नेपाली चलचित्रका उपेक्षित आयामहरू

एउटा चलचित्रलाई सफल र महान् बनाउन के को भूमिका महत्चपूर्ण हुन्छ? के राम्रो कथाले चलचित्रलाई महान् बनाउने हो? या पात्रको चयन र प्रस्तुतिकरणले चलचित्रलाई महान् बनाउँछ? कलाकारको उत्कृष्ट अभिनयले चलचित्रलाई महान् बनाउँछ कि उत्कृष्ट छायाङ्कनले? कि सुन्दर ध्वनिको सम्मिश्रणले?

हो यी सबै पक्षहरू एउटा चलचित्रलाई महान् बनाउन उत्तिकै र महत्वपूर्ण योगदान गरी रहेका हुन्छन् तर यस भित्रका अन्तर्निहित र केही उपेक्षित आयामहरू छन् जसको प्रयोगले चलचित्रलाई कलात्मक हिसाबले सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्।

प्रायजसो नेपाली चलचित्र निर्माणमा माथि उल्लेखित मुख्य तत्त्वहरूकै निरपेक्ष प्रयोग  हुन नसकिरहेको परिस्थितिमा यसै भित्रका केही सूक्ष्म पक्षहरूको चर्चा गरिनेछ। यस लेखमा उल्लेखित केही महत्व नदिइएका पक्षहरूले चलचित्रलाई सफल वा महान बनाउछ भन्ने होइन तर तिनको प्रयोगले चलचित्रलाई कलात्मक बनाउन र प्रस्तुतिकरणको सुन्दरतालाई उचाई भने अवस्य दिन्छ।

राम्रो कथाको चलचित्र निर्माणमा गहन भूमिका हुन्छ। कथाको वजनसँगै त्यसको मौलिकता जोडिएको तर उपेक्षित पाटो हो। चलचित्रको कथा लेखन यति कठिन भइसकेको छ कि कथामा मौलिकता भन्ने कुरा असम्भव प्राय बनी सकेको छ। नेपाली चलचित्रका अधिकांश कथाहरू आयातित वा पुन कथित हुन्छन्।

नेपालमा एउटा चलचित्रले राम्रो वा औसत व्यापार गरेपछि उस्तै कथा र उस्तै विधाको बाढी चल्छ। यसलाई चलचित्रको भाषामा “बहावको दासत्व” भन्ने गरिन्छ। यो मौलिक कथाको खोजिबाट विमुख हुने अवस्था हो।

चलिरहेको परम्परालाई छाडेर नयाँ कथाको जोखिम मोल्न हिम्मत नदेखाउने परिस्थिति हो। विश्व चलचित्र बजारमा पनि रिमेक र सिक्वेल निर्माणको नाममा मौलिक कथाको खडेरी नयाँ कुरा होइन।

२०२० को एकेडेमी अवाडमा मौलिक कथाको शीर्षकमा  ‘प्यारासाइट’ ले ‘जोकर’लाई उछिन्दा कुन कथा नयाँ भन्नेमा गहन बहस भयो। प्रस्तुतीकरण सुन्दर र नौलो भए पनि जोकरको कथा र विषयवस्तु नयाँ थिएन।

हुन त प्यारासाइट पनि पूर्ण मौलिक कथा भने हैन। त्यस्तै विषयवस्तुमा जापानमा ‘सपलिफ्टरस’ भन्ने चलचित्र बनी सकेको थियो यद्यपि कथा भित्रको विषयवस्तुको महानताले प्यारासाइटको मौलिकतालाई क्षयीकरण गर्न सकेन।

शिशिर उप्रेती

अन्ततः प्यारासाइटले बाजी मार्‍यो र केही सिनेमा बिषलेशकहरूले यसलाई सपलिफ्टरसको आध्यात्मिक जुम्ल्याहा भाइ भने। यो विशेषणले प्रस्ट पार्छ कथाको मौलिकता कति महत्त्वपूर्ण हुन्छ भनेर तर मौलिकता को मापन के ले गर्छ भन्ने धेरै आधारहरू छन् र स्वाभाविक रूपमा क्लिष्ट छन्।

चलचित्रमा पात्रको चयन र प्रस्तुतिकरण महत्त्वपूर्ण हुन्छ र यो नितान्त निर्देशकीय कला र क्षमतामा निर्भर गर्दछ। एउटा वैधानिक पात्रको खोजी निर्देशक वा कथा लेखकको लागि ठुलो चुनौती हो। पात्रको एउटा विशेषता जीवन प्रति इमानदार हुनु हो।

यसलाई पात्र प्रतिको विश्वसनीयता भनेर बुझे पनि हुन्छ। पात्र असल छ भने दर्शकलाई उस्को गुण प्रति विश्वास हुनु पर्छ र खराब छ भने उसको दुर्गुण प्रति पनि विश्वास हुनु पर्छ। सबै विधाका चलचित्रमा यो नियम लागु नभए पनि नेपालमा बनिरहेका यथार्थ परक चलचित्रमा पात्र जीवन प्रति इमानदार हुन जरुरी छ।

