमती र आमाले के भनिन्?

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेको अन्तिम संस्कार शुक्रबार अबेर साँझ कानपुरको भैरोंघाटस्थित विद्युत शवदाह गृहमा भएको छ ।

अन्तिम संस्कारमा विकास दुबेकी पत्नी ऋचा दुबे, र छोरासहित केही व्यक्तिहरु सहभागी भए । मिडियाकर्मीको ठूलो उपस्थिति थियो भने सुरक्षा व्यवस्था निकै नै कडा पारिएको थियो ।

त्यस क्रममा मिडियाकर्मीले विकास दुबेकी पत्नीलाई यस मुठभेडका बारेमा प्रतिक्रिया मागेका थिए । जवाफमा उनले जसले गल्ती गर्यो उसले सजाय पायो भनेर प्रतिक्रिया दिइन् ।

भारतको हिन्दुस्तान टाइम्समा यो खबर प्रकाशित छ । उक्त पत्रिकामा उल्लेख भए अनुसार जब विकास दुबेकी श्रीमती ऋचालाई सोधियो कि तपाईँ मान्नुहुन्छ तपाईँको श्रीमानले गल्ती गर्नुभएको छ ? जवाफमा उनले भनिन् हो… हो…हो… ।

के विकास दुबेमाथि प्रहरीले जे गर्‍याे त्यो सहि हो ? यस प्रश्नको जवाफमा पनि उनले भनिन्, ‘हो सही भयो ।’ अन्तिम संस्कारमा विकास दुबेका बुवा भने सहभागी भएनन् । उनले अन्तिम संस्कारमा आफू सहभागी नहुने पहिले नै बताइसकेका थिए ।

विकास दुवेकी आमा भने छोरा मारिएको खबरले मर्माहत बनेकी थिइन् । तर पत्रकारसँग उनले विकासले जे गरेका थिए त्यसको सजाय पाए भनेर प्रतिक्रिया दिएकी थिइन् । उनी अन्तिम संस्कारमा भने सहभागी भएकी थिइनन् ।

शुक्रबार बिहान भएको यो घटनामा पाँच जना प्रहरी पनि घाइते भएका छन् । मुठभेड भनिएको घटनामा संलग्न प्रहरीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले लेखेको छ कि हिरासतमा रहेका बेला पनि विकास दुबेको घमण्ड कम भएको थिएन ।

उनी कानपुर लैजानै क्रममा समेत प्रहरीलाई धम्की दिइरहेका थिए । उनले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै प्रहरीलाई धम्की दिइरहेका थिए ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको बताइएको छ ।

दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको जनाएको छ । प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ ।

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले सडकमार्ग हुँदै कानपुर लगिरहेको थियो । कानपुरमा आठजना प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।

कुख्यात गुण्डा विकास दुबेको प्रहरी कारबाहीमा भएको मृत्युबारे भारतका नेताहरुले भने आशंका जताएका छन् । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादवले विकास दुबेको मृत्युबारे एक ट्वीट गरेका छन् ।

जसमा लेखिएको छ, ‘वास्तवमा यो कार पल्टेको होइन, वास्तविकता खुले सरकार पल्टने सम्भावनाबाट जोगाइएको हो।’

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले पनि विकास दुबे मारिएको घटनाको निष्पक्ष जाँचको माग गरेकी छन् । उनले यो घटनाको सुप्रीम कोर्टको निगरानीमा निष्पक्ष जाँच हुनुपर्ने बताएकी हुन् ।

कानपुरमा शहीद भएका प्रहरीका परिवारलाई न्याय दिलाउनका लागि पनि यो घटनाको उच्च स्तरीय छानबिन हुनुपर्ने उनको भनाई छ ।

साथै उनले अपराधिक समूहसँग साँठगाठ गर्ने प्रहरीलाई समेत कडा कारबाहीको माग गरेकी छन् । यति गर्न सकिए मात्रै उत्तरप्रदेश अपराधबाट मुक्त हुन सक्ने मायावतीको विश्वास छ ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्