पात्रको अति महानता र अति निरीहताले कथाको भावलाई पतन उन्मुख गराउँछ। हरेक पात्रका केही आदर्श र निहित कमजोरीहरू हुन्छन् जसले उसलाइ कि त महान् बनाउँछ कि उसको दु:खद अन्त्य गराउँछ। कथा र पात्रले यथार्थ बोध गराएको छ भने दर्शकले आफूलाई पात्र र परिवेश सँग जोड्न थाल्छ र उ कथासँग बाँधिन पुग्छ।

लेखक तथा निर्देशकले यस विषयमा आफ्नो कुशलता र हस्तक्षेप प्रस्तुत गर्न नसक्दा नेपाली चलचित्र उद्योग र दर्शकले राम्रा चलचित्रको स्वाद दुर्लभै चाख्न पाउँछन्।

अभिनयको सुन्दरताले चलचित्रमा सुगन्धित सुनको प्रभाव दिएको हुन्छ तर यस सुन्दरता सँग जोडिएर आउने अर्को उपेक्षित पक्ष हो अभिनेताको संरचनात्मक योगदान। चलचित्रमा सामान्यतया  निर्देशकको दृष्टिकोण हाबी हुन्छ तर राम्रो अभिनेताले निर्देशित अभिनय मात्र गर्दैन उसले समग्र कथाको प्रारूप र भाव बुझेर सकारात्मक र संरचनात्मक योगदान दिन सक्नु पर्छ।

कहिलेकाहीँ निर्माताले नदेखेको पाटो अभिनेताले स्पष्ट देखिरहेको हुन्छ जसले चलचित्रको निर्माणमा तात्त्विक फरक पार्छ। निर्देशकले पनि अभिनेताले गरेको योगदानको सम्मान र प्रशंसा गर्न सक्नु पर्छ।

जोकरबाट २०२० को उत्कृष्ट एकेडेमी अवार्ड जितेका वाकिन फिनिक्सले अभिनय गरेको एउटा दृश्यामंश स्कृप्टमा नभएको जोकरका निर्देशक टड फिलिप्सले “एनाटोमि अफ सिन” मा बताएका छन्।

प्रस्तुत दृश्यमा फिनिक्स पार्कको शौचालयमा भागेर पसेपछि आफ्ना सामान समेटेर बन्दुक लुकाइ अनुहारको मेकअप पुछ्नु पर्ने थियो। फिनिक्स अचानक भावुक भएर मानसिक धुनमा शौचालय भित्र नाच्न थाल्छन्। शौचालय बाहिर पर्खिरहेका २५० जना सुटिङ क्रु र निर्देशक फिलिप्स स्तब्ध भई एक अर्काको मुख हेर्छन्।

यही स्क्रिप्टमा नभएको दृश्यनै निर्देशकलाई सबै भन्दा मन परेको दृश्य थियो र दर्शक द्वारा पनि अत्यधिक रुचाइएको जसले फिनिक्सलाइ उत्कृष्ट अभिनेता बनाउन धेरै हद सम्म भूमिका खेल्यो । यो अभिनेताले गर्न सक्ने रचनात्मक योगदानको उदाहारण हो। यस्तो योगदान दुर्लभ हुन्छ तर यो चलचित्रमा तात्विक फरक पार्न सक्ने पक्ष हो।

चलचित्रको कथामा विकसित हुने घटनाक्रमको गतिले पनि चलचित्रमा दर्शकको एकाग्रता र कथाको महानतालाई पुष्टि गर्छ। घटनाक्रमको गति पात्रको स्वभाव , चलचित्रको बिधा र निर्देशकको निर्माण सैलीले निर्धारण गर्छ। सामान्यतया नेपाली चलचित्रमा घटनाक्रमहरूको गतिलाई त्यति महत्त्वका साथ लिइँदैन अझ भनौँ उपेक्षा नै गरिन्छ।

धेरै चलचित्रमा घटनाक्रमको गति कि दर्शकलाई पट्यार लाग्ने गरी सुस्त हुन्छ कि अस्वाभाविक रूपमा तीव्र। यस प्रकारको गतिमा आउने उतार चढावले कथा र पात्र बिचको समीकरण भत्काइ  मूल भावलाई बिगार्छ वा गलत दिशा तिर लैजान्छ। कथा प्रस्तुत गर्दा भाव, स्थान र अर्थ अनुसार नियन्त्रित गतिमा प्रस्तुत गर्न सक्नु विशुद्ध निर्देशकीय कला हो। यसले चलचित्रको कथा र प्रस्तुतिकरणलाई कलात्मक बनाउँछ।

“रेअर विन्डो” र “साइको” जस्ता सर्व कालीन महान् मानिने चलचित्रका निर्देशक ‘हिचकक’ घटनाक्रमको गति तीव्र देखाउन असान्दर्भिक र अप्रासङ्गिक विषय बस्तुलाई हटाएर क्यामेरालाई पात्रको नजिक लैजान्थे र संवादका वाक्यहरू छोटा र स्पष्ट हुनु पर्छ भन्ने गर्थे।

उनले यो तरिका द्वन्द, भाग दौड र चलचित्रका संवेदनशील दृश्यहरू छायाङ्कनमा  प्रयोग गर्ने गरेका थिए। त्यसै गरी चलचित्रको मध्य भागमा र रोमाञ्चक वा काल्पनिक दृश्यको छायाङ्कनमा त्यसको ठिक विपरीत घटनाको पृष्ठभूमि तयार गर्ने, क्यामेरालाई पात्रबाट टाढा लैजाने र संवादका वाक्यहरू लामा र क्लिष्ट बनाउने विधि प्रयोग गर्थे।

नेपाली चलचित्रको अर्को कमजोर पक्ष चलचित्रमा प्रयोग गरिने समग्र भाषिक संरचना हो। धेरै नेपाली चलचित्रमा प्रयोग हुने भाषाले दर्शकलाई आकर्षित र प्रभावित गर्न सकिरहेको हुँदैन। भाषाको स्तर, शुद्धता, शब्द चयन, आगन्तुक शब्दको प्रयोग र व्याकरणीय पक्ष उपेक्षित हुन्छन्। धेरै चलचित्र निर्माता र निर्देशकले यो कुरालाई बेवास्ता गर्दा नेपाली चलचित्रले हासिल गर्न खोजिरहेको भाषिक पहिचानको बाटो झन् धुमिल बनिरहेको छ।

समग्र भाषाको कुरालाई एक छिन छाडेर संवादमा मात्र जाने हो भने पनि धेरै समस्याहरू देखिन्छ।अझ सूक्ष्म रूपमा उप-संवादको प्रयोग त दुर्लभ जस्तै छ। उप-संवाद यस्तो लेखकीय र निर्देशकीय कला हो जसले संवादको अर्थ र भावलाई उच्च स्तर दिलाई दिन्छ।

उप-संवाद चलचित्रको संवाद भित्रको वाक्यांश हो जसलाई सिधा अर्थ बुझिने गरी तयार गरिएको हुँदैन। नियत बस तत्कालै प्रस्तुत नगरिएको शब्दहरूको अर्थ दर्शकले कुनै प्रसङ्गमा आफै बुझ्छन्। उप-संवादले समग्र संवादको अर्थ अलि गहिराइमा गएर बुझ्न उत्प्रेरित गर्छ। यसो भनी रहँदा दर्शकले संवादको अर्थ बुझ्न अतिरिक्त दिमाग लगाउनु पर्छ भन्ने होइन।

यस सन्दर्भमा ‘मारियो पुजो’ द्वारा लिखित ‘गडफादर’ को बहुचर्चित संवाद स्मरण गराउन चाहन्छु। अभिनेता  संवादको क्रममा भन्छन्, “म उसलाई यस्तो प्रस्ताव गर्नेछु जुन उसले अस्वीकार गर्नै सक्दैन”। यो प्रस्ताव मृत्युको प्रस्ताव हो र यस लाइ पुष्टि गर्न एक घोडाको हत्या गरिन्छ। यो उप-संवादले हिंसाको सङ्केत गरे पनि यसलाई हिंसात्मक रूपमा प्रस्तुत गरिँदैन र दर्शकले कुनै समस्या बिना यसको अर्थ झन प्रभावकारी रूपमा बुझ्न सक्छन्।

नेपाली चलचित्रको कायापलट तत्काल सम्भव छैन। यो एउटा क्रमिक प्रक्रिया हो। हुन त समयको प्रवाह सँगै नेपाली चलचित्रको बृहत विकास पनि भएको छ। छिमेकी र विश्व चलचित्र बजार आक्रामक रूपमा अघि बढिरहेको बेला हामी चाँहि क्रमिक विकासमा भर परेर बस्न पनि सम्भव छैन।

अन्तर्राष्ट्रिय बजारमा जस्तो ठूलो लगानिमा आधुनिक र महंगो प्रविधिको प्रयोग पनि हाम्रो लागि असम्भव छ। यस लेखमा उल्लेख गरिएका जस्तै चलचित्रमा प्रयोग हुने कथाको मौलिकता, जीवन प्रति इमान्दार पात्रको चयन, अभिनेताको संरचनात्मक योगदान, कथामा घटनाक्रमको गति, भाषिक प्रभाव जस्ता कलात्मकता, प्रविधिको तुलनामा सस्तो र प्रभावकारी हुने हुँदा नेपाल जस्तो विकासशील देशको लागि सुक्ष्म कलात्मक पक्षको सुन्दर प्रयोग चलचित्र विकासको साधन र साध्य दुवै बन्न सक्छ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्